News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकै चर्चित के-पप समूह बीटीएसले मार्च २१ मा सोलस्थित दरबार क्षेत्र नजिक विशेष प्रस्तुतीमार्फत नयाँ यात्राको संकेत दिएको छ।
- बीटीएसको नयाँ एल्बम 'अरिराङ'ले कोरियन मौलिकता र विश्वव्यापी संगीत शैलीबीचको द्वन्द्वलाई उजागर गरेको छ।
- बीटीएसले आगामी १२ महिनामा पाँच महादेशमा ८५ प्रस्तुति हुने विश्व भ्रमण सुरु गर्दैछ, जसमा गोयाङमा तीन रातसम्म उद्घाटन कन्सर्ट हुनेछ।
विश्वकै चर्चित के-पप समूह ‘बीटीएस’ ले लामो अन्तरालपछि पुनः स्टेजमा फर्किँदै नयाँ यात्राको संकेत दिएको छ । मार्च २१ मा सोलस्थित दरबार क्षेत्र नजिक आयोजित विशेष प्रस्तुतीमा सदस्य जे–होपले ‘बीटीएस २.० अहिले मात्र सुरु हुँदैछ’ भन्ने घोषणा गरेसँगै समूहको नयाँ अध्याय औपचारिक रूपमा सुरु भएको मानिएको छ ।
करिब तीन वर्षको अन्तरालपछि आरएम, सुगा, जिन, जिमिन, भी र जंगकुकसहित सबै सदस्य एउटै मञ्चमा उभिएका थिए । दक्षिण कोरियाको ऐतिहासिक दरबारको गेटलाई एलईडी स्क्रिनले घेरिएको भव्य सेटमा उनीहरू सिल्हुटको रूपमा देखिँदा सडकभर फैलिएको भीडले उत्साह व्यक्त गरेको थियो । प्रत्यक्ष रूपमा हजारौं दर्शक उपस्थित थिए भने करिब १ करोड ८० लाखभन्दा बढीले एक घण्टे कार्यक्रम अनलाइनमार्फत हेरेका थिए ।
यो प्रस्तुति आगामी विश्व भ्रमणको झल्कोका रूपमा प्रस्तुत गरिएको थियो । लामो समय छुट्टाछुट्टै सैन्य सेवामा र व्यक्तिगत एल्बममा व्यस्त रहे पनि समूहको आपसी समझदारी र सहजता स्टेजमा स्पष्ट देखिएको थियो । दर्शकका लागि यो पुनर्मिलन भावनात्मक मात्र होइन, नयाँ यात्राको संकेत पनि बनेको छ ।
तर, कार्यक्रमपछि सार्वजनिक भएका केही विवरणले समूहभित्रको अवस्था अलि जटिल रहेको संकेत दिएका छन् । नयाँ एल्बम निर्माण प्रक्रियाबारे बनेको एक वृत्तचित्रमा सदस्यहरू र उनीहरूको व्यवस्थापन कम्पनी ‘हाइब’बीच संगीतको दिशा र पहिचानलाई लिएर मतभेद देखिएको छ । यसले समूह अहिले विभिन्न दबाब र अपेक्षाबीच सन्तुलन खोजिरहेको स्पष्ट गर्छ ।
बीटीएस अहिले धेरै तहका चुनौतीसँग जुधिरहेको देखिन्छ । पुराना र नयाँ फ्यानबीचको अपेक्षा, कोरियाली र विश्व बजारबीचको सन्तुलन, कलात्मक स्वतन्त्रता र व्यावसायिक रणनीतिबीचको द्वन्द्व- यी सबैले समूहको आगामी दिशा निर्धारण गर्ने देखिन्छ । यससँगै, दक्षिण कोरियाको सांस्कृतिक ‘सफ्ट पावर’को प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि उनीहरूमाथि थपिएको छ ।
यही सन्दर्भमा एउटा प्रश्न झन् गहिरिँदै गएको छ- के विश्व बजारमा आकर्षण बढाउने क्रममा बीटीएस आफ्नो के-पप पहिचानबाट टाढिँदैछ ? यही प्रश्नको उत्तरले आगामी दिनमा बीटीएसको यात्रालाई अझ स्पष्ट बनाउने देखिन्छ ।
