+
+
Shares
संगीत विमर्श :

‘बीटीएस’ को विश्वव्यापी सफलताबाट नेपाली ब्यान्डले के सिक्न सक्छन् ?

बीटीएसले देखाएको बाटो स्पष्ट छ- कलाकार मात्र होइन, ब्रान्ड बन्ने । फ्यान मात्र होइन, समुदाय बनाउने । गीत मात्र होइन, कथा सुनाउने । बजार मात्र होइन, विश्व सोच्ने। नेपालका ब्यान्डले यदि यही ४ कुरा समाते भने, सम्भावना अझै धेरै छ ।

विष्णु शर्मा विष्णु शर्मा
२०८२ चैत १० गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार प्रकाश सपुतले रास्वपाबाट समानुपातिक सांसदमा नअटेपछि बीटीएसलाई उदाहरण बनाएर आफूले पाँच वर्ष देशलाई दिन चाहेको बताए ।
  • दक्षिण कोरियाली ब्यान्ड बीटीएसले चार वर्षको अन्तरालपछि सियोलमा कमब्याक कन्सर्ट गरी विश्वव्यापी सांगीतिक प्रभाव पुनः प्रमाणित गरेको छ।
  • बीटीएसको सफलता व्यवस्थापन, दीर्घकालीन योजना, फ्यानडम \'आर्मी\' को सक्रियता र डिजिटल प्लेटफर्मको प्रभावमा आधारित छ, जुन नेपालका ब्यान्डले सिक्न सक्छन्।

रास्वपाबाट समानुपातिक सांसदमा नअटेपछि कलाकार प्रकाश सपुतले दक्षिण कोरियाली प्रसिद्ध ब्यान्ड ‘बीटीएस’ लाई उदाहरणको रूपमा पेश गरे । जसरी, बीटीएसका सबै सदस्यले देश सेवामा २ वर्ष दिए, उसैगरी आफूले राजनीतिमार्फत मुलुकलाई ५ वर्ष दिन चाहेको उनको भनाइ थियो ।

सपुतले लेखेका थिए, ‘बीटीएसले २ वर्ष देशलाई दिए जस्तै, मैले पनि मरिजाने चोलाको ५ वर्ष देशलाई दिने सोचेको थिएँ । छोटो समयमा मानसिक र व्यवहारिक रूपमा तयार भइरहेको थिएँ । किनकि, जीवनको कुनै न कुनै मोडमा देशको कुनै कार्यकारी निकायमा बसेर काम गर्ने सोच पहिले देखिकै हो ।’

नेपाली क्यालेन्डरअनुसार, ७ चैत शनिबारको बेलुकी ४ बजेर ४५ मिनेटमा बीटीएसले सियोलमा प्रस्तुति दिन थालिसकेको थियो । सोही दिनको बिहान सपुतले अब बाँकी जीवन इन्टरटेनरको रूपमा समर्पित गर्ने कुरा फेसबुकमा लेखे । बीटीएस र सपुतबीच यहाँनेर एक कुराको समानता देखिन्छ- देश सेवा गर्ने हुटहुटी ।

त्यही विश्वचर्चित ब्यान्ड ४ वर्षको अन्तरालपछि पुनः विश्व मञ्चमा फर्किएको छ । ब्यान्डको ‘कमब्याक कन्सर्ट’ केवल सांगीतिक कार्यक्रम मात्र रहेन, बरू विश्वभरका लाखौँ फ्यानका लागि प्रतीक्षाको अन्त्य र नयाँ उत्साहको सुरुआत बन्यो । दक्षिण कोरियामा आयोजित यो भव्य कन्सर्टले फेरि एकपटक पुष्टि गर्‍यो- बीटीएस एउटा ब्यान्ड मात्र होइन, विश्वव्यापी सांगीतिक शक्ति हो ।

यो पुनरागमनले ब्यान्डको स्टारडम, व्यवस्थापन क्षमता, फ्यानडमको शक्ति र विश्व बजारमा पर्ने प्रभावलाई पुनः प्रमाणित गरेको छ । सियोलको कन्सर्ट हेर्दा ४ वर्षको अन्तरालमा पनि उनीहरूको लोकप्रियता घटेन, बरू अझ बलियो बनेको देखियो । यही सन्दर्भले एउटा महत्वपूर्ण प्रश्न गर्छ- बीटीएसको विश्वव्यापी क्रेजबाट नेपालका सांगीतिक समूहले के सिक्न सक्छन् ?

