+
+
Shares

मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं

१६ गते बुधबार नै कोशी र मधेश प्रदेशका एक–दुई ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ । यसले विपत् निम्त्याउन सक्ने भएकोले सतर्क गराइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसमविदहरुले वैशाख १५ र १६ गते मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त सडकमा रातिको समयमा यात्रा नगर्न सुझाव दिएका छन्।
  • वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा वर्षा र हिउँ पर्ने सम्भावना छ।
  • जल तथा मौसम विज्ञान विभागले सबै सातवटै प्रदेशका जिल्लालाई पहेँलो संकेत गर्दै सतर्क रहन र मौसमको जानकारी लिएर मात्र काम गर्न आग्रह गरेको छ।

१५ वैशाख, काठमाडौं । मौसमविदहरुले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न सुझाव दिएका छन् ।

मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । वैशाख १५ गतेको तुलनामा १६ गते बढी वर्षा हुने सम्भावना छ ।

काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षाको सम्भावना छ ।

मौसमविद उज्वल उपाध्यायका अनुसार अहिलेको प्रणालीको प्रभावले काठमाडौं उपत्यका र आसपासका भूभागका साथै पूर्वी क्षेत्रको प्राय: सबै (मेचीसम्मको) भू–भागमा वर्षा गराउने छ । भोलि बुधबार र पर्सि विहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालिगण्डकीसम्म बेला–बेलामा वर्षा भैरहने देखिन्छ ।

वर्षाका साना खोला खोल्सीहरुमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र बाटो अवरुद्ध हुनसक्ने सम्भावना छ ।

त्यसैले मौसमविद उपाध्यायको सुझाव छ, ‘त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्गसँगै सिद्धार्थ, पासाङल्हामु, बीपी राजमार्गहरुमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा सकेसम्म यात्रा नगरौं ।’

प्रणाली कति शक्तिशाली ?

मौसमविदहरुका अनुसार नेपालको पूर्वी भूभाग (भारतको उत्तराञ्चलतिर) र नेपालको पश्चिम भूभाग (हिमाञ्चल प्रदेशतिर) प्रिमनसुन प्रणाली थिए ।

केही दिन नेपालमा गर्मी बढेपछि ती दुवै सिस्टम नेपालतिर प्रवेश गरेर एकापसमा मिसिएका छन् । ‘ती दुईवटा सिस्टम अलग–अलग हेर्दा खासै ठूला होइनन् तर आपसमा मिसिए अनि नेपालमै लोकल लेभलको सिस्टम पनि थपिँदा कुनै-कुनै ठाउँमा ठूलो वर्षाको सम्भावना र जोखिम बढेको हो,’ मौसमविद उपाध्यायले भने ।

उनका अनुसार मेचीदेखि कर्णालीको बीचमा एक–दुई ठाउँमा एक–दुई घण्टासम्म एकदमै ठूलो पानी पर्ने सम्भावना समेत छ । सो वर्षाको कारण पानीको राम्रो निकास नभएका ठाउँमा डुबान पनि हुनसक्ने उनले बताए ।

कहाँकहाँ छ जोखिम ?

जल तथा मौसम विज्ञान विभागले वैशाख १५ गतेका लागि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्ला तथा वैशाख १६ गतेका लागि सबै सातवटै प्रदेशका जिल्लाहरुलाई पहेँलो रंगले संकेत गर्दै मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आफ्नो काम गर्न सतर्क गराएको छ ।

विभागका मौसमविद सरोज पुडासैनीले वैशाख १५ र १६ गते दुई दिनसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । हिमाली भेगमा पनि मध्यम खालको हिउँ वा पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

उनले भने, ‘वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका बासिन्दाले मौसमबारे पछिल्लो जानकारी लिएर मात्रै काम गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी वा हिउँ पर्ने सम्भावना छ ।

वैशाख १६ गते बुधबारको दिन पनि वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरुमा पनि पानी वा हिउँ पर्ने सम्भावना छ ।

१६ गते बुधबार नै कोशी र मधेश प्रदेशका एक–दुई ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?