ब्यान्डको नयाँ एल्बम ‘अरिराङ’ सार्वजनिक भएसँगै यसको पहिचान र दिशा बारे कोरिया भित्रै बहस सुरु भएको छ । एल्बमको नाम लोकप्रिय लोकगीत ‘अरिराङ’बाट राखिए पनि यसको सुरुवाती गीत ‘बडी टु बडी’मा हिप-हप शैलीमा उक्त धुन समावेश गरिएको छ, जसले परम्परा र आधुनिकताको मिश्रण प्रस्तुत गर्छ ।
केही फ्यानका लागि एल्बममा र्यापको बलियो उपस्थिति नै यसको विशेषता हो । उनीहरू भन्छन्, यसले पुरानो बीटीएसको झल्को दिन्छ । तर अर्को समूह भने यही र्याप केन्द्रित शैलीले कोरियन मौलिकता कमजोर बनाएको तर्क गर्छ । उनीहरूका अनुसार, बीटीएसको पहिचानमा रहेको स्थानीय स्वाद अहिले कम हुँदै गएको छ ।

एल्बममा अंग्रेजी भाषाको प्रयोग र अन्तर्राष्ट्रिय संगीतकर्मीको संलग्नताले पनि बहसलाई थप चर्काएको छ । अमेरिकी डीजे डिप्लो, अस्ट्रेलियाली गीतकार केभिन पार्कर र स्पेनी संगीतकार एल गुइन्चोजस्ता नामहरू एल्बममा जोडिएका छन् । केहीले यसलाई विश्व बजार विस्तारको रणनीति मान्दै प्रशंसा गरेका छन् भने आलोचकले हाइब र बीटीएसमाथि पश्चिमी बजार पछ्याउँदै मौलिकता गुमाउँदै गएको आरोप लगाएका छन् ।
तर, कोरियाबाहिर भने प्रतिक्रिया फरक देखिएको छ । अन्तर्राष्ट्रिय फ्यानमा खासै विभाजन देखिँदैन, बरु समीक्षकले एल्बमलाई प्रयोगात्मक र साहसी प्रयासका रूपमा स्वागत गरेका छन् । बीबीसीको समीक्षामा ‘हुलिगन’लाई निर्भीक, ‘एफवाइए’लाई गाढा र आकर्षक शैलीको गीत भनिएको छ भने समग्र एल्बमलाई ‘फेरि पुरानै लयमा फर्किएको’ भनेर मूल्यांकन गरिएको छ ।
‘अरिराङ’ र यसको मुख्य गीत ‘स्विम’ सार्वजनिक भएलगत्तै चार्टमा तीव्र उकालो लागेको छ । स्ट्रिमिङ रेकर्ड तोड्दै बिलबोर्डमा प्रभुत्व जमाएको यो एल्बमको प्रचारमा पनि हाइब निकै सक्रिय देखिएको छ । बीटीएसले न्यूयोर्कको गगेनहाइम संग्रहालयमा प्रस्तुति दिएको छ, जीक्यू म्यागजिनका लागि कोरियन नुडल्स पकाएको छ र जिमी फलनको टक शोमा सहभागी भएको छ । आरएमबाहेक अन्य सदस्य अंग्रेजीमा सहज नभए पनि उनीहरूले प्रायः कोरियनमै प्रस्तुति दिएका थिए, जसलाई दर्शकले उत्तिकै उत्साहका साथ स्वागत गरेका छन् ।
भाषा बीटीएसका लागि कहिल्यै बाधा बनेको छैन । ‘एलियन्स’ गीतमा आरएमले अंग्रेजी र कोरियन मिसाउँदै “म मात्रै अंग्रेजी बोल्छु, तर हामी यसरी नै जित्छौं” भन्ने लाइन प्रस्तुत गर्छन्, जसले समूहको वैश्विक आत्मविश्वास झल्काउँछ ।
