+
+
Shares

मूल्यवृद्धि सहजीकरण गर्न निर्माण व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण उद्योग परिषद् गुल्मीका अध्यक्ष धनिश्वर गौतमले पेट्रोलियम पदार्थ, बिटुमिन, सिमेन्ट, फलामजन्य सामग्री र मजदुरी लागतमा ३० देखि ३६ प्रतिशतसम्म वृद्धि भएको बताए।
  • निर्माण व्यवसायीहरूले मूल्यवृद्धिलाई ‘प्राइस एस्केलेसन’ का रूपमा तत्काल सम्बोधन गर्न र अनावश्यक प्रशासनिक दबाब अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
  • निर्माण क्षेत्रको मूल्यवृद्धि र आपूर्ति अस्थिरताले आयोजनाहरूको प्रगतिमा प्रत्यक्ष असर पारेको र राष्ट्रिय विकास प्रक्रियामा अवरोध आउन सक्ने चेतावनी दिइएको छ।

२७ चैत, गुल्मी । देशभरि सञ्चालन भइरहेका विकास तथा निर्माण आयोजनाहरूमा अत्यावश्यक सामग्रीको मूल्य असामान्य रूपमा वृद्धि हुँदा समग्र निर्माण क्षेत्र प्रभावित बनेको छ ।

नेपाल निर्माण उद्योग परिषद् गुल्मीका अध्यक्ष धनिश्वर गौतमले पेट्रोलियम पदार्थ, बिटुमिन, सिमेन्ट, फलामजन्य सामग्री, ढुवानी तथा मजदुरी लागतमा भएको निरन्तर वृद्धिका कारण निर्माण लागत औसतमा ३० देखि ३६ प्रतिशतसम्म बढेको बताए ।

आपूर्ति अस्थिरता तथा वाह्य कारणले सिर्जना गरेको यो अवस्थाले अधिकांश आयोजनाहरूको प्रगतिमा प्रत्यक्ष असर पारेको व्यवसायीहरूको भनाइ छ । उनीहरूका अनुसार यो समस्या कुनै एक आयोजना वा कम्पनीमा सीमित नभई देशव्यापी रूपमा देखिएको साझा चुनौती हो ।

संवेदनशील अवस्थाबीच पनि विभिन्न निकायबाट अनावश्यक प्रशासनिक दबाब, बारम्बार स्पष्टीकरण माग्ने, ताकेता गर्ने तथा मानसिक तनाव दिने गतिविधि भइरहेकोप्रति व्यवसायीहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

साथै, निर्णय प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा अनौपचारिक तथा अनैतिक अपेक्षा जोडिनु सुशासन विपरीत भएको उनीहरूको आरोप छ ।

निर्माण व्यवसायीहरूले सरकारसमक्ष मूल्यवृद्धिलाई ‘प्राइस एस्केलेसन’ का रूपमा तत्काल सम्बोधन गर्न, वाह्य तथा नियन्त्रण बाहिरका अवस्थालाई ‘फोर्स मेजर’ वा ‘एक्सेप्सनल कन्डिसन’ का रूपमा मान्यता दिन, व्यवसायीमाथि हुने अनावश्यक दबाब अन्त्य गर्न तथा सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष रूपमा सञ्चालन गर्न माग गरेका छन् ।

अध्यक्ष गौतमले  प्रेस विज्ञप्ति जारी गर्दै निर्माण क्षेत्रको यथार्थ अवस्थालाई बेवास्ता गरिएमा आयोजनाहरू थप प्रभावित हुने बताए ।

राष्ट्रिय विकास प्रक्रियामा अवरोध आउने र सम्बन्धित निकायसमक्ष थप औपचारिक पहल गर्न बाध्य हुने अवस्था सिर्जना हुन सक्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?