News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा नेपालले २ खर्ब रुपैयाँभन्दा बढी निर्यात गरेको छ, जुन गत वर्षको तुलनामा १८.४६ प्रतिशत बढी हो।
- नेपालको ९ महिनाको कुल आयात १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ, जसमा पेट्रोलियम पदार्थ सबैभन्दा बढी २ खर्ब ५० अर्ब रुपैयाँ बराबर आयात भएको छ।
- नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ र आयात/निर्यात अनुपात ६.६९ रहेको छ, भारत र चीन मुख्य व्यापारिक साझेदार हुन्।
७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमासिक अवधि (साउन-चैत) भित्रै निर्यात व्यापार २ खर्बमाथि पुगेको छ । यो आँकडा गत वर्ष सोही अवधिको तुलनामा १८.४६ प्रतिशत धेरै हो ।
भन्सार विभागका अनुसार अघिल्लो आव चैतसम्म वस्तु निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । निर्यात व्यापारले गत आवमा कीर्तिमान राखेको थियो । सोही आवमा कुल निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबर भएको थियो ।
यस वर्ष वनस्पति तथा जनावरको घिउतेल निर्यात उच्च हुँदा समग्र निर्यात व्यापारले गति लिएको देखिन्छ ।
यस्ता वस्तु नेपालले समेत तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात हुने गरेको छ । ९ महिनामा १ खर्ब ५ अर्बमाथिको घिउतेल निर्यात भएको छ ।
यसबाहेक मसला, कफी, चिया १४ अर्ब ९८ करोडमाथिको भएको छ । नेपालको प्रतिस्पर्धी क्षमता कम भएको वस्तुको तुलनामा आयातमा आधारित वस्तुका कारण आएको उच्च वृद्धिका कारण वर्तमान निर्यात प्रवृत्तिको दिगोपनमा भने पर्याप्त प्रश्न छन् ।
९ महिनामा वस्तु आयात भने १४ खर्ब ९० अर्ब बराबर भएको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले धेरै हो । गत आव ९ महिनाको आयात १३ अर्ब ९ अर्ब बराबर थियो ।
यस वर्ष आयातमा सबैभन्दा अगाडि पेट्रोलियम पदार्थ छ । ९ महिनामा २ खर्ब ५० अर्ब बराबरको इन्धन आयात भइसकेको छ । यसबाहेक वनस्पति घिउतेल आयात १ खर्ब २९ अर्ब रुपैयाँ बराबर भएको छ ।

त्यस्तै मेसिनरी र मेकानिकल उपकरण तथा त्यसका पार्टपुर्जा आयातमा १ खर्ब ८ अर्ब रुपैयाँ बराबर विदेशिएको छ । फलाम र स्टिल आयातमा १ खर्ब ५ अर्ब रुपैयाँ विदेशिएको भन्सार विभागले जनाएको छ ।
यस अवधिमा इलेक्ट्रिकल मेसिनरी र त्यसका उपकरण आयातमा ९९ अर्ब ७३ करोड खर्च भएको छ । ९ महिनामा नेपालले ८३ अर्ब ७ करोड बराबरका सवारीसाधन आयात गरेको तथ्यांक छ ।
यस अवधिमा कुल वैदेशिक व्यापार आकार १७ खर्ब १३ अर्ब पुगेको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा १४.४० प्रतिशत धेरै हो । गत आव ९ महिनामा १४ खर्ब ९७ अर्ब बराबरको वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ बराबर भएको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा १३.०४ प्रतिशत बराबर हो । सोही आव चैतसम्म ११ खर्ब २१ अर्ब बराबर व्यापार घाटा थियो ।
