News Summary
Generated by OK AI. Editorially reviewed.- २० देखि २५ वर्ष उमेर समूहमा कपाल झर्ने समस्या बढेको छ, जसले युवाको मानसिक स्वास्थ्य र आत्मविश्वासमा असर पारिरहेको छ।
- कपाल झर्ने मुख्य कारणमा एन्ड्रोजेनेटिक एलोपिसिया र टेलोजन इफ्लुभियम छन्, जुन वंशाणुगत र तनावजन्य हुन सक्छन्।
- नेपालमा दक्ष चिकित्सकहरूले फोलिकुलर युनिट एक्स्ट्र्याक्सन विधिबाट कपाल प्रत्यारोपण गरिरहेका छन्, जसको सफलता दर राम्रो रहेको छ।
कपाललाई मानिसको सौन्दर्य र आत्मविश्वाससँग जोडेर हेरिन्छ । तर पछिल्ला वर्षहरूमा कम उमेरमै कपाल झर्ने र तालुपना देखिने समस्या बढ्दो छ । २०–२५ वर्षकै उमेरमै कपाल पातलो हुने, अगाडिको भागबाट तालु देखिन थाल्ने र गोलाकार रूपमा कपाल झर्ने समस्या सामान्य बन्दै गएको छ ।
युवावस्थामै कपाल झर्नाले शारीरिक रूपमा मात्रै होइन, मानसिक र आत्मविश्वासमा समेत असर पारिरहेको चिकित्सकहरू बताउँछन् ।
किन बढ्दै छ, युवावस्थामा तालुपना, कपाल झर्नुको कारण के हो, बजारमा पाइने तेल र औषधि कति प्रभावकारी छन्, कपाल प्रत्यारोपण कसरी गरिन्छलगायत विषयमा अनलाइनखबरले छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. प्रज्ज्वल पुडासैनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
युवा उमेरमै कपाल झर्ने समस्या बढिरहेको देखिन्छ । यसको कारण के हो ?
कपाल झर्ने समस्या युवा मात्र होइन, कुनै पनि उमेर समूहका व्यक्तिलाई हुन सक्छ । तर युवाहरूमा कपाल अलिकति झरे पनि धेरै चिन्ता हुने भएकाले उनीहरू जाँच गराउन बढी आउने गरेका छन् । कतिपयलाई कपाल झरेपछि पूर्ण रूपमा तालुपना हुन्छ भन्ने डर हुन्छ ।
कसैको कपाल सानो–सानो गोलाकार रूपमा झर्छ, जसले गर्दा उनीहरूको आत्मविश्वासमा असर पर्छ । यस्तो समस्याले सामाजिक जीवन, बाहिर हिँडडुल गर्न, विद्यालय वा कलेज जानसमेत असहज महसुस हुन्छ ।
सामान्यतया २० देखि ४० वर्ष उमेर समूहमा कपाल झर्नु एन्ड्रोजेनेटिक एलोपिसिया हो । जसलाई सामान्य भाषामा तालुपना भनिन्छ । पुरुषमा टाउकोको अगाडि र बीचबाट कपाल पातलो हुँदै जान्छ । अनि, विस्तारै तालु देखिन थाल्छ । महिलामा पनि बीच भागबाट क्रमशः कपाल पातलो हुँदै जाने समस्या देखिन्छ ।
त्यस्तै एलोपिसिया एरियाटा अर्को प्रकारको समस्या हो । यसमा कपाल गोलाकार रूपमा झर्छ । यो समस्या पनि प्रायः युवावस्था र वयस्क उमेरमा बढी देखिन्छ ।
कहिलेकाहीँ बालबालिकामा पनि कपाल झर्ने समस्या देखिन्छ । विशेषगरी टाउकोमा ढुसीजन्य संक्रमण भएमा कपाल झर्ने, चिलाउने, पोल्ने र सुन्निने जस्ता समस्या देखिन सक्छन् ।
उमेर बढ्दै जाँदा पनि कपाल झर्ने समस्या हुन्छ, जसलाई सिनाइल एलोपिसिया भनिन्छ । कपाल जुनसुकै उमेरमा झर्न सक्छ । तर युवामा चिन्ता बढी हुने भएकाले जाँच गराउन अस्पताल धाउँछन् ।
पहिले कपाल झर्ने समस्या वृद्धावस्थामा मात्र हुन्छ भन्ने धारणा थियो । तर अहिले २०–२५ वर्षमै तालुपना हुनुको कारण के हो ?