यही द्वन्द्व– स्थानीय पहिचान र विश्वव्यापी विस्तारबीचको सन्तुलन- अहिलेको बीटीएसलाई परिभाषित गरिरहेको छ । अब उनीहरू के-पप इतिहासकै सबैभन्दा ठूलो विश्व भ्रमण सुरु गर्दैछन्, जसअन्तर्गत आगामी १२ महिनामा पाँच महादेशमा ८५ वटा प्रस्तुति हुनेछन् ।
१० वर्षभन्दा बढी समयदेखि लगातार सफल यात्रा तय गरेको बीटीएसका लागि आगामी चरण सजिलो छैन । कलात्मक स्वतन्त्रता, व्यावसायिक दबाब र विश्वव्यापी अपेक्षाबीच सन्तुलन कायम गर्नु उनीहरूका लागि ठूलो परीक्षा बन्ने देखिन्छ ।
ब्यान्डले विश्व भ्रमणको सुरुवात बिहीबारदेखि दक्षिण कोरियाको गोयाङमा गर्दैछ, जहाँ तीन रातसम्म हुने उद्घाटन कन्सर्टमा १ लाख २० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान छ । टिकट खुल्नेबित्तिकै सबै सोल्ड आउट भएको आयोजकले जनाएको छ, जसले समूहप्रतिको लोकप्रियता अझै बलियो रहेको संकेत गर्छ ।
आजको यो उचाइसम्म पुग्न बीटीएसले लामो यात्रा तय गरेको छ । सन् २०१३ मा सात जना युवा, जसमध्ये तीन जना किशोर थिए-लाई त्यतिबेला धेरै परिचित नभएको कम्पनीले एकसाथ ल्याएर समूह बनाइएको थियो । त्यो समय दक्षिण कोरियाका ठूला मनोरञ्जन कम्पनीको छायाँमा रहेर संघर्ष सुरु गरेको बीटीएस आज विश्वकै ठूलो संगीत समूह बनेको छ ।
समूहको सुरुवाती संगीतमा हिप-हपको स्पष्ट प्रभाव देखिन्थ्यो । सन् २०१४ मा आएको पहिलो पूर्ण एल्बम ‘डार्क एन्ड वाइल्ड’ त्यसको उदाहरण हो, जसमा तीव्र बीट र सशक्त प्रस्तुति थियो । कोरियन भाषामा लेखिएका गीतले युवापुस्ताको निराशा, दबाब र सपना बोल्थे, जसले प्रतिस्पर्धात्मक र थकाइपूर्ण जीवन बिताइरहेका युवासँग गहिरो सम्बन्ध स्थापित गर्यो ।
त्यही सत्यता र अनुभवले जोडिएको संगीतले बीटीएसलाई सुरुका दिनमै फरक पहिचान दिएको थियो । आज उनीहरू विश्वव्यापी मञ्चमा पुगे पनि, त्यही जरा र सन्देशलाई कसरी जोगाउने भन्ने प्रश्न फेरि एकपटक उनीहरूको यात्रामा केन्द्रमा देखिएको छ ।

ब्यान्डका सदस्यले सधैं आफ्नो संगीत उनीहरूसँगै विकसित हुँदै आएको बताउने गरेका छन् । अहिले अधिकांश सदस्य ३० वर्षको आसपास पुगेका छन् र उनीहरूको गीतमा पनि जीवनको अनुभव झल्किन थालेको छ । नयाँ गीत ‘नर्मल’मा उनीहरूले प्रसिद्धिको दबाब र थकानबारे खुलेर गाएका छन्- ‘मलाई केही समय चाहिन्छ, आफैंलाई बन्द गर्न ।’
संगीत समीक्षक पार्क ही-आह भन्छिन्, ‘बीटीएसजस्तो समूह अरू थिएनन् । उनीहरूले आफ्नो संगीतमा जुन स्तरको सत्यता राखे, त्यो अरूले कमै गरेका छन् । उनीहरूले सधैं आफ्नै कथा भने । आफैं लेखे, आफैं उत्पादन गरे र आफ्नो यात्रा दर्शकसँग बाँडे ।’
