News Summary
Generated by OK AI. Editorially reviewed.- पप गायक राजु लामाले हार्वर्ड विश्वविद्यालयमा आयोजित नेपाल डिस्कोर्स कार्यक्रममा कला, संस्कृति र मानव प्रगतिबारे अनुभव साझा गर्नुभएको छ।
- लामाले हार्वर्डजस्तो प्रतिष्ठित संस्थामा बोल्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।
- उनले न्यूयोर्कमा हुने सांगीतिक कार्यक्रममा टिकट आम्दानीको २० प्रतिशत हिस्सा वृक्षरोपण र हिमाली भेगका बालबालिकाको शिक्षामा खर्च गरिने बताउनुभएको छ।
न्युयोर्क । लोकप्रिय पप गायक राजु लामा अहिले सांगीतिक भ्रमणका क्रममा अमेरिकामा छन् । यसैबीच उनले ‘हार्वर्ड युनिभर्सिटी’ मा आयोजित ‘नेपाल डिस्कोर्स’ कार्यक्रममा सहभागिता जनाएका छन् ।
हार्वर्ड विश्वविद्यालय र त्यहाँ अध्ययनरत नेपाली तथा एमआईटीका विद्यार्थीको संयुक्त आयोजनामा भएको कार्यक्रममा लामाले कला, संस्कृति र बदलिँदो विश्वमा मानव प्रगतिबारे आफ्ना अनुभव साझा गरेका थिए । उनले यस अवसरलाई आफ्नो लागि विशेष र स्मरणीय भएको बताएका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले लेखेका छन्, ‘हार्वर्डजस्तो प्रतिष्ठित संस्थामा बोल्न पाउनु आफ्नो लागि ठूलो सम्मान हो ।’ उनले आफ्नो यात्रा गाउँको पहाडबाट सुरु भएर सहर हुँदै संगीतप्रतिको रुचि पत्ता लगाएको, त्यसै यात्राले उनलाई सगरमाथाको शिखरसम्म पुर्याएको र अन्ततः हार्वर्डसम्म ल्याएको उल्लेख गरेका छन् ।
उनले यस यात्रालाई अविस्मरणीय भन्दै आफूले पाएको अवसरप्रति आभार व्यक्त गरेका छन् ।
अमेरिकामै रहेका लामाले न्यूयोर्कमा हुने आफ्नो आगामी सांगीतिक कार्यक्रमबारे पनि जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रमको टिकटबाट उठ्ने आम्दानीको २० प्रतिशत हिस्सा राजु लामा फाउन्डेसनमार्फत वृक्षरोपण अभियान तथा हिमाली भेगका बालबालिकाको शिक्षामा खर्च गरिनेछ ।
लामाले दर्शक तथा श्रोतालाई कार्यक्रममा सहभागी भई संगीतसँगै सामाजिक अभियानमा साथ दिन आह्वान गरेका छन् ।
प्रतिक्रिया 4