+
+
Shares

हरे राम हरे कृष्ण : भजनकीर्तनमा मदमग्न एमआरआर

शिव मुखिया शिव मुखिया
२०८३ वैशाख १४ गते ९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमआरआर नामक फेसबुक समूहबाट सुरु भएको युवाहरूको भजन किर्तन अभियानले काठमाडौंदेखि विदेशसम्म फैलिएको छ।
  • एमआरआर भजन मण्डलीले नियमित रूपमा निःशुल्क भजन कार्यक्रम आयोजना गर्दै भक्तिभाव जगाएको छ।
  • युवाहरूले आधुनिक प्रविधि र सांगीतिक शैलीमा भजन गाएर सामाजिक र आत्मिक जागरणमा योगदान दिएका छन्।

बिहान ब्रह्म मुहूर्तमा बा–हजुरबाले ‘ॐ जय जगदीश हरे’ गाउँदा झर्को मानेर सिरकभित्र गुटुमुटु पर्ने पुस्ता थिए ती । घण्टी र शंखको ध्वनि अनि भजनको अलापमा यिनीहरू न जागृत हुन्थे, न मुग्ध । बरु क्यासेट प्लेयरमा ‘हो जा रंगीला रे’ घन्काएर शरीरका अवयवहरू जर्‍याकजुरुक पार्दै आफ्नो दैनिकी सुरु गर्थे । प्रातकालीन आरतीमा यिनीहरूले थाली घुमाएनन्, पूजाआजा गरेनन्, टीका–प्रसाद ग्रहण गरेनन् ।

अन्ततः भक्ति भजनसँगै सुरु हुने घरको चालामाला फेरियो । सबेरै पूजापाठ गर्ने र साँझ सत्संग गर्ने अनादि क्रम भंग भयो ।

तर, यतिबेला मिलेनियल्स र जेनजी मिश्रित यही ठिमाह पुस्ता हठात एक सय असी डिग्रीमा बदलिए । यिनीहरूले खैजडी जुटाए, ढोलक उठाए, झ्याली पिटे । अनि भक्तिभावले मुग्ध भएर भजन किर्तन गाउन थाले ।

आधुनिकताको रंग फेरिसकेका, प्रविधिको रफ्तार समातिसकेका, विज्ञानको कसिमा चढिसकेका यी पुस्ता कुन मनोभावले भजन किर्तन गरिरहेका छन् ? यो सुखद रहस्यको कुरा हो । रहस्यको पोकोपन्तुरो खोल्न चाहिँ एमआरआर भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।

….

एमआरआर अर्थात मेन्स रुम रिलोडेड ।

१५ वर्षअघि कुनै युवाले रहरै–रहरमा एउटा फेसबुक पेज बनाउँछ, एमआरआर । युवाहरूको आफ्नै पेवा समूह, जहाँ उनीहरू भर्चुअल चियागफ गर्न सकोस् ।

१८ वर्ष माथिका, जुँगाको रेखी बसिसकेका वैशालु युवाहरूले यस पेजमा स्वागत पाउँछन् । उनीहरू मन खोलेर त्यहाँ ‘ननभेज’ कुरा गर्दै आफ्नो असली रूप देखाउन सक्छन् । जे पनि भन्न सक्छन्, मनमा लागेका कुरा ।

हल्काफुल्का गफ, सामान्य समस्याहरू र तामासिक जोक्सहरू गर्दै सुरु भएको यो पेज समयक्रममा आफैंमा एक अलग सत्ता बन्छ । करिब करिब उस्तै छिमलका विश्वभरका युवाहरूलाई यसले आफ्नो प्रभाव र प्रवाहमा डोहोर्‍याउँछ ।

सामाजिक सञ्जालमा युवा आवाजलाई एकढिक्का बनाउने सामर्थ्य यही ग्रुपले जुटाउँछ । यसले कहिले खबरदारी गर्छ त कहिले साझेदारी गर्छ ।

