News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसपटक नेकपा एमालेसँग गठबन्धन नगरी आम जनतासँग मात्र तालमेल हुने घोषणा गरिसकेका छन्।
- झापा जिल्लामा एमाले र राप्रपाले सबै क्षेत्रमा अलग-अलग उम्मेदवारी दर्ता गराएका छन् र गठबन्धन नभएको देखिन्छ।
- नेपाली कांग्रेसले नेतृत्व परिवर्तनपछि गठबन्धन नगरी एकल उम्मेदवारी दिएको र यसले अन्य दलहरूलाई पनि दबाबमा पारेको बताइएको छ।
६ माघ, काठमाडौं । विगतका चुनावहरूमा नेकपा एमालेसँग गठबन्धन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसपटक आम जनतासँग मात्र तालमेल हुने घोषणा गरिसकेका छन् ।
उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, ‘राप्रपाको तालमेल: … आम जनतासँग ।’ स्टाटस लेख्नुअघि उनले झापाका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएका थिए ।
झापा–३, मा आफैंले मनोनयन दर्ता गराएका लिङदेनले बाँकी क्षेत्रहरूमा पनि तुलनात्मक बलिया उम्मेदवार उठाएका छन् । गत चुनावमा झिनो अन्तरले निकटतम प्रतिद्वन्द्वी बनेका स्वागत नेपाललाई पार्टी प्रवेश गराएरै झापा–२, बाट राप्रपाले उम्मेदवार बनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको झापा जिल्लामा चुनावी गठबन्धन अभ्यासका निम्ति राप्रपा रणनीतिक शक्ति हो । त्यसैले लिङदेनको स्टाटस र उम्मेदवारहरूबारे भएका निर्णयले राष्ट्रिय राजनीतिमै अर्थ राख्छ ।
बितेका चुनावहरूमा झापा–३, मा लिङदेनलाई एमालेले भोट हाल्ने र बाँकी क्षेत्रमा एमाले उम्मेदवारलाई राप्रपाको भोट जाने गरेको थियो । राजनीतिक विचारधारा, पार्टीको नारा र उद्देश्यहरू एकअर्कामा ठीक उल्टो बाक्ने एमाले र राप्रपाबीच चुनावी सहकार्य हुनुको प्रष्ट उद्देश्य थियो– केपी ओली र राजेन्द्र लिङदेनले जसरी पनि जित्ने ।
गठबन्धनको परिणाम दुवैले जित्दै पनि आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराएर झापा–३, बाट लिङदेनले जित्दै आउनुमा एमालेको मत लुकेको छैन । झापा–५ मा ओलीले जित्दा राप्रपाको मतसमेत जोडिएको छ ।
मनोनयन दर्ताको अघिल्लो साँझसम्म (सोमबार) पनि झापा–३, मा एमालेले आफ्ना उम्मेदवारबारे निर्णय नगरेर गठबन्धनको सम्भावनाबारे अनुमान गर्ने ठाउँ राखेको थियो । तर, अन्तिम समयमा हरि राजवंशीलाई एमालेले उम्मेदवार बनायो । राप्रपाले पनि झापा–५ मा लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाएको छ ।

दुवैले सबै क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराउनुले अहिलेसम्म चुनावी गठबन्धन नभएकै बुझिन्छ । एमाले र राप्रपाबीच मात्र नभएर झापामा अरू दलहरू नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायतले पनि अलग–अलग उम्मेदवारी दिएका छन् । कुनै दलले कसैसँग गठबन्धन गरेका छैनन् ।
बरू नयाँ प्रतिस्पर्धी शक्ति थपिएका छन् । ओलीलाई हराउने घोषणा नै गरेर बालेन्द्र शाहले झापा–५ मा मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नबाट चुनाव लड्न उनले काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका छन् ।
अर्को शक्तिका रूपमा देखिएका हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट समीर तामाङले ओली र बालेनलाई नै हराउने भनिरहेका छन् ।

