News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री करिश्मा मानन्धरले पाँच महिना अगाडि दिएको अन्तर्वार्ताको पुरानो भिडियो भाइरल भएपछि असन्तुष्टि व्यक्त गरेकी छन्।
- उनले जीवनमा परिस्थितिअनुसार विभिन्न सम्बन्ध बन्नु स्वाभाविक र व्यक्तिगत अधिकारभित्र पर्ने बताएकी छन्।
- करिश्माले सम्बन्ध विश्वास, समझदारी र साथमा टिक्ने कुरा भएको र सबै कुरा खुला रूपमा साझा गर्ने बताएकी छन्।
काठमाडौं । पाँच महिना अगाडि दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जालमा अचानक भाइरल भएपछि अभिनेत्री करिश्मा मानन्धरले असन्तुष्टि व्यक्त गरेकी छन् ।
उनले उक्त भिडियोको लिंक सेयर गर्दै फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । करिश्माले अन्तर्वार्ता पुरानो भए पनि अहिले मात्र केही व्यक्तिले सन्दर्भ नबुझी अतिरञ्जित ढंगले प्रस्तुत गरेकोप्रति आपत्ति जनाएकी छन् । उनले त्यो अन्तर्वार्तामा जीवनमा परिस्थितिअनुसार विभिन्न सम्बन्ध बन्नु स्वाभाविक हो र त्यो प्रत्येक व्यक्तिको निजी अधिकारभित्र पर्ने बताएकी छन् ।
समाचार लेख्दा वा टिप्पणी गर्दा संवेदनशील हुन आग्रह गर्दै उनले सबैलाई सम्मानजनक भाषा र व्यवहार अपनाउन पनि आग्रह गरेकी छन् । पैसा कमाउने उद्देश्यले समाचारलाई बढाइचढाइ गर्ने प्रवृत्ति ठीक नभएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति बढेमा कानुनी व्यवस्था आवश्यक हुन सक्ने चेतावनीसमेत दिएकी छन् ।
करिश्माले पुरानो कलाकारको रूपमा आफ्नो जीवन खुला किताबजस्तै स्पष्ट रहेको बताउँदै केही समूहले आफूविरुद्ध अनावश्यक सामग्री बनाएकोप्रति आश्चर्य व्यक्त गरेकी छन् । उनले यस्ता गतिविधिले समाजको वातावरण नै असहज बनाएको पनि उल्लेख गरेकी छन् ।
भाइरल भएको उक्त अन्तर्वार्तामा करिश्माले आफ्ना पति विनोदसँगको सम्बन्धबारे खुला रूपमा बोलेकी थिइन् । उनले आफूहरू कानुनी रूपमा श्रीमान् श्रीमती भए पनि वास्तविक रूपमा ‘बेस्ट फ्रेन्ड’ जस्तो सम्बन्ध रहेको बताएकी थिइन् । जीवनमा अन्य सम्बन्धहरू आए पनि अन्ततः आफूले विनोदलाई नै रोज्ने बताउँदै उनले उनीमा भएका गुण अरूमा नपाएको उल्लेख गरेकी थिइन् ।
उनका अनुसार, सम्बन्ध भनेको विश्वास, समझदारी र साथमा टिक्ने कुरा हो । उनीहरूले एकअर्कासँग सबै कुरा खुला रूपमा साझा गर्ने गरेको र कठिन समयमा पनि साथ नछोडेको अनुभव उनले सुनाएकी थिइन् । करिश्माले सम्बन्ध शारीरिक, मानसिक र आर्थिक रूपमा जोडिएको हुने भन्दै त्यसलाई सम्हाल्न दुवै पक्षको समझदारी आवश्यक हुने धारणा राखेकी छन् ।
प्रतिक्रिया 4