बीटीएसको सुरुवाती एल्बम ‘डार्क एन्ड वाइल्ड’ अमेरिकाको लस एन्जलसमा बनाइएको सानो स्टुडियोमा रेकर्ड गरिएको थियो । त्यतिबेला उनीहरू संघर्षरत समूह थिए र आफ्नो मेहनतपूर्ण जीवनलाई दस्तावेजीकरणसमेत गरिरहेका थिए । अहिलेको ‘अरिराङ’ पनि त्यही सहरमा रेकर्ड गरिएको छ, जसका कारण दुवै एल्बमबीच तुलना हुनु स्वाभाविक देखिन्छ, विशेषगरी हिप-हप प्रभावका कारण ।
केही श्रोताले ‘अरिराङ’मा निरन्तरता देख्छन् । अन्तर्राष्ट्रिय प्रोड्युसर र इन्जिनियरसँग सहकार्य गरेर तयार गरिएको परिष्कृत र प्रयोगात्मक ध्वनि उनीहरूलाई नयाँ उचाइतर्फ लैजाने प्रयास जस्तो लाग्छ । तर अर्कोतर्फ, केहीले भने यो एल्बम अत्यधिक ‘प्रोड्युस्ड’ भएको भन्दै पुरानो ‘डार्क एन्ड वाइल्ड’मा देखिएको कच्चा भावना र ऊर्जा कमी भएको टिप्पणी गरेका छन् ।
यसरी हेर्दा, बीटीएसको नयाँ संगीतले फेरि एकपटक पुरानो पहिचान र नयाँ प्रयोगबीचको बहसलाई जिवित बनाएको छ । यही बहसले उनीहरूको आगामी यात्रा कता मोडिन्छ भन्ने संकेत पनि दिने देखिन्छ ।
ब्यान्डको कमब्याकसँगै फ्यान समुदायमा उठेका बहसहरू अझ स्पष्ट रूपमा बाहिरिन थालेका छन् । आफूलाई पुरानो फ्यान बताउने एक प्रयोगकर्ताले रेडिटमा लेखेका छन्, ‘यो कमब्याकमा खासै केही नराम्रो छैन, तर अब स्पष्ट हुँदै गएको छ कि बीटीएस आफैं के हो भन्नेमा निश्चित छैनन्, र उनीहरूले यसलाई कता लैजाने भन्ने स्पष्ट दृष्टि पनि छैन ।’
हाइब भर्सेस बीटीएस
अचम्मको कुरा के छ भने, केही कोरियन श्रोताका लागि एल्बममा कोरियन सांस्कृतिक पक्षलाई जोड दिइनु नै यससँग जोडिन गाह्रो भएको छ । ‘अरिराङ’जस्तो लोकधुनलाई केन्द्रमा राख्नु उनीहरूलाई अलि बढी योजनाबद्ध र बनावटी जस्तो लागेको छ ।
यो अन्योल वृत्तचित्रमा पनि देखिन्छ । एउटा दृश्यमा जिमिन भन्छन्, “साँचो भन्नुपर्दा, यो ठीक हो कि होइन भन्ने मलाई थाहा छैन ।” त्यो बेला गीतको पहिलेको संस्करणमा ‘अरिराङ’को लामो भाग समावेश गरिएको थियो । सुगा भन्छन्, कम्पनीले ‘अरिराङ’लाई अझै स्पष्ट रूपमा अगाडि ल्याउन चाहन्छ, भने आरएमले यस्तो ठूलो सांस्कृतिक गीतसँग समूहलाई जोड्दा आफूमा “शारीरिक प्रतिक्रिया” आउने बताएका छन् ।
तर यी शंका र असहजताबीच कम्पनीका अध्यक्ष बाङ सी-ह्युकको तर्क बलियो रूपमा आउँछ । उनले सदस्यहरूलाई सम्झाउँदै भनेका छन्, ‘तिमीहरू एक पुस्तामा एकपटक मात्र देखिने स्तरका आइकन हौ । तिमीहरू कोरियन हौ भन्ने कुरा पनि अस्वीकार गर्न सकिँदैन । त्यसैले अब तिमीहरूको लक्षित दर्शक केवल कोरियन मात्र होइन, विश्वव्यापी भइसकेको छ ।’
हाइबले बीटीएसलाई बनायो, तर पछि बीटीएसले नै हाइबलाई शक्तिशाली कम्पनीमा रूपान्तरण गरिदियो । दक्षिण कोरियाले पनि उनीहरूको सफलतालाई सांस्कृतिक कूटनीतिको रूपमा प्रयोग गरेको छ । ह्वाइट हाउसदेखि संयुक्त राष्ट्रसंघसम्मका कार्यक्रममा उनीहरू राष्ट्रिय मात्र होइन, वैश्विक प्रतिनिधिका रूपमा प्रस्तुत भएका छन् ।
