+
+
Shares

विश्वप्रकाशको प्रभाव बढ्दा सिटौला बन्दैछन् रक्षात्मक

विशेष महाधिवेशनपछि झापाका कांग्रेस नेता–कार्यकर्ताको सोच र प्राथमिकता बदलिएको छ । जिल्लामा अब प्रतिस्पर्धा एकअर्कालाई रोक्ने नभएर व्यवस्थापन गर्ने राजनीति सुरु भएको नेताहरू बताउँछन् ।  

केशव सावद केशव सावद
२०८३ वैशाख २४ गते १०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापामा नेपाली कांग्रेसको सिटौला र शर्मा पक्षबीच शक्ति सन्तुलन फेरिँदै गएको छ र शर्मा उपसभापतिका रूपमा प्रभावशाली बन्दै गएका छन्।
  • कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेताबाट मुक्त गरी कमलादेवी पन्तलाई जिम्मेवारी दिएको छ।
  • झापामा विशेष महाधिवेशनपछि नेता–कार्यकर्ताको सोच बदलिएको छ र प्रतिस्पर्धा व्यवस्थापन गर्ने राजनीति सुरु भएको छ।

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा कुनै समय देउवा समूहले कोइराला समूहलाई किनारा लगाएको चर्चा चलिरहँदा झापामा भने फरक तस्वीर देखिन्थ्यो । त्यहाँ कृष्णप्रसाद सिटौला पक्षले विश्वप्रकाश शर्मा पक्षलाई पेलेका तथ्यहरू बाहिरिन्थे ।

तर, पछिल्लो समय झापाको राजनीतिक समीकरण फेरिँदै गएको छ । नेता सिटौलासँग समानान्तर गतिविधि अघि बढाउँदै आएका शर्मा विशेष महाधिवेशनयता जिल्लादेखि केन्द्रसम्मको राजनीतिमा प्रभावशाली बन्दै गएका छन् ।

संगठन भित्रको सक्रियता र युवा पंक्तिमाझ बढ्दो स्वीकार्यताले शर्मालाई नयाँ शक्तिकेन्द्रका रूपमा उभ्याइरहेको छ । त्यसको ठीक विपरीत लामो समयसम्म संगठनमा बलियो पकड बनाएका सिटौला पछिल्ला दिनमा रक्षात्मक देखिन थालेका छन् ।

झापा जस्तो आफ्नो आधार क्षेत्रमै शक्ति सन्तुलन बदलिनुले केन्द्रीय राजनीतिमा पनि सिटौलाको प्रभाव खुम्चिँदै गएको संकेतका रूपमा व्याख्या हुन थालेको छ ।

शर्मा उपसभापतिका रूपमा गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा सक्रिय छन् ।

सिटौला भने पार्टीको केन्द्रीय तथा संसदीय भूमिकाबाट क्रमशः किनारा लाग्दै गएका छन् । कांग्रेसले उनलाई १६ वैशाखमा राष्ट्रिय सभा संसदीय दलको नेताको जिम्मेवारीबाट मुक्त गरेको छ ।

उपसभापति शर्माको जोडबलमा कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका भीष्मराज आङ्देम्बेले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेताबाट पदमुक्त गरेर कमलादेवी पन्तलाई जिम्मेवारी दिएका छन् ।

झापामा सिटौलाको पकड कतिसम्म थियो भने उनी बलियो भएकै कारण शर्मा महामन्त्री हुँदा पनि गृहजिल्लामा हुने कार्यक्रमहरूमा प्रमुख अतिथि हुन बिरलै पाउँथे । तर विशेष महाधिवेशनबाट उपसभापतिमा बढोत्तरी भएसँगै शर्माले झापामा पकड जमाउँदै गएका छन् ।

‘विश्वप्रकाश पार्टीको महामन्त्री नै भइसक्दा पनि कृष्ण सिटौलालाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरिन्थ्यो । विश्वप्रकाशलाई चाहिँ विशिष्टि अतिथि बनाइन्थ्यो,’ झापाका एक नेता भन्छन्, ‘तर अहिलेको हकमा त्यस्तो देखिएको छैन । विशेष महाधिवेशनपछि विश्वप्रकाश नै हावी देखिन्छन् ।’

ती नेताका अनुसार विशेष अधिवेशन अघिसम्म सिटौलाकै निर्देशनमा झापामा पार्टी कार्यक्रम संरचनाहरू परिचालन हुने गरेका थिए । ‘उहाँलाई नसोधी कुनै कार्यक्रम नै हुँदैनथे,’ ती नेताले भने ।

विगतमा सिटौला निकट भनेर चिनिने स्थानीय नेताहरू पछिल्लो समय केन्द्रीय नेतृत्वको लाइनमा देखिन थालेको झापाका नेताहरू बताउँछन् । सिटौलाले विशेष अधिवेशनबाट चयन भएको नेतृत्वलाई स्वीकार नगरेका बेला उनी निकट मानिने कोशी प्रदेश कार्यसमिति सभापति उद्धव थापा सानेपा बैठकमै उपस्थित भएका थिए ।

