News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले किरण पण्डितलाई नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ।
- पण्डित हाल विदेशी विनिमय व्यवस्थापन विभागको कार्यकारी निर्देशक थिए र राष्ट्रबैंकमा दुई दशकदेखि कार्यरत छन्।
- पण्डितले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् र विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरू पूरा गरिसकेका छन्।
२४ चैत, काठमाडौं । सरकारले नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा नियुक्त किरण पण्डित हाल विदेशी विनिमय व्यवस्थापन विभागको कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।
राष्ट्रबैंकका कार्यकारी निर्देशकहरूमध्ये सातौं वरीयतामा रहेका पण्डितलाई सरकारले मंगलबार डेपुटी गभर्नर बनाएको हो । दुई डेपुटी गभर्नरको पद खाली भएकोमा एकजनालाई मात्रै नियुक्त गरिएको सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
गभर्नर डा. विश्वनाथ पौडेलले चारजना कार्यकारी निर्देशकको नाम डेपुटी गभर्नर नियुक्तिका लागि सिफारिस गरेकोमा उनको मात्रै नियुक्ति भएको हो । अर्को डेपुटी गभर्नर किन नियुक्त नगरेको भन्नेबारे सरकारले केही बताएको छैन ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १६ मा डेपुटी गभर्नरको नियुक्ति सम्बन्धी व्यवस्था छ । सो दफामा गभर्नरको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्ले डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था गरिएको छ ।
गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नामावली सिफारिस गर्नुपर्नेछ भन्ने व्यवस्था पनि सो दफामा छ । डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिने व्यवस्था पनि सो दफामा गरिएको छ । डेपुटी गभर्नर नेपाल राष्ट्रबैंकको सञ्चालक समिति सदस्य पनि हुन्छ ।
नेपाल राष्ट्रबैंकमा डेपुटी गभर्नर नियुक्ति गर्दा एकजना वरिष्ठताका आधारमा र एकजना कार्यक्षमताका आधारमा गर्ने परम्परा लामो समयदेखि रही आएको थियो । तर, अघिल्ला गभर्नर महाप्रसाद अधिकारीका पालामा सरकारले दुवैजना कनिष्ठ कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।
को हुन् पण्डित ?
नेपाल राष्ट्रबैंकमा दुई दशकअघि प्रवेश गरेका पण्डित बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायतमा बसेर काम गरेका थिए ।
उनी २० फागुन २०८१ मा नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशकमा बढुवा भएका थिए । बढुवा भएलगत्तै भुक्तानी प्रणाली विभागको नेतृत्व गरेका पण्डितको गत कात्तिकमा विदेशिक विनिमय व्यवस्थापन विभागमा सरुवा भएको थियो ।
कार्यकारी निर्देशक हुँदा गत २१ जेठदेखि उनले केही समय राष्ट्रबैंकको प्रवक्ताको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
राष्ट्रबैंकको निर्देशक हुँदा उनी राष्ट्रबैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भएका थिए । उनी त्यसबेला राष्ट्रबैंकमा रहेका १ हजार १ सय ४७ कर्मचारीमध्ये सर्वोत्कृष्ट हुन सफल भएका थिए ।
पब्लिक युथ क्याम्पसबाट बीबीएस उत्तीर्ण भएका उनी आफ्नो ब्याचमा त्रिभुवन विश्वविद्यालयमै सर्वोत्कृष्ट बनेका थिए । उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
साथै, अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीबाट जलवायु वित्तमा एक वर्षे व्यावसायिक कोर्स पूरा गरेका छन् । उनले अमेरिकाको ड्युक युनिभर्सिटीबाट विकेन्द्रित वित्त तथा स्विटजरल्यान्डको युनिभर्सिटी अफ जेनेभाबाट मानवतावादी सञ्चारमा सर्टिफिकेसन कोर्स पनि पूरा गरेका छन् ।
प्रतिक्रिया 4