संगीतभन्दा ठूलो ब्रान्ड

‘बीटीएस’ ७ सदस्यीय समूह हो, तर यो गायक वा कलाकारको समूह मात्र होइन । बरु, विश्वव्यापी ब्रान्ड पनि हो । ब्यान्डको संगीतले भावनात्मक कथा भन्छ, तर त्यो कथा व्यवस्थापन, मार्केटिङ र डिजिटल रणनीतिसँग जोडिएको छ ।

दक्षिण कोरियाको सानो कम्पनी ‘बिगहिट’ (हाल हाइब) बाट सुरु भएको यो समूह आज विश्वकै शक्तिशाली मनोरञ्जन ब्रान्डमध्ये एक बनिसकेको छ । एल्बम बिक्री, विश्व टुर, मर्चेन्डाइज, डिजिटल स्ट्रिमिङ र ब्रान्ड एन्डोर्समेन्टबाट अर्बौँ डलरको आम्दानी हुन्छ । सन् २०२६ देखि २०२७ सम्म चल्ने टूरबाट १ अर्ब अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ ।

प्रश्न उठ्छ- के कारणले ‘बीटीएस’ यति ठूलो भयो ?

यसको सफलता पछाडिको सबैभन्दा ठूलो पक्ष व्यवस्थापन हो । हाइबले कलाकारलाई ‘प्रोडक्ट’ जस्तो व्यवहार गरेन, बरू उनीहरूको व्यक्तिगत कथा, पहिचान र भावनालाई प्राथमिकता दियो । संसारका अन्य प्रतिष्ठित ब्यान्डको सफलता पछाडि पनि कुशल व्यवस्थापनको पाटो जोडिन आउँछ ।

नेपालमा प्रतिभाको कमी छैन । तर चुनौती पनि उत्तिकै छन् । ती हुन्- व्यवस्थित उद्योगको अभाव, सीमित लगानी र अन्तर्राष्ट्रिय पहुँचको कमी

‘बीटीएस’का प्रत्येक सदस्यको छुट्टै पहिचान छ । सामूहिक ब्रान्ड पनि बलियो छ । व्यवस्थापनले दीर्घकालीन योजना बनायो । त्यो थियो- सुरुमा घरेलु बजारमा स्थापित हुने अनि त्यसपछि अन्तर्राष्ट्रिय विस्तार गर्ने।

नेपालमा धेरै सांगीतिक समूह तत्काल हिट गीत र युट्युब भ्युजमा केन्द्रित देखिन्छन् । तर दीर्घकालीन ब्रान्ड निर्माणमा ध्यान कम छ । बीटीएसले देखाएको बाटो भनेको धैर्य, निरन्तरता र स्पष्ट रणनीति हो । जसको खम्बाको रूपमा ‘हाइब’ को कुशल व्यवस्थापन रणनीतिले काम गरेको देखिन्छ ।

यति मात्र होइन, बीटीएसको उदयसँगै डिजिटल प्लेटफर्मको भूमिका पनि स्पष्ट देखिन्छ । युट्युब, ट्विटर, वीभर्स जस्ता प्लेटफर्ममार्फत उनीहरूले फ्यानसँग प्रत्यक्ष सम्बन्ध बनाए ।

ब्यान्डका सदस्य गीत रिलिज मात्र गरेर बस्दैनन्, नियमित रूपमा भिडियो, लाइभ सेसन, पर्दा पछाडिका कथा सेयर गर्छन् । यसले फ्यानलाई ‘जोडिएको’ महसुस गराउँछ ।