उनीहरू ‘स्वर्ण उमेर’लाई मनमौजी खर्चने होइन बरु, सामाजिक दायित्वका लागि आफ्ना योगदान खोज्न थाल्छन् । अन्ततः बनभोज, भेला, छलफलमा समेटिएको यो समूह कहिले वृक्षरोपण गर्न एकबद्ध हुन्छन्, कहिले सरसफाइ । कहिले उद्धार कार्यमा एकजुट हुन्छन् त कहिले स्वयमसेवामा ।

अन्ततः भौतिक योगदानसँग यो छिमल आत्मिक जागरणमा सरिक हुन्छन् । सामूहिक भजन–किर्तनको थालनी त्यसैको एक सिलसिला हो ।

टिकटक, रिल्स र इन्स्टातिर बरालिने युवालाई यसले भजन मण्डलीमा एकत्रित गरिदिएको छ । त्यसैले त ठाउँ–ठाउँमा युवाहरू भेला हुँदै पूर्ण भक्तिभावले भजन किर्तन गाइरहेका छन् ।

जुन पुस्ताबाट ‘धर्म–परम्परा’को मोहभंग भयो, त्यही पुस्ताले फेरि भजनमा भाका हाल्दै स्वतःस्फूर्त टोल–टोलमा भेला हुँदा समाज हेरेको हेर्‍यै छ । आखिर के हुँदैछ ?

………….

सूर्यास्तको घडी । मधुरो घामको लालीले धर्ती छाड्ने बेला । कुनै मन्दिर परिसरको सात्विक मौसम । जिन्स र टिसर्टमा ठाँटिएका तन्नेरीहरू आमने–सामने बसेका छन् पलेँटी कसेर । शिरमा ढाका टोपी, गलामा रुद्राक्ष र रामनामी धारण गरेर ।

खैजडी, ढोलक र झ्यालीको तालसँगै युवाहरू एकसुरमा गाउन थाल्छन्, ‘लीला हुन लाग्यो.. हा. राम तिम्रो मन्दिरमा ।’ कोही सुस्त सुस्त अर्धगोलाकार घुम्दै घाँटु नाचे जसरी शरीरलाई लयबद्ध गर्छन्, कोही स्वरमा स्वर घुमाएर भजन गाउँछन् । माहोल यस्तो मादक बन्छ, मानौं ती कुनै हिप्पी युगका मदमग्न तन्नेरीहरू हुन् जो ‘हरे राम हरे कृष्ण’ गाइरहेका छन् । गिटारको धुनमा ।

‘भर्खर भर्खर चल्न थाल्यो,
जीवन आधा आधा
वृन्दावनमा भेट भयो
कृष्णसँग राधा
धर्म आधा आधा
हुन्छ कि हुँदैन हे राधा ..
अहै……’

सन्ध्याकालीन भजनको यो लहर र स्वर क्रमशः बढ्दै जान्छ । युवाहरूको समूह थपिँदै जान्छ । हेर्दा–हेर्दै यो खहरे–खोला नदीको प्रवाहमा मिसिए जसरी एउटा विशाल लहर बन्छ । अन्ततः पोखराको कुनै मन्दिर परिसरको परिधि नाघेर यो काठमाडौं, चितवन, बुटवल, भैरहवा, हेटौंडातिर झांगिन थाल्छ । अनि यसको झंकार दुबई, कतार, मलेसिया हुँदै जापान, फिनल्यान्डतिर फैलन्छ । ‘एमआरआर भजन मण्डली’सहितको ब्यानर समातेर उनीहरू सगर्व स्टाटस लेख्छन्, ‘एमआरआर भजन अब फलानो ठाउँमा पनि ।’

भक्ति, संगीत र आराधनाको यो युवा–पुञ्ज आफैंमा एक अभियान बन्छ । ‘एमआरआर भजन’ शीर्षकसहित विभिन्न मिति, विभिन्न स्थान र विभिन्न समयमा नियमितजसो भजन किर्तनको सिलसिला सुरु हुन्छ ।

…..

