+
+
Shares

अनुसन्धानको खुलासा : २ घण्टा मोबाइल बन्द गर्दा मस्तिष्कमा आउँछ यस्तो परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ड्युक विश्वविद्यालयका शोधकर्ताले दैनिक दुई घण्टा डिजिटल डिभाइस बन्द गरेर शान्तिपूर्वक बस्दा दिमागको हिप्पोक्याम्पसमा नयाँ मस्तिष्क कोशिका बन्ने खुलासा गरेका छन्।

मोबाइल फोन, कम्प्युटर तथा टिभीजस्ता डिजिटल डिभाइसमा झुण्डिरहने आम जीवनशैलीले मानिसमा तनाव र मानसिक अशान्ति जस्ता समस्या बढाउँदै गएको छ । आजको व्यस्त र दौडधुपपूर्ण जीवनमा हाम्रो दिमाग यस्तै डिभाइस तथा आसपासको होहल्लाले भरिएको हुन्छ । यस्तो अवस्थाबाट छुटकारा पाउन चाहनुहुन्छ ? वैज्ञानिकहरूले एउटा अत्यन्त सरल तथा निशुल्क उपाय सुझाएका छन् ।

अमेरिकाको ड्युक युनिभर्सिटीका शोधकर्ताले गरेको अध्ययन अनुसार हामीले दुई घण्टा मात्रै पनि डिभाइस बन्द गरेर शान्तिपूर्वक बस्न सकेमा त्यसले हाम्रो दिमागलाई बलियो र स्वस्थ बनाउँछ।

शोधकर्ताका अनुसार यसरी २ घण्टाभन्दा लामो समय डिजिटल डिभाइस नचलाउँदा प्राप्त हुने शान्तिको अनुभूतिले हाम्रो मस्तिष्कको हिप्पोक्याम्पस भन्ने भागमा नयाँ मस्तिष्क कोषिकाको निर्माण हुन मद्दत गर्दछ ।

यस प्रक्रियालाई न्यूरोजेनेसिस भनिन्छ । यसले स्मरणशक्तिमा सुधार गर्नुका साथै मनमा आउने भावनाहरूलाई पनि सन्तुलित राख्छ ।

शान्ति वास्तवमा दिमागको प्राकृतिक रिसेट बटन जस्तै हो । यसले मस्तिष्क कोषिकामा भएको क्षति मर्मत गर्न सहयोग पुर्‍याउँछ ।

न्यूरोसाइन्सका विज्ञहरूका अनुसार पूर्ण शान्तिले दिमागका कोषिकाहरूलाई पुनर्जीवित गर्छ । यस्तो शान्त तथा डिजिटल डिभाइसमुक्त वातावरणले दिमागलाई बलियो बनाउँछ । जसका कारण स्मरणशक्ति बढ्छ र दैनिक भावनाहरू सन्तुलित रहन्छन् । लगातार डिजिटल सूचना र आवाजका कारण हाम्रो स्नायु प्रणाली थाक्छ । किनकि यसो गर्दा दिमागले निरन्तर संवेदनात्मक सूचना प्रशोधन गरिरहनुपर्छ । तर जब हामी शान्ति प्राप्त गर्छौँ तब दिमागले आराम पाउँछ ।

शान्त अवस्थामा शरीरको ऊर्जा दिमागको हिप्पोक्याम्पस भागतर्फ केन्द्रित हुन्छ, जहाँ नयाँ ब्रेन सेल्स बन्छन् । डिजिटल डिटक्स अर्थात् डिजिटल डिभाइस मुक्त र होहल्लामुक्त वातावरणले ती नयाँ कोषिकाहरूलाई पोषण दिन्छ । फलस्वरुप कोषिकाहरू जीवित रहन्छन् र पुराना स्नायु सञ्जालसँग जोडिन्छन् ।

अध्ययनको निष्कर्षले के भन्छ ?

ड्यूक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले देखाएको छ– दैनिक करिब दुई घण्टा पूर्ण शान्त वातावरणमा बस्दा दिमागमा गहन परिवर्तन आउँछ । यस्तो बेला मस्तिष्कले आफ्नो ऊर्जा हिप्पोक्याम्पस भागमा केन्द्रित गर्छ र नयाँ मस्तिष्क कोशिकाहरू तीव्र रूपमा बन्न थाल्छन्।

अत्यधिक आवाजका कारण यी नयाँ कोशिकाहरू नष्ट हुन सक्छन् । तर शान्त वातावरणमा चाहिँ तिनीहरू सुरक्षित रहन्छन् र दिमागको स्थायी हिस्सा बन्छन् । यही प्रक्रियालाई न्यूरोजेनेसिस भनिन्छ । यसले दीर्घकालीन स्मरणशक्ति मजबुत बनाउँछ र भावनात्मक सन्तुलन कायम राख्छ ।

जब हामी निरन्तर पृष्ठभूमि संगीत वा आवाज सुन्छौँ त्यसबेला दिमागले केवल अस्थायी उत्तेजना मात्र पाउँछ र कुनै दीर्घकालीन फाइदा हुँदैन । तर शान्तिले नयाँ कोषिकाहरूलाई जोगाएर स्थायी रूपमा दिमागसँग जोड्छ । यसले कोषिकामा हुने क्षति मर्मत गर्छ र सोच्ने र बुझ्ने शक्तिमा सुधार ल्याउँछ ।

त्यसैले दिमाग मर्मत गर्ने गरी शान्ति प्राप्त गर्नका लागि दैनिक कम्तीमा दुई घण्टा मोबाइल, टिभी र कम्प्युटर सबै बन्द गर्नुहोस् र केही पनि नचलाउनुहोस् । अनि शान्त तथा आवाजविहीन कोठामा एक्लै बस्नुहोस् । सुरुवातमा यो गाह्रो लाग्न सक्छ तर विस्तारै तपाइँको मस्तिष्क शान्त वातावरणमा अभ्यस्त हुनेछ । यसले तपाइँको मस्तिष्कको पुनःनिर्माण गर्छ, स्मरणशक्ति बढाउँछ र दैनिक तनाव पनि कम गर्नेछ ।

वैज्ञानिकहरूका अनुसार हाम्रो लागि शान्ति केवल आराम मात्र होइन यो दिमागको जैविक मर्मत प्रक्रिया हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?