फ्यानडम निर्माण : ‘आर्मी’को शक्ति

‘बीटीएस’को फ्यानडम ‘आर्मी’ विश्वकै शक्तिशाली फ्यान समुदायमध्ये एक हो । यो फ्यानडम दर्शक मात्र होइन, सक्रिय सहभागी हो । उनीहरूले गीत प्रमोट गर्छन्, सामाजिक अभियान चलाउँछन् र समूहको छवि निर्माणमा भूमिका खेल्छन् ।

यो फ्यानडम निर्माण आकस्मिक भने होइन । बरू, बीटीएसले आफ्ना गीतमार्फत युवाको मानसिक स्वास्थ्य, संघर्ष र आत्मस्वीकृतिको विषय उठाएको छ । यसले फ्यानसँग गहिरो भावनात्मक सम्बन्ध बनायो ।

नेपालमा पनि फ्यान संस्कृति छ, तर व्यवस्थित रूपमा समुदाय निर्माण गर्ने अभ्यास कम देखिन्छ । कलाकारले आफ्ना फ्यानलाई ‘कम्युनिटी’ बनाउने प्रयास गर्न सक्छन् ।

यहाँनेर, आम्दानीका स्रोतलाई पनि ध्यान दिन जरुरी छ । बीटीएसले विश्व टूरबाट ठूलै आम्दानी गर्छ । प्रत्येक कन्सर्ट केवल प्रस्तुति होइन, यसमा एउटा अनुभव हुन्छ– लाइट, भिजुअल, स्टेज डिजाइन र कथा सबै मिलेर । लाइभ प्रस्तुतिलाई गीत गाउने कार्यक्रम होइन, दर्शकलाई जोड्ने प्लेटफर्म बनाउने अभ्यास आवश्यक छ ।

यसको आर्थिक मोडेल नै बहुआयामिक आम्दानी हुने तरिकाको छ । संगीतबाट मात्र यसको आम्दानी हुँदैन । मर्चेन्डाइज, ब्रान्ड पार्टनरसिप, डिजिटल कन्टेन्ट, फिल्म, गेमिङ लगायत विभिन्न माध्यमबाट आम्दानी हुन्छ ।

नेपालमा भने आम्दानी मुख्यतः युट्युब र लाइभ शोमा निर्भर छ । यद्यपि, हामीकहाँ पनि नयाँ आर्थिक मोडेल विकास गर्ने सम्भावना छ- जस्तै मर्चेन्डाइज, फ्यान सब्स्क्रिप्सन, डिजिटल प्लेटफर्म लगायत ।

संस्कृति र सफ्टपावर

‘बीटीएस’ले आफ्नो संगीतमा कोरियाली भाषा र संस्कृतिलाई प्रयोग गर्न छाडेन । बरू त्यसलाई विश्वसामु पुर्‍यायो । यसले के-पपलाई मात्र होइन, कोरियन संस्कृति (के-कल्चर) लाई पनि विश्वव्यापी बनायो ।

नेपालका कलाकार पनि आफ्नो मौलिकता लिएर आउन सक्छन् । लोकधुन, भाषा, परम्परा- यी सबैलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्न सकिन्छ ।

दक्षिण कोरियाले के-पपलाई राष्ट्रिय रणनीतिका रूपमा प्रयोग गर्‍यो । सरकारले नीतिगत सहयोग, पूर्वाधार र अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्न भूमिका खेल्यो । बीटीएसले देशको ‘सफ्टपावर’ बढाउन योगदान दिएको छ । पर्यटन, भाषा र संस्कृति प्रवर्द्धनमा उनीहरूको प्रभाव स्पष्ट छ ।

नेपालमा पनि सांगीतिक क्षेत्रलाई सफ्टपावरका रूपमा प्रयोग गर्न सकिन्छ । तर यसका लागि सरकार, निजी क्षेत्र र कलाकारबीच सहकार्य आवश्यक छ ।

नेपालमा प्रतिभाको कमी छैन । नयाँ पुस्ताका कलाकार सिर्जनशील छन्, डिजिटल रूपमा सक्रिय छन् । तर चुनौती पनि उत्तिकै छन् । ती हुन्– व्यवस्थित उद्योगको अभाव, सीमित लगानी र अन्तर्राष्ट्रिय पहुँचको कमी । बीटीएसको मोडल सिधै नक्कल गर्न सम्भव छैन, तर त्यसबाट प्रेरणा लिन भने सकिन्छ ।

नेपालले के सिक्न सक्छ ?