प्रदेश सभापति थापाले सभापति गगन थापाको प्रमुख आतिथ्यमा दुई वटा कार्यक्रम आयोजना गरिसकेका छन् । जसलाई उपसभापति शर्मा पक्षले झापामा हुँदै आएको अवरोध र असहयोगको एउटा कारण बन्द भएको दाबी गरेको छ ।

‘कृष्ण सिटौला दाइसँग निकट भनेर चिनिने प्रदेश सभापति थापाले दुई वटा कार्यक्रम भव्य तयारीका साथ सम्पन्न गरिसक्नुभएको छ,’ पार्टीको जरा अभियानका लागि खटिएका शर्मा निकट एक झापाली नेताले भने, ‘अहिले झापामा असहयोग, अवरोध हुने एउटा फ्याक्टर क्लोज भइसक्यो ।’

जिल्ला सभापति देउमान थेबे पनि नेता सिटौलाको चाहनाविपरीत विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सहयोग गरिरहेका छन् । अहिले सिटौला आवद्ध रहेको कांग्रेसको खेमाले क्रियाशील सदस्यता अद्यावधिक नगर्न–नगराउन आग्रह गरिरहँदा सभापति थेबे भने आफैं काममा खटिएका छन् ।

‘जिल्ला सभापति देउमानजी हिजो कृष्ण दाइ निकट भएर जित्नुभएको थियो । विश्वजीको उम्मेदवार राम कट्टेल हुनुहुन्थ्यो,’ ती नेताले भने, ‘अहिले क्रियाशील अद्यावधिक कार्यक्रममा थेबेजी सबै क्षेत्रमा गएर आफ्नै अग्रसरतामा कामहरू गराइराख्नुभएको छ ।’

जिल्ला सभापति थेबेले पनि आफू क्रियाशील सदस्यता अद्यावधिकको काममा सक्रिय रहेको प्रतिक्रिया दिए । ‘जरा अभियान ५ गतेबाट सुरु हुँदैछ,’ उनले अनलाइनखबरसँग भने, ‘अद्यावधिकको काम भइरहेको छ । अद्यावधिक भनेको क्रियाशील सदस्यहरूको अभिलेख व्यवस्थित गरेर डिजिटल प्रणालीमा लैजाने भनेको न हो ।’

जिल्ला सभापति थेबेसँगै सिटौला समूहबाट उपसभापतिहरू केशवराज पाण्डे र शेरबहादुर भट्टराई पनि क्रियाशील सदस्यता अद्यावधिकको काममा खटिएका छन् ।

‘उपसभापति केशवराज पाण्डे अस्ति चुनाव लड्नभयो, अहिले अद्यावधिक गर्ने काममा सक्रिय हुनुहुन्छ,’ झापाका नेताले भने, ‘अर्का उपसभापति शेरबहादुर भट्टराई पनि अदालतले मान्यता दिइसकेपछि झन्झट बोकेर बस्नु हुँदैन भनेर प्रक्रियालाई सहज ढंगले स्वीकार गरेर अगाडि बढेको परिस्थिति हो ।’

विशेष महाधिवेशनपछि झापाका कांग्रेस नेता–कार्यकर्ताको सोच र प्राथमिकता बदलिएको छ । जिल्लामा अब प्रतिस्पर्धा एकअर्कालाई रोक्ने नभएर व्यवस्थापन गर्ने राजनीति सुरु भएको नेताहरू बताउँछन् ।

सिटौला विशेष महाधिवेशनको विपक्षमा उभिए पनि उनको गृहजिल्ला झापाका ६७ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए । ‘सुरुमा ६७ जनाले हस्ताक्षर गरेका थियौं । पछि अरू थपिएका थिए,’ हस्ताक्षर अभियानमा सक्रिय एक नेताले भने, ‘महाधिवेशनस्थलमा आइपुग्दासम्म १३० महाधिवेशन प्रतिनिधिमध्ये ८० माथिले हस्ताक्षर गरेका थिए ।’

 शर्मा-सिटौला कटुताको सुरुवात

नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष रहँदासम्म शर्मा सिटौला क्याम्पमै थिए । त्यतिबेलासम्म उनीहरूबीचको सम्बन्ध समधुर नै थियो । पार्टीको १२औं महाधिवेशनपछि दुई नेताबीच तिक्तता बढ्न सुरु भएको मानिन्छ ।

शर्मा २०६७ सालमा झापा सभापतिमा प्रतिस्पर्धा गर्न गृहजिल्ला गए । झापामा आफ्नो हालीमुहाली गर्दै आएका सिटौलालाई उनको प्रवेश सहज लागेन । सिटौला आफूनिकट उद्धव थापालाई सभापति बनाउन चाहन्थे ।

शर्मा  थापाका प्रतिस्पर्धी बन्न पुगे । त्यही विन्दुबाट दुई नेताबीच सम्बन्धमा कटुताको सुरुवात भयो । ‘तिमी केन्द्रमै दाबी गर । जिल्लामा राजनीति गरेर अघि बढेकालाई सभापति बनाऔं भन्ने कृष्ण दाइको कुरा थियो,’ झापाका एक नेता भन्छन्, ‘विश्वप्रकाशजीले उहाँको कुरा स्वीकार गर्नुभएन । त्यसपछि निरन्तर दुई धारको औपचारिक सुरुवात भयो ।’