संगीत मात्र होइन, व्यापारिक सामग्री, विज्ञापन र निरन्तर कन्टेन्टमार्फत बीटीएसले अर्बौं आम्दानी गरिसकेको छ । यसले हाइबलाई विस्तार गर्न र सार्वजनिक कम्पनी बन्ने बाटो खोलिदिएको छ ।
के-पप उद्योगमा प्रायः कम्पनीले कलाकारलाई नियन्त्रण गर्ने चलन छ । त्यसैले केहीले एल्बमको दिशा हाइबकै प्रभाव भएको र बीटीएसले त्यसलाई स्वीकार गरेको ठान्छन् । तर अर्काे पक्ष भने यो एल्बमलाई दुवैबीचको जटिल वार्ताको परिणामका रूपमा हेर्छ । गोयाङ कन्सर्टमा सहभागी हुन गइरहेका एक फ्यान भन्छन्, “मलाई ‘अरिराङ’को परम्परागत ध्वनि प्रयोग अचम्मको लागेन । एल्बमका केही गीतहरू अझै रोचक छन्, जस्तै ‘बडी टु बडी’ ।’
के-पप र पप संस्कृतिमा लेख्ने एक ब्लगरले भनेका छन्, ‘बीटीएसको संगीत विकासप्रति म सम्मान गर्छु, तर उनीहरूको पुरानो सच्चा र कोरियन भाषामा लेखिएको गीतहरू हामीले मिस गरिरहेका छौं ।’

‘आर्मी’का लागि सन्देश
बीटीएसका लागि यस्ता प्रश्नहरू- मौलिकता र सन्देश-नै उनीहरूको फ्यानबेस ‘आर्मी’लाई जोडेर राख्ने मुख्य आधार हुन् ।
समीक्षक पार्कका अनुसार, ‘नयाँ एल्बम ध्वनि गुणस्तरका हिसाबले राम्रो छ, तर ‘लभ योरसेल्फ’ जस्ता एल्बममा जस्तो स्पष्ट सन्देश यसमा त्यति देखिँदैन। सायद यही कारणले कोरियन श्रोताले जोडिन गाह्रो मानिरहेका छन् ।’
‘लभ योरसेल्फ’ सिरिजले आत्मप्रेम, मानसिक स्वास्थ्य र व्यक्तिगत विकासजस्ता विषय उठाएको थियो, जसले विश्वभरका श्रोतासँग गहिरो सम्बन्ध बनाएको थियो । महामारीका बेला संयुक्त राष्ट्रसंघमा पनि बीटीएसले युवालाई आफूलाई स्वीकार्न प्रेरित गर्ने सन्देश दिएका थिए । सोलमा बस्ने रुसी विद्यार्थी एमी ओस्त्रोभ्स्काया भन्छिन्, ‘बीटीएसका गीतले उनलाई मानसिक संकटबाट जोगाएको थियो ।’
सुरुदेखि नै सदस्यहरूले भ्लगमार्फत आफ्ना विचार र अनुभव सिधै फ्यानसँग साझा गर्दै आएका छन् । सन् २०१५ मा सुरु भएको ‘रन बीटीएस’ सिरिजमार्फत उनीहरूले खेल, रमाइलो र आपसी सम्बन्ध दर्शकसामु ल्याए ।
यसरी उनीहरूको यात्रा अनलाइन र अफलाइन दुवैमा सँगै अघि बढ्यो । फ्यानले उनीहरूलाई टाढाका स्टारभन्दा पनि नजिकका, अलि लजालु तर प्रतिभाशाली युवाका रूपमा हेरे ।
समीक्षक पार्क भन्छन्, ‘जब उनीहरूको ट्विटरमा हजारभन्दा कम फलोअर थिए, त्यही बेलादेखि म हेर्दै आएको छु । सामाजिक सञ्जालको आक्रामक प्रयोग गर्ने पहिलो के–पप समूह उनीहरू नै थिए, किनभने साना कम्पनीका कलाकारलाई टिभीमा अवसर पाउन गाह्रो हुन्थ्यो ।’