‘बीटीएस’ को सफलता ब्यान्डको कथा मात्र होइन, एउटा प्रणालीको सफलता हो । व्यवस्थापन, रणनीति, संस्कृति र प्रविधि मिलेर बनेको यो मोडलले विश्वलाई नयाँ बाटो देखाएको छ । पश्चिमा सांगीतिक समूहले आफूलाई सोही गतिमा अघि बढाउन अलमल भइरहेको बेला, पूर्वी एसियाली मुलुकको एक ब्यान्डले भने यस्तो सफलता हासिल गरेको छ, जुन वास्तवमै सिक्नयोग्य छ ।

नेपालका सांगीतिक समूहका लागि पनि आफ्नो पहिचान जोगाउँदै विश्व बजारमा प्रवेश गर्ने यो अवसर पनि हो । यदि सही योजना, लगानी र दृष्टिकोण अपनाइयो भने, नेपाली संगीत पनि अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सक्ने सम्भावना छ ।

‘बीटीएस’ को हालैको कमब्याक कन्सर्टले फेरि एउटा कुरा स्पष्ट बनायो- चार वर्षको अन्तरालपछि पनि उनीहरूको प्रभाव झन् बढेको छ, घटेको छैन । लाखौँ फ्यान, अर्बौँको आर्थिक प्रभाव र विश्वव्यापी चर्चा कुनै संयोग होइन ।

प्रश्न उठ्छ- नेपालका ब्यान्ड कहाँनेर चुकिरहेका छन् ?

‘बीटीएसको यात्रा ‘आज हिट भयो, भोलि हरायो’ भन्ने ढाँचामा छैन । यो ब्यान्डलाई सुरुवातदेखि नै दीर्घकालीन ब्रान्डको रूपमा अघि सारियो । नेपालमा ब्यान्ड एउटा गीत हिट भएपछि त्यही सफलता दोहोर्‍याउन संघर्ष गर्छन् । स्पष्ट रणनीति, पाँच-दश वर्षको रोडम्याप, वा अन्तर्राष्ट्रिय लक्ष्य प्रायः देखिँदैन । योजनाभन्दा ट्रेन्ड पछ्याउने प्रवृत्ति कतिपयमा छ ।

फ्यानडमलाई ‘कम्युनिटी’ नबनाउनु अर्को समस्या देखियो । ‘बीटीएस’ सफलता फ्यान ‘आर्मी’ बिना सम्भव थिएन । अध्ययनले पनि उनीहरूको सफलता सक्रिय फ्यानडम, निरन्तर संवाद र निष्ठामा आधारित देखाउँछ । नेपालमा फ्यान छन्, ‘कम्युनिटी’ छैन । हामीकहाँ कलाकार र फ्यानबीचको सम्बन्ध प्रायः एकतर्फी हुन्छ– गीत रिलिज भयो, पोस्ट गरियो, सकियो । सिर्जनामा फ्यानलाई सहभागी बनाउने संस्कृति देखिएन ।

बीटीएसले सुरुवातदेखि नै युट्युब, सोसल मिडिया र आफ्नै प्लाटफमबाट फ्यानसँग सम्बन्ध बनायो । नेपालमा भने, रिलिज भएपछि मात्रै पोस्ट, प्रमोसन केन्द्रित कन्टेन्ट र पर्दा पछाडिका कथा, निरन्तर संवाद कम हुने देखियो । डिजिटललाई ‘मञ्च’ होइन, ‘पोस्ट गर्ने ठाउँ’ मात्र मान्ने प्रवृत्ति यहाँ देखियो ।

