+
+
Shares

वर्षाले कमला पुलको अस्थायी बाँधमा क्षति, समस्याको दीर्घकालीन समाधान खोज्दै प्रशासन

पुन: बाँध भत्किने सम्भावना रहेकाले समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

सुरेश राय सुरेश राय
२०८३ वैशाख १४ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा र धनुषा जोड्ने कमला नदी पुल नजिकको अस्थायी बाँध बाढीले भत्किँदा आवतजावत प्रभावित भएको छ।
  • स्थानीय सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बाँध पुनर्निर्माण गरिएको र दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको बताए।
  • कमला नदी पुल निर्माण २०६८ सालदेखि सुरु भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन।

१४ वैशाख, सिरहा । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला नदी पुल नजिकको अस्थायी बाँध भत्किँदा आवतजावत प्रभावित भएको छ । पुलको डाइभर्सनदेखि करिब ३०० मिटर अगाडि माटोको अस्थायी बाँध बाढीले बगाएपछि आवतजावत प्रभावित भएको हो ।

स्थानीय रामचन्द्र यादवका अनुसार, बाँध भत्किएपछि सयौं सवारीसाधन बीचमै फसेका थिए । तिनलाई स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वर्षा र बाढीका कारण पुल नजिकको अस्थायी संरचना क्षतिग्रस्त भएको बताए । उनले तत्कालै निर्माण व्यवसायीले डोजर प्रयोग गरी माटो हालेर बाँध पुनर्निर्माण गरेको जानकारी दिए ।

पुन: बाँध भत्किने सम्भावना रहेकाले समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उनले बताए । ‘दीर्घकालीन समाधानको उपाय खोज्न सिरहाका तीन वटै  क्षेत्रका प्रतिनिधिसभा सदस्य लगायतसँग जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको छ ।

बैठकबाट निकास निस्किएपछि मात्र केही भन्न सकिन्छ,’ उनले भने । बैठकमा सिरहा क्षेत्र नम्बर १ का बब्लु गुप्ता, सिरहा–२ का शिव कुमार यादव, सिरहा–३ का डा. शम्भु कुमार यादव सहभागी थिए ।

करिब १४ वर्षअघि ठेक्का सम्झौता भएको कमला नदी पुल निर्माण अझै सम्पन्न हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणका लागि २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०७१ मंसिरमा सम्पन्न हुनुपर्ने पुल हालसम्म पनि पूरा हुन नसक्दा सात पटक म्याद थप भइसकेको छ ।

निर्माणको क्रममै रहेका बेला २०७८ असार १७ मा आएको बाढीले पुलका दुईवटा जग भासिएर चार वटा स्ल्याबमा क्षति पुगेको थियो । तीमध्ये सिराहातर्फका दुई स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ ।

हाल ठेक्काको म्याद पुन: थप गर्ने प्रक्रिया अघि बढाइएको छ । बाँकी काम लुम्बिनी कम्पनीले गरिरहेको छ । पुल निर्माणको क्रममा हालसम्म २० करोड ४३ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?