युवा उमेरमा कपाल झर्नुको सबैभन्दा सामान्य कारण टेलोजन इफ्लुभियमको समस्या हो । जस्तै, लामो समय बिरामी हुनु, अत्यधिक मानसिक तनाव, परीक्षाको दबाब, खानपिनमा पोषणको कमी, शल्यक्रिया, गर्भावस्था वा सुत्केरी भएपछि पनि कपाल झर्ने समस्या देखिन सक्छ । यस्तो अवस्थामा कपाल केही समय बढी झर्ने भए पनि सामान्यतया ३ देखि ६ महिनाभित्र फेरि पलाउन थाल्छ ।
अर्को कारण एन्ड्रोजेनेटिक एलोपिसिया हो, जुन प्रायः वंशाणुगत हुन्छ । टाउकोको अगाडि र बीचको भाग हर्मोनप्रति संवेदनशील हुने भएकाले वंशणुगत कारणले हर्मोनको प्रभाव बढ्दा कपाल क्रमशः पातलो हुँदै जान्छ र विस्तारै तालुपना हुन्छ ।
यस्तो प्रक्रिया सामान्यतया विस्तारै अगाडि बढ्छ । कतिपय अवस्थामा १० वर्षको अन्तरालमा एक–एक चरण बढ्दै जान्छ । तर जिन र हर्मोनको प्रभाव बढी भएमा २० वर्षको उमेरमै पनि तालुपना देखिन सक्छ ।

कपाललाई मानिसहरूले सौन्दर्यसँग पनि जोडेर हेर्छन् । तालुपना भएका व्यक्तिहरू कत्तिको चिन्तित हुन्छन् ?
धेरै मानिसका लागि कपाल आत्मविश्वाससँग जोडिएको हुन्छ । विशेषगरी युवाहरूमा थोरै मात्र कपाल झरे पनि त्यसले मानसिक रूपमा असर पारिरहेको देखिन्छ । बाहिरबाट हेर्दा सामान्य देखिए पनि सम्बन्धित व्यक्तिलाई चिन्ता, डिप्रेसन हुन सक्छ ।
कतिपय अवस्थामा थोरै कपाल झरे पनि त्यसैबारे लगातार सोच्ने, चिन्तित हुने, काम वा पढाइमा ध्यान दिन नसक्ने पनि देखिन्छ । यसलाई मनो–छालासम्बन्धी समस्या अर्थात् साइकोडर्माटोलोजिकल असर भनिन्छ ।
यही कारणले केही बिरामीहरू पटक–पटक अस्पताल आएर सल्लाह लिन्छन् । भविष्यमा पूर्ण तालुपना हुन्छ कि भनेर डराउँछन् । यस्तो अवस्थामा सुरुमै परामर्श र उपचार सुरु गर्दा कपाल झर्ने क्रम कम र नयाँ कपाल बढ्न सहयोग पुग्छ ।
कपाल झर्नुलाई कुनै रोगको संकेतका रूपमा पनि लिन सकिन्छ ?
कहिलेकाहीँ कपाल वा छालामा देखिने समस्या शरीरभित्र भइरहेको अन्य स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ । उदाहरणका लागि, थाइरोइडका बिरामीहरूमा कपाल झर्ने समस्या देखिन सक्छ । त्यस्तै, सुत्केरी अवस्थामा, स्तनपान गराइरहेका महिला वा कुनै शल्यक्रिया गरेको अवस्थामा पनि कपाल झर्न सक्छ । शरीरमा कुनै किसिमको शारीरिक वा मानसिक आघात परेपछि त्यसको प्रभाव कपाल झर्ने रूपमा देखिन सक्छ ।
यस्ता परिवर्तनहरू सामान्यतया शरीरमा समस्या भएको दुईदेखि तीन महिनापछि देखिन थाल्छन् । जस्तै, डेंगु वा कोराना संक्रमण भएका धेरै बिरामीमा पनि केही समयपछि कपाल झरेको देखिएको थियो । त्यस्तै, अत्यधिक तनाव वा परीक्षाको दबाबका कारण पनि कपाल झर्न सक्छ ।
कपालको आफ्नै चक्र हुन्छ । जसमा कपाल बढ्ने, स्थिर रहने र झर्ने चरण गरी तीन अवस्था हुन्छन् । जब शरीरमा स्वास्थ्य समस्या वा तनाव हुँदा धेरै कपाल स्थिर रहने चरणमा पुग्छन् । त्यसपछि ती कपाल केही समयपछि झर्ने र पातलो हुन्छन् । तर शरीरको अवस्था सामान्य भएपछि कपाल फेरि बढ्ने चरणमा प्रवेश गर्छ र नयाँ कपाल पलाउन थाल्छ ।
यस्तो प्रकारको कपाल झराइ सामान्यतया तीनदेखि ६ महिनाभित्र आफैं सुधार हुँदै जान्छ ।
झरेको कपाल उमार्ने भनेर विभिन्न तेल र औषधिका विज्ञापन बजारमा देखिन्छन् । कतिपयले प्रयोग पनि गरिरहेका छन् । ती कति प्रभावकारी छन् ?
