+
+
Shares

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा, विशेष कार्यक्रम गरी मनाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व पर्वतारोहण इतिहासका दुई महत्त्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको छ।
  • नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
  • नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएका छन्।

१६ वैशाख, काठमाडौं । विश्व पर्वतारोहण इतिहासका दुई महत्त्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको छ । यस अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यी कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण गराउनुका साथै नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न मद्दत पुग्नेछ ।

नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् विविध कार्यक्रम गरिने जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा स्वीस दूतावासका म्याक्सिमिलियन रिट्जम्यान तथा जापान दूतावासका पुरब कायस्थसहित कूटनीतिक प्रतिनिधिको उपस्थिति रहेको थियो । सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो ।

मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्वीस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा तीनवटा प्रतिमा निर्माण गरी अनावरण गरिने तयारी गरिएको छ ।

नेपाल पर्वतारोहण संघका दोस्रो उपाध्यक्ष बोधराज भण्डारीले प्लाटिनम् जुबिलीका अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी गराए । ‘यो केवल उत्सव मात्र होइन, पर्वतारोहण इतिहास निर्माण गर्ने व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको योगदानलाई पनि विशेष रूपमा सम्मान गरिनेछ ।’

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यो कार्यक्रम पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । ‘हामीले यसलाई केवल स्मरणमा सीमित राखेका छैनौं, यो नेपाललाई विश्व पर्यटन बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने रणनीतिक पहल हो,’ उनले भने, ‘मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित भएर संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ ।’

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको ऐतिहासिक महत्त्व उल्लेख गर्दै हालसम्म तीन हजारभन्दा बढी आरोहीले उक्त शिखर आरोहण गरिसकेको जानकारी दिए । ‘पहिलो आरोहीहरूको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ, जसलाई ‘मनास्लु डे’ का अवसरमा अनावरण गरिनेछ’ उनले भने, ‘चुम उपत्यका र आसपासका हिमाली क्षेत्रको सांस्कृतिक समृद्धिलाई पनि यस कार्यक्रममा समेटिनेछ ।’

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले प्लाटिनम जुबिलीलाई नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए । ‘मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो,’ उनले भने, ‘यही आधारमा अन्तर्राष्ट्रिय सहकार्य र सद्भाव विस्तार भएको हो ।’

उनका अनुसार जुबिली कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लु हिमालको थ्रीडी मोडेल उदघाटन गरिनेछ । ‘जापानका राजदूत माएदा तोरुको प्रमुख आतिथ्यमा उक्त मोडेल अनावरण गरिनेछ, जसले नेपाल–जापान पर्वतारोहण सम्बन्धलाई थप उजागर गर्नेछ,’ शेर्पाले भने । उनले नेपालको हिमाली पर्यटनको विश्वव्यापी प्रवद्र्धनका लागि सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको पनि औंल्याए ।

मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरमा साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटनलाई पनि प्रवद्र्धन गरिने लक्ष्य राखिएको छ । चुम उपत्यकाको मौलिक संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सहभागितासहितका गतिविधिहरू सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस प्लाटिनम् जुबलीले नेपाललाई विश्व पर्वतारोहण तथा ट्रेकिङ गन्तव्यका रूपमा अझ सुदृढ बनाउने विश्वास गरिएको छ । विश्वभरबाट पर्वतारोही, कूटनीतिज्ञ, इतिहासकार तथा पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको यस कार्यक्रमले नेपालको पर्वतारोहण सम्पदाको सम्मानसँगै दिगो पर्यटन विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?