News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको महालक्ष्मी नगरपालिकाले संघीय सरकारको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयको अवज्ञा गर्दै १५ वैशाखदेखि आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ।
- पाख्रिबास नगरपालिकाले ४ वैशाखदेखि विद्यार्थी भर्ना अभियान सुरु गरी १५ वैशाखदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
- संघीय सरकारले २२ चैतमा निर्णय गरेको शैक्षिक सत्र २०८३ मा १५ वैशाखदेखि भर्ना र २१ वैशाखदेखि पठनपाठन सुरु गर्ने र सातामा दुई दिन बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरिएको थियो।
८ वैशाख, धनकुटा । १५ वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र सातामा दुई दिन बिदा दिने संघीय सरकारको निर्णयको अवज्ञा गर्दै धनकुटाको महालक्ष्मी नगरपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने भएको छ ।
संघीय सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्थाले पठनपाठनको समय तालिका प्रभावित हुने भएकाले शैक्षिक सत्रलाई समायोजन गर्न नयाँ निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शैक्षिक सत्र २०८३ मा ७ वैशाखदेखि भर्ना अभियान सुरु गरेर १५ वैशाखदेखि आइतबार पनि नियमित पठनपाठन सञ्चालन गर्न सबै विद्यालयलाई अनुरोध गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले जानकारी दिए ।
हालको परिवर्तित शैक्षिक सत्र र दुई दिने सार्वजनिक विदाको निर्णयले पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न कठिन हुने भएकाले नगरपालिकाले निर्णय गरेको बताइएको छ ।
विद्यार्थीको अध्ययन अध्यापन कार्यमा अवरोध नहोस् र पाठ्यक्रमले तोकेको वार्षिक कार्यघण्टा पुगोस् भन्ने उद्देश्यले विद्यालयहरूमा नियमित कक्षा सञ्चालनका लागि पनि मिति तोकिएको नगरपालिकाले जनाएको छ ।
यस्तै धनकुटाको पाख्रिबास नगरपालिकामा विद्यार्थी भर्ना अभियान ४ वैशाखदेखि सुरु भइसकेको छ । पाख्रिबासमा १५ वैशाखदेखि नियमित रूपमा कक्षा सञ्चालन हुने भएको छ ।
नगर शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरूको संयुक्त बैठकबाट प्राप्त सुझावका आधारमा निर्णय गरिएको पाख्रिबास नगरपालिकामा प्रमुख नगर प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए ।
संघीय सरकारको निर्देशनमा २१ वैशाखदेखि मात्र कक्षा सुरु गर्ने भनिएता पनि अध्ययनको गुणस्तरमा ह्रास आउन सक्ने र पर्याप्त शैक्षिक दिन नपुग्ने देखिएकाले नगरपालिकाले अलि चाँडो कक्षा सञ्चालन गर्ने निर्णय गरेको गुरुङले बताए ।
पाख्रिबासमा भने सातामा दुइ दिननै विदा हुने भएको छ । गुरुङले निर्णयलाई पालना गर्न नगर क्षेत्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूलाई जानकारी गराइएको बताए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएपछि शैक्षिक सत्रमा केही परिवर्तन गरिएको नगरपालिकाले जनाएको छ ।
यसका कारण पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न चुनौती देखिएपछि स्थानीय तहले आवश्यक समायोजन गर्दै नयाँ कार्यतालिका तय गरेको गुरुङको भनाइ छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को गत २२ चैतमा बसेको बैठकले शैक्षिक सत्र २०८३ मा १५ वैशाखदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेर २१ वैशाखदेखि नियमित पठनपाठन सञ्चालन हुने तथा सातामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4