९ महिनामा कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.९९ प्रतिशत छ । जुन गत आवको तुलनामा ०.५१ प्रतिशत कम हो । निर्यात हिस्सा १३.०१ प्रतिशत छ । यो गत आवको तुलनामा ३.५५ प्रतिशत बराबर छ । अहिले वैदेशिक व्यापार प्रवृत्ति हेर्दा आयात/निर्यात अनुपात ६.६९ छ ।
डिजेल आयातमै खर्च भयो १ खर्ब
९ महिनामा आयात भएको वस्तुको सबैभन्दा पहिलो स्थानमा डिजेल छ । जुन १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ बराबर छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य बढ्दा त्यसले नेपालमा आयात हुने इन्धन मूल्य उचालिएको छ ।
आयातको दोस्रो स्थानमा कच्चा सोयाबिन तेल छ । जुन ९६ अर्ब ७२ करोड रुपैयाँ बराबर छ । तेस्रो स्थानमा पेट्रोल छ । यस अवधिमा पेट्रोल ५० अर्ब ३९ करोड रुपैयाँ बराबरको आयात भएको छ । चौथो स्थानमा स्पन्ज आइरन छ । जुन ४२ अर्ब ६२ करोड बराबरको भित्रिएको छ ।

त्यसैगरी खाना पकाउने एलपी ग्यास आयात ४१ अर्ब ६४ करोड बराबर भएको देखिएको छ । यस अवधिमा स्मार्टफोन ३३ अर्ब ८२ करोड बराबर भित्रिएको छ । डीएपी मल २४ अर्ब ८ करोड बराबर भित्रिएको तथ्यांक छ । सुन २३ अर्ब ५० करोड बराबर आएको देखिएको छ ।
निर्यातको पहिलो स्थानमा सोयाबिन तेल
यस अवधिमा निर्यात भएका वस्तुमध्ये पहिलो स्थानमा सोयाबिन तेल छ । जुन ९० अर्ब ७१ करोड बराबर निर्यात भएको छ । दोस्रो स्थानमा अलैँची छ । जुन १० अर्ब ७० करोड बराबर निर्यात भएको छ ।
त्यसैगरी कार्पेट निर्यात ७ अर्ब ४४ करोड बराबर छ । सूर्यमुखी फूलको तेल निर्यात ६ अर्ब ९४ करोड बराबर निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
भारत र चीन मुख्य साझेदार
नेपालको वैदेशिक व्यापारका मुख्य साझेदार भारत र चीन हुन् । भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८ खर्ब ४७ अर्ब बराबर वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ १ खर्ब ८३ अर्ब ९४ करोड बराबर वस्तु निर्यात भएको छ ।
चीनबाट नेपालमा ३ खर्बको वस्तु आयात भएको छ । नेपालबाट भने चीनतर्फ १ अर्ब १९ करोडको वस्तु निर्यात भएको देखिएको छ ।
तेस्रो ठूलो व्यापारिक साझेदार मुलुक अर्जेन्टिना रहेको छ । त्यहाँबाट ९ महिनामा ८७ अर्ब ४८ करोडको वस्तु नेपाल आएको छ । अर्जेन्टिनातर्फको निर्यात भने नगन्य छ ।
चौथो स्थानमा युनाइटेड अरब इमिरेट्स (यूएई) छ । यूएईबाट नेपालमा ४६ अर्ब ८० करोडको वस्तु भित्रिएको छ । नेपालबाट यूएईमा १ अर्ब ४१ करोडको वस्तु निर्यात भएको छ ।
त्यस्तै पाँचांै स्थानमा अमेरिका छ । अमेरिकाबाट नेपालमा २३ अर्ब १९ करोडको वस्तु आयात र नेपालबाट अमेरिकातर्फ १४ अर्ब ५२ करोडको सामान निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
९ महिनाको वैदेशिक व्यापार
आयात : १४ खर्ब ९० अर्ब
निर्यात : २ खर्ब २२ अर्ब
कुल वैदेशिक व्यापार : १७ खर्ब १३ अर्ब
व्यापार घाटा : १२ खर्ब ६७ अर्ब
आयात/निर्यात अनुपात : ६.६९
आयात हिस्सा : ८६.९९ प्रतिशत
निर्यात हिस्सा : १३.०१ प्रतिशत
प्रतिक्रिया 4