+
+
Shares

प्रदेश-प्रदेशमा कांग्रेसको आत्ममन्थन : चुनावमा अन्तर्घात भयो, परिवर्तनको लहर बुझिएन

कांग्रेसले गत चुनावको विषयमा अहिले प्रदेशस्तरमा समीक्षा गरिरहेको छ । समीक्षाका क्रममा अन्तर्घात भएको, कतिपय नेताहरूले उम्मेदवारको पक्षमा मत नमागेको, सहयोग नगरेको गुनासो आइरहेका छन् ।

केशव सावद केशव सावद
२०८३ वैशाख १ गते २१:४३
दाङको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रम ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
  • चुनावी समीक्षा कार्यक्रममा पार्टीभित्र अन्तर्घात, असहयोग र विशेष महाधिवेशन पक्षधरको असमझदारी हारको मुख्य कारण भएको चर्चा भएको छ।
  • सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने र सबै नेतालाई सम्मान गर्नुपर्ने बताउनुभएको छ।

१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा लज्जस्पद हार बेहोरेको नेपाली कांग्रेस यतिबेला प्रदेश–प्रदेशमा चुनावी समीक्षाहरू गरिरहेको छ । निर्वाचन सम्पन्न भएको एक महिनापछि कांग्रेसले मधेश प्रदेशबाट चुनावी समीक्षा सुरु गरेको हो ।

सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । मधेश प्रदेशमा २४ चैत, गण्डकी प्रदेशमा २७ चैत र लुम्बिनी प्रदेशमा २९ चैतमा कांग्रेसले चुनावी समीक्षा गरेको हो ।

यस्तै वैशाख ३ गते कर्णालीको सुर्खेत, ५ वैशाखमा सुदूरपश्चिमको धनगढी, ७ वैशाखमा बागमतीको हेटौंडा र ९ वैशाखमा कोशीको विराटनगरमा चुनावी समीक्षा कार्यक्रम गर्ने कार्यतालिका थियो ।

तर, केन्द्रीय कार्यालयले सुर्खेतमा तय भएको चुनावी समीक्षा ११ वैशाखमा आयोजना गर्न सोमबार प्रदेश कार्यसमिति परिपत्र गरेको छ ।

जसका कारण सुदूरपश्चिम, बागमती र कोशी प्रदेशको चुनावी समीक्षा पनि पछाडि धकेलिने देखिएको छ ।

कर्णाली प्रदेशका महामन्त्री निरञ्जन केसीले विज्ञप्ति जारी गरेर केन्द्रको परिपत्रअनुसार ३ वैशाखका लागि निर्धारण गरिएको प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम ११ वैशाखमा हुने जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ मा रास्वपाका नेता डा. अमरेशकुमार सिंहसँग पराजितपछि चुनावी समीक्षाका लागि सभापति थापा २४ चैतमा पहिलोपल्ट मधेश प्रदेश झरेका थिए ।

धनुषाको जनकपुरमा आयोजित चुनावी समीक्षा कार्यक्रममा सभापति थापासँगै उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरूराज घिमिरे, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र डा. डिला संग्रौलालगायत शीर्ष नेताहरू सहभागी थिए ।

कांग्रेसले चुनावी समीक्षाका लागि मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू, क्षेत्रीय सभापतिहरू, जिल्ला सभापतिहरू, प्रदेश सभापति तथा पदाधिकारी, प्रदेशबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई बोलाएको थियो ।

चुनावी समीक्षा कार्यक्रममा निर्वाचनमा पार्टीले बेहोरोको पराजय, पराजयको कारण, आगामी कार्यदिशालगायतका विषयमा छलफल भएको सहभागीहरूले जानकारी दिएका छन् ।

कार्यक्रममा पार्टीभित्र अन्तर्घात भएको, कतिपय नेताहरूले उम्मेदवारको पक्षमा मत नमागेको, सहयोग नगरेको गुनासो सुनिएको उनीहरूको भनाइ छ । कार्यक्रममा सहभागी कांग्रेस सप्तरीका सभापति रामदेव शाहले निर्वाचनबारे नेताहरूले आ–आफ्नो धारणा राखेको जानकारी दिए ।

