News Summary
Generated by OK AI. Editorially reviewed.- के-पप ब्यान्ड बीटीएसले सिओलको मध्यसहरमा मार्च २१ मा निःशुल्क कमब्याक कन्सर्ट आयोजना गर्न लागेको छ।
- करिब ३ लाख मानिस सहभागी हुने अनुमान गरिएको उक्त कन्सर्टलाई ४ हजार ८ सय प्रहरी र ३ हजार ४ सय कर्मचारीले सुरक्षा व्यवस्था गर्नेछन्।
- कन्सर्ट विश्वभर नेटफ्लिक्समार्फत १९० देशमा प्रत्यक्ष प्रसारण हुनेछ र भीड व्यवस्थापनमा विशेष चासो दिइनेछ।
सिओल, रोयटर्स । के-पप ब्यान्ड बीटीएसले आगामी साता सिओलको मध्यसहरमा आयोजना गर्न लागेको ‘कमब्याक’ कन्सर्टमा करिब ३ लाख मानिस सहभागी हुने अनुमान गरिएको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
सन् २००२ मा आयोजित ‘फिफा विश्वकप फुटबल २००२’ पछि उक्त क्षेत्रमा हुन लागेको यो सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक हुने बताइएको छ ।
चार्टमा शीर्ष स्थानमा रहने के-पप समूह बीटीएसले तीन वर्षभन्दा बढी समयपछि नयाँ एल्बम सार्वजनिक गर्न लागेकाले मार्च २१ मा उक्त निःशुल्क कन्सर्ट आयोजना गर्न लागेको हो । त्यसपछि ब्यान्डले अप्रिलदेखि विश्वव्यापी संगीत यात्रा (ग्लोबल टुर) सुरु गर्ने तयारी गरेको छ ।
राजधानी सिओलको केन्द्रमा रहेको ग्वाङह्वामुन स्क्वायरदेखि सिटी हलसम्म फैलिने यो एक घण्टे कार्यक्रम विश्वभर प्रत्यक्ष प्रसारण गरिनेछ । नेटफ्लिक्समार्फत १९० देशमा प्रत्यक्ष प्रसारण गरिने भएकाले यसले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
ठूलो भीडको सम्भावनालाई ध्यानमा राख्दै भीड व्यवस्थापन र सुरक्षाको विषयमा देशभित्र पनि विशेष चासो देखिएको छ ।

निःशुल्क टिकट प्राप्त गरेका करिब २२ हजार दर्शकले कन्सर्टस्थलभित्र बसेर कार्यक्रम हेर्नेछन् । तर टिकट नभएका मानिसलाई पनि आसपासको क्षेत्रमा आएर कार्यक्रम अवलोकन गर्न खुला रहने आन्तरिक मामिला मन्त्री युन हो–जुङले बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भीड व्यवस्थापन, आपत्कालीन उद्धार तथा आतंकवादविरुद्धका सुरक्षात्मक उपायलाई ध्यानमा राख्दै करिब ४ हजार ८ सय प्रहरी खटाइने तयारी गरिएको छ । त्यसैगरी सिओल महानगरपालिका र सम्बन्धित निकायका करिब ३ हजार ४ सय कर्मचारी पनि कार्यक्रममा परिचालन गरिने बताइएको छ ।
मन्त्री युनले कार्यक्रममा ‘सुरक्षा पहिलो’ नीतिलाई प्राथमिकता दिइने बताएका छन् । यसअन्तर्गत कार्यक्रमअघि संरचनात्मक जाँच, कार्यक्रमका बेला संयुक्त कमाण्डमार्फत प्रत्यक्ष निगरानी तथा कार्यक्रम सकिएलगत्तै सरसफाइको व्यवस्था गरिनेछ ।
‘यो कार्यक्रमले के-कल्चर मात्र होइन, के-सेफ्टीको उदाहरण पनि प्रस्तुत गर्नेछ,’ उनले भने ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले रातभर बस्ने मानिसलाई रोक्न नसकिने जनाएको छ, तर ठूलो आकारका टेन्ट भने अनुमति नदिइने बताइएको छ । कार्यक्रमस्थलमा बहुभाषिक मार्गदर्शक र स्वास्थ्य सहायता केन्द्र पनि राखिनेछ । साथै सिओल महानगरले आसपासका भवनमा सार्वजनिक प्रयोगका लागि ८९४ वटा शौचालयको व्यवस्था गरेको छ ।
सन् २०२२ मा सिओलमा भएको हेलोविन भीडदौडमा १५९ जनाको मृत्यु भएपछि दक्षिण कोरिया ठूलो भीडभाड हुने कार्यक्रमप्रति अझ सतर्क देखिन्छ ।
प्रतिक्रिया 4