करिब वर्षदिन अघिको कुरा हो । एमआरआर ग्रपमा पोखराबाट एकजना सदस्यले प्रस्ताव राखे, ‘पोखरातिर बसेर, बाजा बजाउने र भजन गर्नेहरु कोही हुनुहुन्छ भने गरौं है ।’

यो काइदाको जुक्ति थियो । त्यसपछि केही युवा भेला भए । सहर मादक साँझमा झुल्दै गर्दा उनीहरू भने कुनै मन्दिर परिसरमा ‘हरे राम हरे कृष्ण’मा भाका हालिरहेका थिए ।

यही बिन्दुबाट सुरु भएको भजन किर्तनमा क्रमशः युवाहरू जोडिँदै गए । पोखरालाई इपिसेन्टर बनाएर फैलिएको भजनको झंकार काठमाडौंमा आइपुग्यो । ‘सुरु सुरुमा सीमित ठाउँमा भजन किर्तन गरिरहेका थियौं’ एमआरआर ग्रुपका संस्थापक सन्तोषकुमार थापा  भन्छन्, ‘पछि विस्तारै बुटवल, हेटौंडालगायतमा रहेका एमआरआरका साथीहरूले सुरु गरे । अहिले त नेपाल मात्र होइन, विदेशमा समेत सुरु भइसकेको छ ।’

यसको क्रेज कतिसम्म बढ्दै गएको छ भने, साप्ताहिक भजन अब ठूलै उत्सव बनेको छ । जहाँ जहाँ युवाहरू भजन गाउन बस्छन्, त्यहाँ त्यहाँ स्थानीयको सात्विक भीड लाग्ने गरेको छ । उनीहरू उमंगले सहभागी हुँदै, भक्तिभावले भजन किर्तनमा नाच्ने गाउने गरिरहेका छन् ।

‘अहिले त कतिपय मठ मन्दिरमा हामीलाई निमन्त्रणा नै गर्न थालिएको छ’ सन्तोष सुनाउँछन्, ‘खुसीको कुरा चाहिँ नयाँ वर्षको पूर्वसन्ध्यामा हामीलाई पशुपतिनाथबाट भजनका लागि निम्तो आयो ।’

तन्नेरीहरू एकढिक्का भएर एकदमै उल्लासपूर्ण माहोलमा भजन किर्तन गर्न थालेपछि कतिले ‘कति पैसा लाग्छ, हामीकहाँ पनि भजन आयोजना गर्नुपर्‍यो’ भन्न थालेका छन् । ‘तर हामी पैसा लिएर भजन किर्तन गरिरहेका छैनौं’ सन्तोष भन्छन्, ‘यो एकदमै निःशुल्क हो । यसमा हामी करकाप पनि गर्दैनौं, स्वतःस्फूर्त जुट्ने हो ।’

‘फलानो ठाउँमा, फलानो मितिमा भजन हुँदै’ । बस्, फेसबुकमा सार्वजनिक गरिने यही सूचनाको भरमा युवाहरू आज्ञाकारी भएर तोकिएको ठाउँमा, तोकिएको समयमा हाजिर हुन्छन् । र, एकदमै भक्ति–उल्लासले भजन किर्तनमा सरिक हुन्छन् ।

कुनै विशेष अवसरमा वा फुर्सदको क्षणमा मात्र होइन, बरु फुर्सद निकालेर नियमित रूपमा उनीहरू यसरी भजन किर्तनमा सहभागी हुन थालेका छन् । काठमाडौंलगायत क्षेत्रमा साप्ताहिक रूपमै भजन आयोजना हुँदैछ ।

डिस्को थेक, मदिरालयमा पसेर बेपर्वाह उटपट्याङ गर्ने युवा लहर सौम्य र शान्त माहोलमा मिसिएर, भक्तिभावले पग्लिएर, आत्मिक चेतनाले जागृत भएर सन्ध्याकालीन भजन–किर्तनमा मग्न हुँदैछन् । सन्तोष भन्छन्, ‘यो एउटा जागरणको लहर हो । हाम्रा पूर्वजहरूले हामीलाई दिएको एउटा उपहार हो । यसले युवा जमातलाई आत्मिक शुद्धिकरणमा डोहोर्‍याउँछ भन्ने हाम्रो अपेक्षा छ ।’

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?