News Summary
Generated by OK AI. Editorially reviewed.- समाज कल्याण परिषद्को मातहतमा रहेको भृकुटीमण्डपमा भाडा नतिरेको भन्दै निजी व्यवसायीको पसल, संघसंस्था र पुस्तकालयमा सोमबार ताला लगाइएको छ।
- सदस्य सचिव सरोजकुमार शर्माको नेतृत्वमा सुरक्षाकर्मी सहित पुस्तकालयमा प्रवेश गर्दा करिब दुई दर्जन पाठक आक्रोशित र भयभीत भएका थिए।
- पुस्तकालयले ३४ नम्बरमा १ करोड १३ लाख ५३ हजार ९५ र ६८ नम्बर स्टलमा १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी रहेको समाज कल्याण परिषद्ले जनाएको छ।
३० चैत, काठमाडौं । भाडा नतिरेको भन्दै समाज कल्याण परिषद्को मातहतमा रहेको भृकुटीमण्डपमा सञ्चालित निजी व्यवसायीको पसल, संघसंस्था एवं पुस्तकालयमा सोमबार ताला लगाइएको छ ।
ताला लगाउने क्रममा अन्यको हकमा भन्दा काठमाडौं उपत्यकाका सार्वजनिक पुस्तकालयको दृश्य भिन्न रह्यो । समाज कल्याण परिषद्का सदस्य सचिव सरोजकुमार शर्माको नेतृत्वमा दलबल सहित पुस्तकालयमा ताला लगाउन पुगेको थियो । सुरक्षाकर्मी सहित समाज कल्याण परिषद्को टोली ताला लगाउन पुस्तकालय छिरेको थियो ।
सुरक्षाकर्मी सहित ठूलो संख्यामा पुस्तकालय कक्षमा प्रवेश गरेपछि पाठकहरू आक्रोशित र भयभित भए । विद्यालय तह, उच्च शिक्षा अध्ययन गर्ने करिब दुई दर्जन पाठक पुस्तकालयमा थिए । शान्त वातावरणमा अध्ययन गरिरहेका उनीहरूले सुरक्षाकर्मी सहित ठूलो दलबल देखेपछि आक्रोशित बने । शान्त वातावरण हुने पुस्तकालयभित्र एकाएक हो-हल्ला सुरु भयो ।

भाडा उठाउनका लागि सरकारले गुन्डागर्दीशैली अपनाएको भन्दै केही पाठकले आक्रोश पोखे । भयभित स्वरमा आक्रोशित एक जनाले भने,‘पढिरहेको बेला किन आउनुभएको? गुन्डागर्दीको शैलीमा । भोलि हाम्रो परीक्षा छ । पढ्न लागेका बेला हामीलाई उठाएर भाडाको समस्या समाधान हुन्छ ? पाठकलाई टर्चर दिने? व्यवस्थापकसँग कुरा गर्नू ? भाडा दोस्रो कुरा हो । पढाइ पहिलो कुरा हो ।’
पुस्तकालयका पाठकहरू आक्रोशित बनेपछि समाज कल्याण परिषद्का कर्मचारीहरू बाहिर आए । पुस्तकालयको गेटमा समाज कल्याण परिषद्का सदस्य सचिव सिंहले पुस्तकालयका व्यवस्थापक लीला भट्टराईलाई भाडा तिर्न ताकेता गरे । उनीहरू बीचमा केही समय भनाभन भयो ।

सदस्य सचिव सिंहले पुस्तकालयका व्यवस्थापक आफूलाई भेट्न नआएर मन्त्री र प्रधानमन्त्रीकहाँ धाएको भन्दै त्यसो नगर्न चेतावनी दिए । विद्यार्थीहरू एवं अन्य पाठकहरू अध्ययन गरिरहेको हुँदा पाँच बजेपछि पुस्तकालय बन्द गर्ने भन्दै सिंह सहितको टोली पुस्तकालबाट बाहिरियो ।
समाज कल्याण परिषद्का अनुसार दुई स्टलमा रहेको पुस्तकालयले ३४ नम्बरमा १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ र ६८ नम्बर स्टलको १ करोड ७६ लाख ७० हजार २८१ तिर्न बाँकी छ ।

प्रतिक्रिया 4