बीटीएसको गीत केवल संगीत होइन, कथा हो । युवाको संघर्ष, मानसिक स्वास्थ्य, आत्मविश्वासजस्ता विषयले फ्यानसँग गहिरो सम्बन्ध बनाएको छ । नेपालमा बन्ने धेरै गीत ट्रेन्डी बिटमा केन्द्रित देखिए । भावनात्मक गहिराइ कम र कलाकारको स्पष्ट पहिचान पनि यहाँ देखिएन । संगीतमा कथा र सन्देशको कमी यहाँ देखियो ।

‘बीटीएस’ले सुरुवातमै ‘ग्लोबल’ सोच राख्यो, तर आफ्नो भाषा र संस्कृति छोडेन । नेपालमा भने, धेरैजसो सामग्री स्थानीय भाषामा सीमित रहे । अन्तर्राष्ट्रिय दर्शकलाई ध्यानमा राखेर सामग्री तयार गर्ने अभ्यास कम भयो । ‘हामी नेपालमै पुग्यो भने पुग्यो’ भन्ने सोच हावी भयो ।

‘बीटीएस’ कन्सर्ट एउटा शो होइन- अनुभव हो । स्टेज, लाइट, कथा, भाव सबै मिलेर, एउटा उत्कृष्ट अनुभव हो । नेपालमा, गीत गाउने, दर्शक रमाउने र कार्यक्रम सकिने उपक्रममा सीमित रह्यो । प्रस्तुति भन्दा ‘पर्फम’ मात्रै नेपालमा रह्यो ।

‘बीटीएस’ को पछाडि सशक्त व्यवस्थापन कम्पनी छ, जसले कलाकारलाई दीर्घकालीन रूपमा निर्माण गर्छ । नेपालमा, धेरै कलाकार स्व-व्यवस्थापनमा काम गरिरहेका छन् । प्रोफेसनल म्यानेजमेन्टको कमी, लगानी र रणनीतिक सोच कम हुने समस्या छ ।

आम्दानीका नयाँ मोडेल नखोज्नु पनि अर्को समस्या नेपालमा छ । बीटीएसले कन्सर्ट, मर्चेन्डाइज ब्रान्ड, डिजिटल प्लेटफर्म र ग्लोबल टुरबाट कमाउँछ । यसवर्षको टूरले मात्र १ अर्ब डलर कमाउने अनुमान छ । नेपालमा युट्युब र स्टेज शो मात्र आम्दानीका स्रोत बनेका छन् । नेपालमा एउटै स्रोतमा निर्भरता देखियो ।

बीटीएसले वर्षौंसम्म लगातार काम, सुधार र आफूलाई विकास गर्‍यो । नेपालमा, एक-दुई हिटपछि ग्याप, निरन्तरतामा कमी र समूह नै विघटन हुनेजस्ता समस्या विद्यमान छन् । स्थायित्वको अभाव नेपाली ब्यान्डमा देखियो ।

दक्षिण कोरियाले के-पपलाई राष्ट्रिय रणनीतिमा राखेको छ । ‘बीटीएस’ ले देशको सफ्टपावर बढायो । नेपालमा, संगीतलाई उद्योगको रूपमा हेर्ने नीति कमजोर छ । अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सरकारी पहल न्यून छ । नीतिगत समर्थन नहुँदा समस्या छ । नेपालका ब्यान्ड प्रतिभामा कमजोर छैनन्, प्रणाली, सोच र रणनीतिमा कमजोर छन् ।

बीटीएसले देखाएको बाटो स्पष्ट छ- कलाकार मात्र होइन, ब्रान्ड बन्ने । फ्यान मात्र होइन, समुदाय बनाउने । गीत मात्र होइन, कथा सुनाउने । बजार मात्र होइन, विश्व सोच्ने।

नेपालका ब्यान्डले यदि यही ४ कुरा समाते भने, सम्भावना अझै धेरै छ । नत्र भने, हिट गीत आउँछ, तर इतिहास बन्न कठिन हुने देखिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?