‘चुनावमा हामीले किन हार खायौं, के कारणले यस्तो भयो, कसरी भयो, यही सन्दर्भमा कुराहरू उठेका थिए,’ उनले अनलाइनखबरसँग भने, ‘कांग्रेसले क्रियाशील सदस्यता जति पनि किन भोट पाएन । यिनै कुराहरू उठे ।’

जिल्ला सभापति शाहले चुनावी समीक्षाका क्रममा अन्तर्घात गर्नेलाई पार्टीले कराबाही गर्नुपर्ने विषय पनि उठेको बताए । ‘मैले त स्पष्ट भनेँ– चुनावमा असहयोग गर्नेमाथि कारबाही हुनैपर्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी बारा–३ का क्षेत्रीय सचिव राजेश भण्डारीले पनि पार्टीमा अनुशासनहीनताको अन्त्य हुनुपर्ने विषय उठेको जानकारी दिए । अघिल्लो निर्वाचनजसरी कारबाही नगरी अन्तर्घातीलाई छोड्न नहुनेमा अधिकांशको मत सुनिएको उनको भनाइ छ ।

‘चुनावमा असहयोग गर्नेलाई कारबाही चलाउनुपर्छ । अनुशासहिनता हुनुहुन्न तर, त्यसमा ध्यानपूर्वाक गहन विश्लेषण गरेर कारबाही बढाउँदा राम्रो । कारबाही नगरी पहिलाजस्तो छोड्नु हुन्न भन्ने कुरा उठ्यो,’ भण्डारीले भने ।

प्रतिनिधिसभा निर्वाचन एउटा कारणले मात्रै नभएर अनेक कारणले कांग्रेस पराजित भएको मधेश प्रदेशका नेताहरूको भनाइ थियो ।

‘चुनाव एउटै फ्याक्टरलेमात्रै हारिएको होइन, विभिन्न फयाक्टरहरू छन्,’ सहभागीहरूको भनाइ थियो, ‘परिवर्तनको ह्विमलाई बुझन् सकेनौं । इमान्दार नेताहरू हार्नुमा धेरै कारणहरू छन् । यति छिट्टै विश्लेषण गरेर भन्न सकिने चिजहरू छैन ।’

चुनावी समीक्षामा निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिएका नेताहरू रमेश रिजाल, अजय चौरसिया, दिनेश यादवलयागतको पनि उपस्थिति थियो । उनीहरूले सभापति थापालई पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न आग्रह गरेका थिए ।

‘सभापतिजी तपाईं अगाडि बढ्नुस्, हामी साथमा छौं भन्ने कुरा गर्नुभयो । उहाँहरूले गगन थापाको विकल्प छैन, अगाडि बढ्नुस् भन्नुभयो,’ नेता भण्डारीले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजान तपाईंको साथमा हामी छौं भन्ने उहाँहरुको तर्फबाट कुरा भयो ।’

मधेश प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा पार्टीको क्रियाशील सदस्यता पुरानै शैलीको हुन नहुने विषय पनि उठेको थियो ।

‘क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्छ । जतिले गर्छन्, त्यतिबाटै संगठन मजबुत बनाउनु पर्छ भन्ने कुराहरू पनि आएका छन्,’ सप्तरी सभापति शाहले भने ।

क्षेत्रीय सचिव भण्डारीका अनुसार चुनावी समीक्षाका क्रममा पार्टीको विशेष अधिवेशनको कुरा पनि उठेको थियो । ‘विशेष अधिवेशनमा पार्टीले लिएको नीति राम्रो थियो तर, केही ढिलो भयो,’ उनले कार्यक्रममा उठेका विषयबारे भने, ‘वेभ अगाडि बढिसकेको अवस्थामा कांग्रेसले कुराहरू जनतासामु ढिलो लग्यो । चुनाव हार्नुको एउटा कारण त्यो पनि हो ।’

