४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५ औं महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित भएको छ ।
शनिबारका लागि पूर्वनिर्धारित निर्वाचन समीक्षा कार्यक्रमलाई कांग्रेसले अनिश्चितकालका लागि स्थगित गरेको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रदेश कार्यसमितिलाई पत्र पठाएर शनिबारका लागि तय भएको कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् ।
पूर्वनिर्धारित कार्यक्रम स्थगित हुनुको कारणबारे भने पत्रमा खुलाइएको छैन । ‘पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश अर्को सूचना जारी नभएकासम्मका लागि स्थगन गरिएको’, पत्रमा उल्लेख छ ।
तर, सुदूरपश्चिम प्रदेश कार्यसमितिले कार्यक्रम आयोजनाका लागि चासो नदेखाएपछि शनिबारको चुनावी समीक्षा स्थगित भएको स्रोतको दाबी छ ।
‘हामीले कार्यक्रमबारे चासो देखाएनौं । मुख्यमन्त्रीज्यूले पनि रेस्पोन्स गर्नुभएन भन्ने छ,’ प्रदेश कार्यसमितिका एक पदाधिकारीले भने, ‘प्रदेश कार्यसमितिले नै कार्यक्रम आयोजना नगरिदिएपछि के को कार्यक्रम हुन्छ ।’
यसअघि कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा ३ वैशाखका लागि तय भएको चुनावी समीक्षा कार्यक्रम पनि स्थगित गरेको थियो ।
३० चैतमा कार्यवाहक मुख्यसचिव दुलालले कर्णाली प्रदेश कार्यसमितिलाई पत्रमार्फत् सुर्खेतको कार्यक्रम ११ वैशाखमा आयोजना गरिने जानकारी गराएका थिए ।
तर, सुदूरपश्चिमको धनगढीमा आयोजना गरिने भनिएको कार्यक्रम ‘विशेष कारणवश’ स्थगित भनिए पनि अर्को मिति तोकिएको छैन ।
सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
मधेश प्रदेशमा २४ चैत, गण्डकी प्रदेशमा २७ चैत र लुम्बिनी प्रदेशमा २९ चैतमा कांग्रेसले चुनावी समीक्षा गरेको थियोे ।
यस्तै वैशाख ३ गते कर्णालीको सुर्खेत, ५ वैशाखमा सुदूरपश्चिमको धनगढी, ७ वैशाखमा बागमतीको हेटौंडा र ९ वैशाखमा कोशीको विराटनगरमा चुनावी समीक्षा कार्यक्रम गर्ने कार्यतालिका थियो ।
सुदूरपश्चिम कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो ।
प्रतिक्रिया 4