२०७९ को चुनावमा झापामा एमाले र राप्रपाबीच गठबन्धन हुँदा कांग्रेस, तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी सहितको पाँच दल सम्मिलित महागठबन्धन बनेको थियो ।
यस्तै, २०७४ को चुनावमा कांग्रेसविरूद्ध एमाले, माओवादी र राप्रपाको गठबन्धन बनेको थियो । तर, यसपटक मनोनयन दर्ता हुँदाका दिनसम्मलाई हेर्दा दलहरू एक्लाएक्लै भिड्न मैदानमा उत्रिएका छन् ।
एकल प्रतिस्पर्धामा दलहरू
यसपटक बदलिएको चुनावी शक्ति–संघर्ष बुझ्न झापालाई प्रतिनिधि जिल्लाका रूपमा लिन सकिन्छ । झापाकै जस्तो स्थिति यसपटक देशभर निर्माण भएको छ ।
कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपालगायत दलहरूले एकल उम्मेदवारी दिएका छन् । अर्थात्, एकअर्काविरूद्ध एक्लाएक्लै भिड्दैछन् ।
नेताहरूका भनाइ अनुसार मनोनयन दर्ता सकिँदासम्म गठबन्धनबारे कसैले कुनै दलसँग छलफल गरेका छैनन् । कांग्रेसका प्रवक्ता देवराज चालिसे, पार्टी नेतृत्व परिवर्तन हुनुको एउटा मूल एजेन्डा रुख चिह्न कसैसँग नसाट्ने रहेकाले देशभर उम्मेदवारी दिएको बताउँछन् ।

‘देशभरका मतदाताले रुखमा भोट हाल्न पाउने स्थिति निर्माण गरेका छौं, सम्पूर्ण क्षेत्रमा हाम्रा उम्मेदवार छन्,’ चालिसे भन्छन् ।
एमाले प्रचार विभागका संयोजक मीनबहादुर मीनबहादुर शाही पनि गठबन्धनबारे कसैसँग अहिलेसम्म सम्वाद र वार्ता केही नभएको बताउँछन् । ‘एमालेलाई मुलुकको निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्पमा प्रतिबद्ध छौं, त्यसैअनुसार देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छौ,’ शाही भन्छन् ।
नेकपाले भने बाग्लुङको एउटा क्षेत्र राष्ट्रिय जनमोर्चालाई दिएर आंशिक गठबन्धन गरेको छ । तर मुलत: देशभर एक्लै लड्नेगरी उम्मेदवारी दिएको छ । ‘बाग्लुङको एउटा क्षेत्र छोडेका छौं, बाँकी देशभर तारा चिह्नमा मत हाल्न पाइनेगरी उम्मेदवारी दिएका छौं,’ नेकपाका नेता देवेन्द्र पौडेल भन्छन् ।
जबकि अघिल्ला निर्वाचनहरूमा ठूल्ठूला गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने गरेको थियो । एकअर्कालाई हराउन जसले जोसँग पनि चुनावी सहकार्य गर्ने संस्कृति स्थापित हुने सम्भावा बढेको थियो ।
प्रमुख दलहरूबीच नै गठबन्धन गर्ने अभ्यास भने २०७४ को स्थानीय चुनावबाट थालनी भएको थियो । त्यसबेला एमालेविरुद्ध लड्न कांग्रेस र माओवादी मिलेका थिए ।
कम्युनिष्ट र कांग्रेसले साझा उम्मेदवार बनाएको त्यो गठबन्धनको सन्देश सकारात्मक हुन सकेको थिएन । बरू बद्नाम र विकृत बन्न पुगेको थियो । भरतपुर महानगरपालिकाको मेयर जित्न माओवादी उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेको घटना त्यसबेलाको हो ।
तर, लगत्तै २०७४ को मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमाले–माओवादीबीच गठबन्धन भयो । वामशक्तिविरुद्ध लड्न कांग्रेसले राप्रपासहितका साना शक्तिहरू समेटेर लोकतान्त्रिक गठबन्धन बनाए । मधेशमा उपेन्द्र यादव र महन्थ ठाकुरबीच गठबन्धन भएको थियो ।