पुराना नेता चक्र बाँस्तोलाको साथ लिएर शर्मा जिल्ला सभापतिमा उम्मेदवार बनेका थिए । तर शर्मालाई सभापतिमा अघि सारे पनि बाँस्तोला जिल्लामा स्पष्ट देखिने गरी समूह बनाउनतिर भने लागेनन् । शर्माले पराजय बेहोर्नु पर्‍यो ।

झापामा सिटौलासँग बढेको तिक्तता केन्द्रमा पनि तत्कालीन समयमा देखियो । गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका ‘भित्रिया’ समेत सिटौला थिए । सुशील कोइराला कार्यवाहक सभापति बनेका बेला शर्मालाई अर्को धक्का लाग्यो ।

नेविसंघका पूर्वसभापतिहरू गोविन्द भट्टराई, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्दा विश्वप्रकाश शर्मा छुटे । ‘केन्द्रीय सदस्य मनोनीत गर्न रोक्ने सिटौला नै हुन् भन्ने विश्वप्रकाशलाई पर्‍यो,’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यसपछि त उहाँहरूबीच झनै सम्बन्ध टाढियो ।’

दुवै आ–आफ्नो तरिकाले राजनीति गरिरहेका थिए । आन्तरिक तिक्ततामा बढोत्तरी नआए पनि सम्बन्धमा प्रगाढता थिएन । शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी काठमाडौंबाट घोषणा गरेर ‘विश्वप्रकाशलाई महामन्त्री बनाऔं’ चुनावी अभियान झापाबाट सुरु गर्ने तयारी गरे ।

उनी चुनावी अभियानको कार्यक्रम जिल्ला कार्यसमितिमार्फत नै आयोजना गर्न चाहन्थे । तर सिटौला पक्षधर जिल्ला नेतृत्व उनको अभियान सुरु गर्न तयार भएन । जिल्ला नेतृत्वले असहयोग गर्दागर्दै शर्माले बिर्तामोडमा महाधिवेशनको चुनावी अभियान शुभारम्भ गरे ।

सिटौला पक्षका नेताहरू कोही पनि कार्यक्रममा उपस्थित भएनन् । शर्मा झापाका पुराना नेता पूर्णानन्द शर्मामार्फत अभियान उद्घाटन गर्ने सोचमा थिए । तर पूर्णानन्द पनि कार्यक्रममा आइदिएनन् ।

सिटौला र शर्माबीच एकपछि अर्को गर्दै दरार बढ्दै गइरहेको थियो । सिटौलाको जिल्लादेखि केन्द्रसम्म असहयोग हुँदाहुँदै पनि शर्मा महामन्त्रीमा निर्वाचित भए ।

महामन्त्रीमा विजयी भएपछि शर्माले गृहजिल्लामा धन्यवाद ज्ञापन कार्यक्रम राखे । सिटौला पक्ष धन्यवाद कार्यक्रममा पनि उपस्थित भएन । चुनावी अभियान प्रारम्भ गर्दा उपस्थित हुन नचाहेका पूर्णानन्द शर्मा भने पछिल्लो पटक सहभागी भए ।

१४औं महाधिवेशनअन्तर्गत झापा जिल्ला अधिवेशनमा नेता सिटौला र तत्कालीन प्रवक्ता शर्मा पक्षका नेताहरूबीच प्रतिस्पर्धा भएको थियो । दुवै नेताले पार्टीको जिल्ला नेतृत्वका लागि आफू निकटका नेताहरूलाई प्रतिस्पर्धामा उतारेका थिए ।

सिटौला पक्षबाट पूर्वउपसभापति देउकुमार थेबे र शर्मा पक्षबाट उपसभापति राम कट्टेलबीच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो । थेबेले कट्टेललाई २५० मतले पराजित गरेका थिए ।

कूल खसेको तीन हजार ३११ मतमध्ये थेबेले एक हजार ७६५ र कट्टेलले एक हजार ५१५ मत प्राप्त गरेका थिए । उपसभापतिमा थेबे प्यानलबाट उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई विजयी भएका थिए ।

निवर्तमान सभापति देउवा निकट जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता अद्यावधिकका लागि अनिच्छा देखाए पनि सिटौला पक्षबाट जिल्ला सभापतिमा विजयी थेबे सक्रिय देखिन्छन् ।

उनी नेताद्वय सिटौला र शर्माबीचको बढ्दो तिक्तताबारे टिप्पणी गर्न पनि तयार देखिँदैनन् । सिटौला–शर्माबीचको पछिल्लो सम्बन्धबारे अनलाइनखबरको जिज्ञासामा उनले टिप्पणी गर्न अस्वीकार गरे ।

‘यो केन्द्रीय स्तरको कुरा हो । हामी जिल्लामा बसेर कसरी भन्न सक्छौं । द्वन्द्व हो कि, होइन कि त्यो कुरा उहाँहरूलाई नै सोध्नुपर्छ,’ सभापति थेबेले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?