मधेशपछि २७ चैतमा कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरिय चुनावी समीक्षा गरेको थियो । कार्यक्रममा सभागीहरूका अनुसरा अनुसार कार्यक्रम अवधिभर सभापति थापाको अनुहार न हँसिलो देखियो, न उत्साही नै ।

समीक्षा कार्यक्रममा प्रदेशका जिल्ला सभापति, गण्डकीका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार र केन्द्रीय पदाधिकारीहरूले भाषण गरे । थापाले सबैका भाषण ध्यानपूर्वक सुने।

फागुन २१ को चुनावअघि माघ २३ गते प्रदेश भेलामा सहभागी हुन पोखरा पुगेका गगनको ‘ल्याङ्ग्वेज’ र ‘बडी ल्याङ्ग्वेज’ विल्कुल फरक थियो ।

निर्वाचनको दयनीय नतिजापछि समीक्षामा सहभागी हुन पोखरा पुगेका सभापति थापा उत्साही नहुनु अस्वाभाविक थिएन । त्यसैमा समीक्षा कार्यक्रममा सहभागी नेताहरूले परिणामको विभिन्न ढंगले विश्लेषण गर्दा उनी प्रश्नको निसानाबाट मुक्त रहेनन् ।

केही नेता विशेष महाधिवेशनकै कारण चुनावमा कांग्रेस एकढिक्का हुन नसकेको र चुनावमा पनि त्यसले राम्रो सन्देश नगएको बताए । अधिकांशले भने जनमतलाई ‘हुरी’ को संज्ञा दिँदै चुनावमा कांग्रेस जसरी आए पनि केही सीप नलाग्ने अवस्था रहेको समीक्षा सुनाए ।

समीक्षाकै क्रममा कतिपय नेताले सभापति थापाविरुद्ध चेतावनीकै भाषा पनि प्रयोग गरे । ‘हिजो दाइहरूसँग लडेको र अब विशेष महाधिवेशनको नेतृत्वसँग पनि लड्न नपरोस्’ भन्ने आशयको उनीहरूको चेतावनी थियो ।

कांग्रेस स्याङ्जाका सभापति राजु थापाले सभापति थापालाई निवर्तमान सभापति देउवाको हकमा जे–जस्तो भए पनि अरू नेतालाई मिलाएर लैजान आग्रह गरे । पहिले आफूले अहिलेको अवस्थामा परिस्थिति र सरकार कांग्रेसको पक्षमा नरहेकाले चुनावमा जानै नहुने भनेको पनि उनले स्मरण गराए ।

कांग्रेसलाई एकढिक्का बनाउनुको विकल्प नरहेको भन्दै जिल्ला सभापति राजु थापाले त्यसमा ध्यान पुर्‍याउन आग्रह गरे । ‘हिजो दाइहरूले पेल्यो भन्नुहुन्थ्यो । अब तपाईंले सम्हालेर लैजाने बेला छ,’ उनले भने, ‘अब अर्को दाइविरुद्ध हामी उठ्नु नपरोस् ।’

जिल्ला सभापतिले विशेष महाधिवेशनका कारण न त भोट घटेको, न त बढेकै टिप्पणी गरे । ‘विशेषको कारणले भोट बढेको पनि होइन, घटेको पनि होइन । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति हाम्रो पक्षमा थिएन,’ उनले भने ।

कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले निर्वाचनमा भोग्नु परेको पराजयको कारण, आगामी कार्यदिशाका प्रतिको चाँसो र चिन्तालगायतका विषयहरू चुनावी समीक्षामा उठ्ने गरेको बताइन् ।

‘सबैले राख्ने भनेको नेपाली कांग्रेसको पराजयको कारणहरू हो । अब कसरी जाने भन्ने चाँसो र चिन्ता छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘धेरैले उठाएको कुरा, क्रियाशील सदस्यता जति छ, त्यसको अनुपातमा पार्टीको पक्षमा मत आएन भन्ने छ ।’