गठबन्धन गर्दा मधेश प्रदेशबाहेक ६ प्रदेश र संघीय संसदमा कम्युनिष्टहरूले झण्डै दुईतिहाइ सिट जितेका थिए । तर तत्कालीन नेकपाभित्रको मतभेद र विभाजनका कारणले पूरा अवधि सत्ता चलाउन सकेनन् ।
२०७९ सालको चुनावमा कांग्रेस नेतृत्वमा पाँच दल मिलेर चुनाव लडे । एमालेले पनि पाँच दलीय गठबन्धनविरुद्ध उपेन्द्र यादव नेतृत्वको जसपा र राजावादी–हिन्दूवादी शक्तिहरूसँग गठबन्धन गर्यो । तर नतिजा भने दुई ठूला गठबन्धनले सोचे जस्तो आएको थिएन ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरूले भएकै सिट संख्या पनि गुमाएको थियो । मधेश र कोशीमा अपेक्षित नतिजा ल्याए पनि एमालेको आकार खुम्चिएको थियो ।
ठूला दुई गठबन्धनले अपेक्षित नतिजा नल्याउनुमा भने नयाँ शक्तिहरू उदय हुनु थियो । परम्परागत शक्ति राप्रपाको अनपेक्षित आकार बढाएको थियो भने रास्वपा, जनमत र नाउपा जस्ता शक्तिको उदय भयो ।
यसपटक भने चुनावी गठबन्धनको अभ्यास तोडिएको छ । यसरी दलहरू एक्लाएक्लै भिड्ने परिस्थितिको सिर्जना भने कांग्रेसको नेतृत्व परिवर्तनसँग जोडिएको छ । जेनजी विद्रोहबाट सत्ता पलट भएपछि २१ फागुनमा घोषणा भएको चुनावमा कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति जुटिसकेको थियो ।
ओलीले शेरबहादुर देउवासँग गठबन्धन गर्ने सहमति गरेकाले पुष्पकमल दाहाल प्रचण्डले भने स–साना डेढ दर्जन शक्तिसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका थिए । मधेश केन्द्रीत शक्तिहरूबीच एकता भइसकेको थियो । तर विशेष महाधिवेशन मार्फत बदलिएको कांग्रेस नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दियो ।
गगन थापा कांग्रेस सभापति भएर आएपछि पूर्वघोषणा बमोजिम कसैसँग गठबन्धन नगर्ने नीतिमा अगाडि बढे ।
‘सत्तालाई केन्द्रमा राखेर गरिने प्रिपोल एलायन्सले दलहरूको संगठनात्मक आधारलाई क्षतविक्षत बनाएको थियो । सैद्धान्तिक बिचलन हुन पुगेको थियो,’ कांग्रेस प्रवक्ता चालिसे भन्छन्, ‘त्यस्तो गठबन्धनलाई अन्त्य गर्नुपर्ने थियो, बारम्बार वकालत गर्दै आएको थियो । र नेतृत्व परिवर्तनसँगै बदलिएको कांग्रेसको सन्देश दिएका छौं ।’
नेतृत्व बदलिएको कांग्रेसले एक्लै उम्मेदवारी दिएपछि अरू दलहरू पनि दबाबमा परेको बुझ्न सक्छौं । ‘कांग्रेस बदलिएको सन्देश हामीले दिनुपर्ने थियो, र दियौं,’ चालिसे भन्छन् । उनका अनुसार दुईतिहाइ बढी नयाँ अनुहारले कांग्रेसबाट टिकट पाएका छन् । त्यसमा समावेशीतालाई ध्यानमा राखिएको उनी बताउँछन् ।

‘हामीले युवा, नयाँ अनुहार र समावेशीतालाई ध्यान दिएर उम्मेदवारी दियौं,’ उनी भन्छन्, ‘कांग्रेस बदलिएको सन्देशले अरु दलहरूमा पनि परिवर्तनको सन्देश दिनुपर्ने दबाब पर्यो ।’
यद्यपि चुनावी गठबन्धनको सम्भावना अझै टरिनसकेको नेताहरू बताउँछन् । ‘उम्मेदवारी दर्ता हुँदा कसैसँग कसैको गठबन्धन भएको छैन, तर गठबन्धनको सम्झना अझै टरिसकेको छैन,’ राप्रपाका एक नेता भन्छन्, ‘उम्मेदवारी फिर्ताको अवधिसम्म गठबन्धनको निर्णय गर्ने सम्भावना रहन्छ ।’
एमाले प्रचार विभाग संयोजक गठबन्धनको सम्भावना टरिनसकेको स्वीकार्छन् । ‘लोकतन्त्रको रक्षा, संविधान सर्वाेच्चता, विधिको शासन स्थापित गर्ने कुरामा लोकतान्त्रिक शक्तिहरूबीच सम्वाद नहोला भन्न सकिन्न,’ उनी भन्छन् ।
प्रतिक्रिया 4