+
+
Shares

सरकारी कार्यक्रममा ‘सफ्ट ड्रिंक्स’ को सट्टा मही अनिवार्य गर्न माग

भोलि शनिबारदेखि मनाउन लागिएको ‘दोस्रो राष्ट्रिय मही दिवस’ का पूर्वसन्ध्यामा डेरी एसोसिएसनले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल डेरी एसोसिएसनले सरकारी तथा सार्वजनिक कार्यक्रमहरूमा विदेशी तथा कृत्रिम सफ्ट ड्रिंक्सको सट्टा मही वा लस्सीलाई स्वागत पेयका रूपमा अनिवार्य गर्न सरकारसँग माग गरेको छ।
  • एसोसिएसनले विद्यालयका क्यान्टिनहरूबाट कृत्रिम पेय पदार्थ विस्थापित गरी महीलाई क्याल्सियम र प्रोबायोटिक्सको मुख्य स्रोत बनाउन आग्रह गरेको छ।
  • दोस्रो राष्ट्रिय मही दिवसको अवसरमा उपत्यकाका विभिन्न स्थानमा नि:शुल्क मही वितरण गरिने र पत्रकार सम्मेलन गरी कार्यक्रम समापन गरिने जानकारी दिइएको छ।

२७ चैत, काठमाडौं । नेपाल डेरी एसोसिएसनले सरकारी तथा सार्वजनिक कार्यक्रमहरूमा विदेशी तथा कृत्रिम ‘सफ्ट ड्रिंक्स’ को सट्टा मही वा लस्सीलाई ‘स्वागत पेय’ का रूपमा अनिवार्य गर्न सरकारसँग माग गरेको छ ।

भोलि शनिबारदेखि मनाउन लागिएको ‘दोस्रो राष्ट्रिय मही दिवस’ का पूर्वसन्ध्यामा एसोसिएसनले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

यस वर्ष ‘महीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔं अभियानको प्रयास’ भन्ने नारासाथ मोही दिवस मनाइँदै छ ।

एसोसिएसनका महासचिव हेमचन्द्र खनालले चिया वा कफीको विकल्पमा शिक्षण संस्था, कर्पोरेट कार्यालय र अस्पतालहरूमा ‘मही–ब्रेक’ को अवधारणा विकास गर्नुपर्ने बताएका छन् ।

यसले बालबालिका र कर्मचारीको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने एसोसिएसनको विश्वास छ ।

एसोसिएसनले सरकारका तीनै तहलाई आफ्ना सार्वजनिक कार्यक्रम, बैठक र भोजहरूमा आयातित पेय पदार्थ प्रयोग रोक्ने नीति बनाउन आग्रह गरेको छ ।

चितवनको इच्छाकामना र काभ्रेको मण्डनदेउपुर जस्ता पालिकाहरूले मही प्रवर्द्धनमा गरेको प्रयासको प्रशंसा गर्दै देशभरिका ७ सय ५३ वटै स्थानीय तहलाई यसको सिको गर्न अनुरोध गरिएको छ ।

साथै, विद्यालयका क्यान्टिनहरूबाट कृत्रिम पेय पदार्थ विस्थापित गरी क्याल्सियम र प्रोबायोटिक्सको मुख्य स्रोत महीलाई स्थान दिनुपर्नेमा जोड दिइएको छ ।

महीमा क्याल्सियम, प्रोटिन र ल्याक्टिक एसिड प्रशस्त हुने भएकाले यसले पाचन प्रणाली सुधार्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञप्तिमा उल्लेख छ ।

हाल बजारमा झन्डै दुई दर्जन उद्योग मार्फत दैनिक २५ हजार लिटर प्याकेजिङ मही खपत भइरहेको र आगामी वर्षभित्र यसलाई दोब्बर बनाउने लक्ष्य राखिएको एसोसिएसनले जनाएको छ ।

विदेशी पेय पदार्थको आयात रोक्दा बर्सेनि बाहिरिने अर्बौं रुपैयाँ स्वदेशमै रहने र ग्रामीण किसानले दूधको उचित मूल्य पाउने भएकाले महीको व्यावसायिकता बढाउन सरकारसँग सहुलियतको समेत माग गरिएको छ ।

ठेकी र मदानीको परम्परागत संस्कृति जीवन्त राख्न पनि मही अभियान आवश्यक रहेको बताइएको छ ।

मही दिवसका कार्यक्रम

दोस्रो राष्ट्रिय मही दिवसका अवसरमा २८ चैत बिहान १०:४५ बजे महानगरीय ट्राफिक प्रहरी कार्यालय सातदोबाटो (ललितपुर) हुँदै उपत्यकाका विभिन्न स्थानमा नि:शुल्क मही वितरण गर्ने कार्यक्रम छ ।

त्यस्तै दिउँसो २:३० बजे एसोसिएसनको शंखमूलस्थित कार्यालयमा पत्रकार सम्मेलन तथा कार्यक्रमको समापन गरिने जानकारी दिइएको छ ।

एसोसिएसनले ‘स्वदेशी उत्पादनको उपभोग गरौं, आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुर्‍याऔं’ भन्ने मूल मर्म आत्मसात् गर्दै यस अभियानमा सहयोग गर्न सम्पूर्ण नागरिक समाज र सरोकारवालालाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?