+
+
Shares

सहकारीको बन्द कोठाभित्र कर्मचारी गम्भीर बिरामी अवस्थामा फेला, ढोका फुटाएर उद्धार

भेटियो 'अलबिदा' लेखिएको कागज 

घटनापछि फेला परेको नोटमा उनले ७ जनाको नाम लेखेर आफूविरुद्ध भएको दुर्व्यवहारबारे उल्लेख गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १२:५८
हेटौँडा बचत तथा ऋण सहकारी संस्थाको भवन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा बचत सहकारी संस्थाकी कायममुकायम व्यवस्थापकले कार्यालयमै विषादी सेवन गरेको घटना बाहिरिएको छ ।
  • पीडित परिवारले सहकारीका सात पदाधिकारीविरुद्ध दुर्व्यवहारको उजुरी दर्ता गराएका छन् ।
  • सहकारीमा पदाधिकारीबीच विवाद र एटीएम मेसिन खरिदमा घोटालाको आरोपले तनाव रहेको स्रोत बताउँछ ।

१३ वैशाख, हेटौंडा । मकवानपुरकै ठूलो सहकारीमध्येको एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेकी छन् । उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

सुरुमा हेटौँडा अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा लगिएको थियो । यो घटना शुक्रबार मध्याह्न करिब १२ बजेको हो ।

ती कर्मचारी व्यवस्थापकीय जिम्मेवारीमा थिइन् । परिवारका सदस्यहरुले उनलाई सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले मानसिक तनाव दिएकाले आत्महत्या प्रयास गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा उजुरी  दिएका छन् । सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीविरुद्ध उजुरी परेको हो । उजुरी दर्ता नम्बर ७३६६ हो ।

प्रहरीले पीडकहरूलाई नियन्त्रणमा लिएर सोधपुछसमेत नगरेको भन्दै पीडित परिवारले गुनासो गरेको छ । पीडितका भाइले आरोपितहरूलाई राजनीतिक संरक्षण रहेकाले प्रहरीले कारबाही प्रक्रियासमेत अगाडि नबढाएको आरोप लगाए ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले पीडित उपचार गरेर फर्किएपछि दुवै पक्षलाई राखेर छलफल गरिने अनलाइनखबरलाई जानकारी दिए ।

घटनास्थलमा भेटियो ‘अलबिदा’ लेखिएको कागज 

कर्मचारीमाथि कार्यस्थलमा भएको दुर्व्यवहारका कारण उनले विषादी सेवन गर्न बाध्य भएको परिवारका एक सदस्यले जिकिर गरेका छन् । आरोपित ७ जनाले ती कर्मचारीमाथि पटक–पटक गालीगलौज गर्ने, गैरकानुनी काम गर्न दबाब दिने, चरित्र हत्या गर्ने तथा धम्की दिनेजस्ता व्यवहार गरेको उजुरीमा उल्लेख छ ।

पीडितले विष सेवन गर्नुअघि ‘अलबिदा’ लेखेको करिब ७–८ पेजको सुसाइड नोटसमेत फेला परेको उनका भाइले बताए । ‘दिदीले विष सेवन गर्नुअघि भिनाजुलाई खबर गरिदिन भनेर भन्नुभएको रहेछ । पछि ढोका फुटाएर दिदीलाई कार्यालयबाटै उद्धार गरी अस्पताल लगिएको हो, चितवन आएर उपचार गरिरहेका छौँ,’ उनले भने ।

घटनापछि फेला परेको नोटमा उनले ७ जनाको नाम लेखेर आफूविरुद्ध भएको दुर्व्यवहारबारे उल्लेख गरेकी छन् ।

सहकारीका अध्यक्ष राजु वाइबा

सहकारीका अध्यक्ष राजु वाइबाले ती कर्मचारीलाई तीनवटा जिम्मेवारी रहेकाले प्रशासन विभागको जिम्मेवारी छाड्न भनेको र सोही विषयमा उनी असन्तुष्ट बनेको बताए । उनका अनुसार पीडित कर्मचारीलाई कामु व्यवस्थापकसँगै ऋण विभाग र प्रशासन विभागको जिम्मेवारी छ । कार्यसमिति बैठकले नै सुशील सुवेदीलाई प्रशासन प्रमुख बनाउने निर्णय गरेकाले सफ्टवेयरको एडमिन उनलाई बनाउन खोजिएको वाइबाले बताए ।

ती कर्मचारीले आरोप लगाएजस्तो कुनै गतिविधि नगरेको वाइबाले दाबी गरे । उजुरीमा अन्य व्यक्तिको नाम मुछिनु आधारहीन भएको उनको दाबी छ ।

जिल्लाकै ठूलो सहकारीमा विवाद

हेटौँडा बचत सहकारीमा ७ हजार १ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । पुस २०८२ सम्म सहकारीले ७३ करोड ४८ लाख ६५ हजार ५४४ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ ।

सहकारीले आर्थिक वर्ष २०८१/८२ मा ५५ करोड ६४ लाख २६ हजार ५८० रुपैयाँ कर्जा लगानी गरेको थियो । ५ करोड २ लाख २९ हजार २०० सेयर पुँजी रहेको सहकारीमा ५९ करोड १६ लाख ५६ हजार ६१८ रुपैयाँ बचत निक्षेप रहेको सहकारीको २६औँ साधारणसभामा पेस भएको आर्थिक विवरणमा उल्लेख छ । संस्थाको जगेडा कोषमा भने ४ करोड ११ लाख ७७ हजार ४२७ रुपैयाँ रहेको छ ।

जिल्लामै ठूलो कारोबार भएको यो सहकारीमा विगत २ वर्षदेखि पदाधिकारीबीच विवाद उत्पन्न भएको थियो । सहकारीले करिब पाँच वर्षअघि एटीएम मेसिन खरिद गर्दा घोटाला भएको आरोप लागेको र त्यसपछि विवाद चर्किँदै यो घटनासम्म आइपुगेको एक सेयर सदस्यले अनलाइनखबरलाई बताए । एटीएम मेसिन संस्थामै थन्किएर बसेको छ ।

पीडितका भाइले अनलाइनखबरलाई बताएअनुसार त्यतिबेलाको हिसाब मिलाउने उद्देश्य राखेर संस्थाका वर्तमान अध्यक्ष राजु वाइबाले शुक्रबार घटनाअघि सहकारीको सफ्टवेयरमा पहुँच मागेका थिए । भाइका अनुसार, उनले कार्यसमितिको नीतिगत निर्णय गरेर मात्रै हिसाब हेरफेर गर्नुपर्ने विषयमा अडान लिएर सफ्टवेयरको पासवर्ड दिन मानेकी थिइनन् । अध्यक्ष वाइबा संस्थाको निवर्तमान सहायक व्यवस्थापक थिए । उनले १ भदौ २०८२ मा राजीनामा दिएका थिए ।

वाइबा १५ चैत २०८२ मा भएको निर्वाचनबाट सहकारीको अध्यक्ष चुनिएका थिए । उनले सहकारीको व्यवस्थापकबाट राजीनामा दिएर अध्यक्षमा चुनाव लडेका रामशरण गौतमलाई पराजित गरेका थिए । गत २६ पुसमा संस्थाको २६औँ साधारणसभा भएको थियो । त्यो सभाबाट सर्वसम्मत कार्यसमिति चयन हुन नसकेपछि चैतमा निर्वाचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?