फ्यानबेस बढ्दै जाँदा बीटीएसले विश्वभरका स्टेडियम भरिदिए । लन्डनको वेम्बलीमा हजारौं फ्यानले ‘यङ फरेभर’ कोरियनमै गाउँदा सदस्यहरू भावुक भएका थिए ।
पछि पूर्ण अंग्रेजी गीत ‘डाइनामाइट’ र ‘बटर’मार्फत उनीहरूले नयाँ दिशा लिएका थिए, जसले ग्रामी नामांकन र प्रस्तुतीको ढोका खोल्यो, यद्यपि पुरस्कार हात पार्न सकेनन् ।
अहिले ‘अरिराङ’सँगै उनीहरू फेरि अर्को मोडमा देखिन्छन्, ‘यसपटक अझ स्पष्ट रूपमा कोरियन जरा समात्ने प्रयाससहित । तर यो यात्रामा उनीहरूको व्यक्तिगत यात्राहरूको प्रभाव पनि देखिन्छ । आरएम र सुगाले प्रयोगात्मक काममा ध्यान दिए, जंगकुक र जे-होपले पर्फर्मेन्स केन्द्रित पप रोजे, भने जिमिन, भी र जिनले भावनात्मक गायनलाई प्राथमिकता दिए ।
१० वर्षभन्दा बढी समयपछि पनि सातै जना सँगै रहनु आफैंमा उल्लेखनीय छ । पूर्व बिलबोर्ड अधिकारी रोब श्वाट्र्ज भन्छन्, ‘प्रतिभा, प्रस्तुति, प्रचार-सबै कुरा मिलेको छ । तर सबैभन्दा ठूलो कुरा, उनीहरूले ठूलो आन्दोलन बनाएका छन् र फ्यानले त्यसलाई निरन्तर अघि बढाइरहेका छन् ।’
तर दक्षिण कोरियाली सेलिब्रिटी जीवनको दबाबले कहिलेकाहीँ उनीहरूको छवि पनि कमजोर बनाउँछ । यस वर्ष जंगकुकले मदिरा सेवनपछि गरेको लाइभ भिडियोमा खुलेर बोल्दा चर्चा भएको थियो । उनले भनेका थिए, ‘म आफूलाई मनपरेको जस्तो बाँच्न चाहन्छु,’ र फ्यानको आग्रहमा पनि लाइभ बन्द गर्न अस्वीकार गरेका थिए ।

त्यसभन्दा केही महिनाअघि आरएमले पुनर्मिलन र स्टेजमा फर्कने चिन्ताबारे खुलेर बोलेपछि माफी मागेका थिए ।
पार्कका अनुसार, ‘म भन्न चाहन्न कि बीटीएस स्वतन्त्र छैनन्, तर समूहका रूपमा उनीहरू राष्ट्रिय ब्रान्डजस्तै भइसकेका छन् । यसले ठूलो दबाब सिर्जना गर्छ, र सायद त्यसैले केहीले पहिचान हराएको महसुस गरेका छन् ।’
फ्यान पार्क सु-बिनका लागि भने उनीहरूलाई फेरि स्टेजमा देख्न पाउनु नै ठूलो कुरा हो । उनी भन्छिन्, ‘साँचो भन्नुपर्दा ‘स्विम’ मन पर्यो, तर ‘आइडल’जस्तो अझ शक्तिशाली प्रस्तुति अपेक्षा गरेको थिएँ ।’
अर्का एक सामान्य फ्यान भन्छन्, “मलाई धेरै विश्लेषण गर्न मन छैन, म त कन्सर्टका लागि उत्साहित छु ।’
बीटीएस फेरि स्टेजमा फर्कँदै गर्दा उनीहरूको कमब्याकको अन्तिम मूल्यांकन फ्यानले नै गर्नेछन् । तर एउटा कुरा भने स्पष्ट छ- उनीहरूको विरासत सुरक्षित छ । श्वाट्र्ज भन्छन्, ‘पहिला के-पप विश्वव्यापी बन्ने कि नबन्ने भन्ने प्रश्न थियो । अहिले त्यो प्रश्न नै छैन, किनभने बीटीएसले त्यसलाई प्रमाणित गरिसकेका छन् ।’
अब बाँकी प्रश्न भने एउटै छ- बीटीएस अझ कति टाढा जान सक्छ ?
बीबसीबाट ।
प्रतिक्रिया 4