+
+
Shares

रोल्पा जिप दुर्घटना : गृहमन्त्रालयद्वारा चार सदस्यीय छानबिन समिति गठन

गृहमन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक(एसपी) यादव ढकालको संयोजकत्वमा गठित यस चार सदस्यीय समिति गठन गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २२:००

१७ वैशाख, काठमाडौं । गृहमन्त्रालयले रोल्पामा २० जनाको ज्यान जानेगरी बिहीबार भएको जिप दुर्घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार सचिवस्तरीय निर्णयबाट छानबिन समिति गठन भएको हो ।

आजै रुकुम पश्चिमबाट रोल्पाको जलजलामा भोलि लाग्ने मेला भर्न जान लागेका यात्रु बोकेका जिप रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा २० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दिनभर सो क्षेत्रमा भारी वर्षा भइरहेको र दुर्घटनाग्रस्त जिप सडकबाट निकै तल खसेकाले उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको थियो । अहिले साँझ पनि उद्धार रोकेको स्थानीय प्रहरीले जनाएको छ ।

यता गृहमन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक(एसपी) यादव ढकालको संयोजकत्वमा गठित यस चार सदस्यीय समिति गठन गरेको जनाएको छ । सो समितिले अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ ।

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्मा, सशस्त्र प्रहरी बल रोल्पाका डीएसपी र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य तोकिएका छन् ।

समितिलाई दुर्घटनाको कारण, कसको लापरवाही वा कमजोरी रह्यो भन्ने पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यादेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?