+
+
Shares

प्रधानमन्त्रीसँग बागमती प्रदेशले माग्यो संवैधानिक अधिकार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते ६:२२

२५ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले संविधान प्रदत्त आफ्नो अधिकार प्रदान गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग माग गरेको छ ।

प्रदेशसभाको १७औं अधिवेशनको बसेको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्मन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको संविधान प्रदत्त अधिकार माग गरेका हुन् ।

निर्वाचनको बेला जनकपुरबाट प्रधानमन्त्री शाहले ‘काठमाडौं अधिकार माग्न धाइरहनु पर्दैन, पशुपतिनाथको दर्शन गर्न मात्रै जाने’ भनेको स्मरण गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशलाई संविधानले दिएका सबै अधिकार दिन अनुरोध गरे ।

‘प्रदेशलाई संविधानले दिएको अधिकारहरु हामीले लोकतान्त्रिक दलहरु कांग्रेस, एमाले र माओवादीले सरकार चालाउँदा हारगुहार गर्दा पनि नआएको अब यो जनताको सरकार, संघीयताप्रति प्रतिबद्ध सरकारबाट हामीले चुनाव अगाडि त्यहि सुनेका थियौं, त्यही बुझेका थियौं, त्यही आधारले त्यो अधिकार प्रदेशमा आउँछ भन्ने हामीलाई विश्वास छ,’ बानियाँले भने, ‘हाम्रो अधिकार यथाशीघ्र, फाष्ट ट्रयाकमा जसरी अहिले एक्सन भइरहेको छ ।’

बानियाँले संघीय सरकारबाट खटिने प्रमुख सचिव र सचिवहरुको कार्यसम्पादन र अस्वाभाविक फेरबदलप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् । समयावधि नपुग्दै कर्मचारीको फेरबदलले काम गर्नुपर्ने बेला जहिल्यै अप्ठेरो भएको उनको गुनासो छ ।

प्रमुख सचिव र सचिवहरु फेरबदल गर्दा मुख्यमन्त्रीसँग सल्लाह गर्न बानियाँले अनुरोध गरे ।

प्रमुख सचिव प्रदेशमा आएपछि कम्तिमा पनि दुई वर्षसम्म नचल्ने गरी पठाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री ज्यू मेयर हुँदा प्रमुख प्रशासकीय अधिकृतको कारण काम गर्न नसकेको सुनेका थियौं । त्यो हाम्रो पनि बिडम्बना उहाँले बुझेर काम गर्नुहुन्छ भन्ने विश्वास छ,’ मुख्यमन्त्री बानियाँले भने ।

आफू मुख्यमन्त्री भएको ८ महिना भित्र ४ महिना नबित्दै एउटा प्रमुख सचिव फेरिएको र अब अर्को प्रमुख सचिव पनि कुन बेला हिँड्ने भन्ने थाहा नभएको बताए । मन्त्रालयका सचिवहरु पनि कुनबेला हिँड्छन् भन्नेबारे मन्त्रीहरुले थाहा नपाउने समस्या सातवटै प्रदेशको भएको उनको भनाइ छ । प्रमुख सचिव र सचिवहरु फेरबदल गर्दा मुख्यमन्त्रीसँग सल्लाह गर्न संघ सरकारसँग बानियाँले अनुरोध गरे ।

यसैगरी, मुख्यमन्त्री बानियाँले बागमती प्रदेश भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी, जवाफदेही र जिम्मेवार सरकार भएर जनताप्रति उत्तरदायी बन्दै काम गरिरहेको बताए । उनले नागरिकको अपेक्षा अनुसार काम गर्न संघ सरकारसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?