सहमहामन्त्री संग्रौलाले गण्डकी प्रदेशस्तरीय चुनावी समीक्षामा नेताहरूले नेतृत्वसँग पार्टीलाई एकतावद्ध बनाउन आग्रह गरेको बताइन् ।

‘नेतृत्वलाई तपाईंको साथमा छौं, अगाडि बढ्नुपर्छ, पार्टीलाई एकतावद्ध बनाउनुस् भन्नुभएको छ,’ उनले भनिन् ।

गण्डकीपछि कांग्रेसले २९ चैतमा लुम्बनी प्रदेशस्तरीय चुनावी समीक्षा आयोजना गरेको थियो । दाङको भालुवाङमा आयोजित समीक्षामा कतिपय नेताले अन्तर्घात, नियमित महाधिवेशन पक्षधरको असहयोग र नयाँ दलप्रतिको आकर्षणलाई हारको कारणका रूपमा अर्थ्याए ।

दाङको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रम ।

अर्काथरी नेताहरूले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले नियमित महाधिवेशन पक्षधरलाई मिलाउन नसक्नु र पार्टी प्रतिकूल चुनावी लहरले पराजय भोग्नु परेको बताए ।

समीक्षा कार्यक्रममा सहभागी बाँके–१ का क्षेत्रीय सभापति पोषण केसीले भने, ‘समग्रमा, रास्वपाको पक्षमा लहर आयो । नियमित पक्षलाई मिलाएर मात्रै निर्वाचनमा जानुपर्थ्यो, मिलाउने क्षमता राख्नुपर्थ्यो विशेष पक्षधरले । त्यसमा कमजोरी भयो भन्ने कुरा थियो ।’

कपिलवस्तु–१ का उम्मेदवार अहतर कमाल मुसलमानले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी चुनावमा जानु पार्टीका लागि घातक भएको बताए ।

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी चुनावमा जानु घातक थियो,’ उनले भने, ‘कार्की आयोगका प्रतिवेदन सार्वजनिक गरेर २३ को दोषी को ?, २४ को दोषी को ? दोषी पत्ता लगाएर निर्वाचनमा जानु पर्थ्यो । त्यो हुन सकेन । पार्टीको ठूलो भुल हो ।’

उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले चुनावबारे कांग्रेसका नेतालाई गुमराहमा राखेको पनि टिप्पणी गरे । ‘सुशीला कार्कीले हाम्रा नेताहरूलाई गुमराहमा राखिन् । बहुमत आउँछ भन्ने भ्रम दिलाइन्,’ नेता मुसलमानले भने, ‘त्यही भ्रममा हाम्रा नेताहरू परे ।’

दाङ–२ का उम्मेदवार किरणकिशोर घिमिरेले नियमित पक्षधरले चुनावमा सहयोग नगरेको दाबी गरे । ‘शेरबहादुर देउवासहितका नेता चुनाव प्रचारमा आएनन्, भोट पनि हालेनन् । कांग्रेसलाई सहयोग पनि गरेनन् । त्यो गलत थियो,’ उनले भने ।

समीक्षाका क्रममा कांग्रेस बर्दियाका सभापति अरूणसिंह राठौरले उम्मेदवार घिमिरेको अभिव्यक्तिको प्रतिवाद गरे ।

‘शेरबहादुर देउवाले भोट नहालेको कुरा उठिरहेको छ । जब शेरबहादुर देउवाको अनुहारै देखाउनु हुन्न, शेरबहादुरको टिकट लिएर चुनावै जान सक्दैनौं, कांग्रेस हार्छ भन्ने मान्छेले अहिले उहाँलाई गाली गर्नुको कुनै औचित्य छैन,’ उनले भने ।

जिल्ला सभापति राठौरले चुनाव अगाडि विशेष पक्षधरले निवर्तमान सभापति देउवालाई चुप लागेर बस्न भनेको जिकिर गरे । ‘शेरबहादुरलाई तिमी चुप लागेर बस भनेको होइन,’ उनले प्रश्न गरे, ‘चुप लागेर बस भनेपछि शेरबहादुर किन प्रचारमा जाने ? किन जान्छन् ?’

