२४ वैशाख, पाँचथर । बुधवार बिहान पानी परीरहेको थियो । पाँचथरको यासोक बजारमा यही पानीमा रुझ्दै एउटा र्याली कुम्मायकतर्फ उकालियो । परम्परागत सांस्कृतिक पोसाकमा सजिएर च्याब्रुङ, नौमतीबाजा साकेला सहित पूजा सामाग्री बोकेर उकालो लाग्नेको सङ्ख्या उलेख्य थियो ।
पाँचथरको कुम्मायक–कुसायकमा हरेक तीन वर्षमा विशेष पुँजा हुने गरेको छ । परापूर्वकालदेखि हरेक तीन वर्षमा हुने पूजाको अवसरमा ठुलो मेलसमेत लाग्ने गर्छ । तङ्सुम तङ्नाम त्रीशाली पूजा तथा मेलाका कारण यासोक बजार झकिझकाउ र भरिभराउ बनेको छ ।
कुम्मायकबाट पुँजा सकेर कुसायकतिर आउदा घाम लागेर मौसम चङ्गा भयो, र्याली वृहत् देखियो । कुम्मायकमा नैबेदले पूजा गरिन्छ भने कुसायकमा बलि दिने गरेको पाइन्छ । कुम्मायक–कुसायकको दर्शन तथा भाकल पुरा गर्न विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् । केही दिन अगाडीदेखिनै दर्शनार्थीहरू यासोक आएका थिए ।
‘४०/५० जना आएका छौं । भाकल थियो, त्यही पुरा गर्न आएका हौँ । तेस्रो पल्ट भयो यहाँ आएको’ धनकुटाको बुढिमोरङबाट आएकी पार्वती इवाले भनिन, ‘कामनागरेको कुरा पुरा भएको अनुभव गरेका छौँ ।’

यो पूजाको लामो इतिहास भएको बताइन्छ । ‘राजा उहाङले राज्य सत्ता सञ्चालनको क्रममा यासोक जोङमा दरबार सरेको थियो । युमाको शक्ति र आशीर्वाद लिएर तीन वर्ष अथाह राज्य विस्तार गर्न सफल भएको खुसियालीमा छैटौँ /सातौँ शताब्दीबाट तीन तीन वर्षमा युमाको सिद्धिशक्ति प्राप्त गर्न तथा आशीर्वाद लिदा सोचेको, चिताएको कुरा पुरा हुन्छ भनेर पुँजा गर्ने गरिन्छ’ तङ्सुम तङ्नाम त्रिशाली पूजा मुल आयोजक समितिका अध्यक्ष देवेन्द्र लावतीले भने ‘नेपाल लगायतका देशहरूबाट त्रिशाली पुँजाको भेला भक्तजनाहरू आउने गर्नु हुन्छ ।’
यही अवसरमा खेलकुद लगायतका विभिन्न गतिविधि यासोकमा भईरहेका छन् । लिम्बुहरूमा प्रख्यात धान नाच यहाँ देख्न पाइन्छ भने स्थानीय उत्पादनको विक्री वितरण समेत भईरहेको छ । पुँजाको अवसरमा आयोजित मेला शनिवार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
प्रथमले ४ लाख २५ हजार ५५५ रुपैयाँ जित्ने त्रिशाली गोल्डकप फुटबल प्रतियोगिता, ब्याडमिन्टन, चेस प्रतियोगिता, रमाइलो मेला यासोकमा भईरहेको छ । हरेक दिन चर्चित कलाकारले प्रस्तुति दिईरहेका छन् । हरेक तीन वर्षमा हुने पुँजा तथा मेला ऐतिहासिक भएकाले गाउँपालिका साथ, सहयोग र सक्रियता रहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले बताए ।

प्रतिक्रिया 4