पाल्पा–१ बाट निवार्चित सांसद सन्दीप रानाले गर्विलो इतिहास बोकेको जिम्मेवार पार्टीका हरेक सदस्यले स्वार्थहितबाट माथि उठेर आत्ममन्थन गर्न आवश्यक रहेकोमा जोड दिए । कांग्रेस फुटेर नभइ जुटेर अघि बढनुपर्ने उनको भनाइ थियो । ‘कमजोर पार्टीको नेता बन्ने कि सबल र सक्षम पार्टीको गर्विलो कार्यकर्ता बन्ने आत्ममन्थन गर्न आवश्यक छ,’ सांसद रानाले भने ।

समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीभित्र संघीयता पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले केन्द्रीय संरचनालाई ‘संघीय’ शब्दावलीमा रूपान्तरण गर्नुपर्ने धारणा राख्दै संगठन पुनर्संरचनाको आवश्यकता औंल्याए ।

समीक्षाका क्रममा कतिपय उम्मेदवारहरूले पार्टीले समयमै टिकट नदिँदा प्रचार–प्रसारको समय अभाव देखिएको गुनासो गरे । रूपन्देही–२ का आसुतोष मिश्रले निर्वाचनमा असहयोग गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग राखे ।

समीक्षा कार्यक्रममा क्षेत्रीय सभापतिहरूलाई बोल्न दिइएको थिएन । औपचारिक रूपमा बोल्न नदिएपछि आफूले नेतृत्वलाई अनौपचारिक रूपमा आफ्ना कुरा राखेको बाँके–१ का क्षेत्रीय सभापति केसीले बताए ।

‘यस्ता वाहियात निर्वाचन समीक्षामा जानुभन्दा केन्द्रमा पार्टी मिलाउनुस् । पार्टीको समीक्षा गर्नुस् । बल्ल जरा अभियान सुरु गर्नुस् । एकापट्टीको जरामा पानी हाल्ने, अर्कोपट्टीको जरामा नहाल्ने भन्ने हुन्न,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टी मिलाउनुस्, त्यसपछि मात्रै समीक्षा गर्न आउनुस् भनेर मैले इन्फर्मल रूपमा भनेँ तर, हामीलाई बोल्न दिइएन ।’

पार्टी एक भएरमात्रै संगठन बालियो हुने नेता केसीको भनाइ छ । ‘निर्वाचनमा कसले हरायो, कहाँ हरायो भन्ने कुराको मतलव छैन । देशभर सुनामी आएको छ, जित्नेले ६० हजार ल्याएको छ, कांग्रेस उम्मेदवारले आठ हजार पाएको छ,’ उनले भने, ‘अनि के को समीक्षा हुन्छ ? के को अन्तरघातको कुरा हुन्छ ? पार्टी मिलाएर मात्रै अघि बढ्नुपर्छ ।’

क्षेत्रीय सभापति केसीका अनुसार समीक्षा कार्यक्रममा सभापति थापाले पार्टीलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

‘पार्टीलाई केन्द्रविन्दुमा राखौं । हामी व्यक्तिको कुरा होइन । नियमित अधिवेशनको पक्षमा लाग्नुभएका नेताहरू पनि पार्टीको सिनियर नेताहरू हो, उहाँहरूलाई सम्मान गर्नुपर्छ,’ थापाको भनाइ उद्धृत गर्दै केसीले भने, ‘हामी त्याग गर्न तयार छौं । एक कदम पछाडि हामी र एक कदम पछाडि उहाँहरू हटेर, पार्टीलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । मिलेर जानुपर्छ ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?