हालसम्म कपाल झर्न रोक्ने र कपाल बढाउन मद्दत गर्ने भनेर विश्वभर वैज्ञानिक रूपमा प्रमाणित भएको औषधि भनेको मिनोक्सिडिल हो । यसबारे हजारौं अनुसन्धान भएका छन् र विश्वभर यसको प्रयोग गरिन्छ ।
तर, लसुन, प्याज, अदुवा, रोजमेरी वा अन्य जडीबुटीबाट बनेका तेलको प्रभावकारिताबारे ठोस वैज्ञानिक प्रमाण छैन । कतिपय अवस्थामा यस्ता तेलले फाइदा गर्नुको सट्टा एलर्जी हुने, पोल्ने वा छालामा बिमिरा निस्कने समस्या पनि गराउन सक्छ ।
उदाहरणका लागि, धेरै मात्रामा नरिवलको तेल प्रयोग गर्दा टाउको वा अनुहारमा डन्डीफोर आउन सक्छ र दाग बस्न सक्छ । तोरीको तेलले पनि केही व्यक्तिमा एलर्जी गराउन सक्छ । कतिपय तेलले अनुहार कालो बनाउने वा छालाको स्वरूपमा असर देखिन सक्छ । त्यसैले कपाल झर्दा कुनै पनि औषधि वा तेल प्रयोग गर्नुअघि विशेषज्ञसँग सल्लाह लिनु उचित हुन्छ ।
कपाल प्रत्यारोपण भनेको के हो ? कसरी गरिन्छ ?
टाउकोको पछाडि वा साइडको भागको कपाल निकालेर झरेको ठाउँमा रोप्ने प्रक्रिया नै कपाल प्रत्यारोपण हो । अहिले संसारभरि र नेपालमा पनि सबैभन्दा धेरै प्रयोग हुने विधि फोलिकुलर युनिट एक्स्ट्र्याक्सन हो ।
सामान्यतया पुरुषमा देखिने तालुपनालाई एन्ड्रोजेनेटिक एलोपिसिया भनिन्छ । यस्तो अवस्थामा टाउकोको अगाडि र बीचको भागमा कपाल झर्छ । तर पछाडि र साइडको कपाल भने हर्मोनको प्रभावबाट कम प्रभावित हुन्छ ।
कहिलेकाहीँ दारी वा छातीको कपाल पनि प्रयोग गर्न सकिन्छ । तर धेरैजसो अवस्थामा टाउकोकै पछाडिको कपाल प्रयोग गरिन्छ । यस विधिमा सानो उपकरणको सहयोगले एक–एक वटा कपालको जरा निकालिन्छ । त्यसलाई विशेष चिसो स्लाइनमा सुरक्षित राखेर पछि झरेको ठाउँमा सावधानीपूर्वक रोपिन्छ । यसरी एक–एक कपाल रोप्ने प्रक्रियालाई नै फोलिकुलर युनिट एक्स्ट्र्याक्सन भनिन्छ ।
कपाल प्रत्यारोपण गर्न कति समय लाग्छ ?
कपाल झरेको स्तरअनुसार समय फरक पर्छ । सामान्यतया एक दिनमै प्रक्रिया पूरा गर्न सकिन्छ । एउटा सत्रमा करिब २५०० देखि ३००० ग्राफ्टसम्म कपाल रोप्न सकिन्छ । तर कसैको धेरै ठूलो तालु भएको अवस्थामा करिब ६ हजार ग्राफ्टसम्म रोप्नुपर्ने हुन सक्छ । त्यसका लागि कहिलेकाहीँ दुई दिन पनि लाग्न सक्छ । प्रत्यारोपण गर्दा बिरामीलाई पूर्ण रूपमा बेहोस पार्नु पर्दैन । रोप्ने ठाउँको दुखाइ मार्ने काम मात्र गरिन्छ ।
सामान्यतया यसबाट गम्भीर जटिलता देखिने सम्भावना कम हुन्छ । दुखाइ पनि धेरै हुँदैन, किनभने दुखाइ कम गर्ने औषधि प्रयोग गरिन्छ ।
कस्ता व्यक्तिले कपाल प्रत्यारोपण गर्न मिल्छ र कसलाई मिल्दैन ?
कपाल प्रत्यारोपण प्रायः एन्ड्रोजेनेटिक एलोपिसिया अर्थात् वंशाणुगत तालुपनाका व्यक्तिमा गरिन्छ । यो समस्या पुरुषमा बढी देखिन्छ । सामान्यतया ५० वर्ष पुग्नुअघि करिब आधा पुरुषमा कुनै न कुनै स्तरको तालुपना देखिन्छ ।
घाउ, चोट वा संक्रमणका कारण कपाल झरेको अवस्थामा पनि प्रत्यारोपण गर्न सकिन्छ । तर त्यस्ता अवस्थामा कपाल उम्रन केही समय लाग्न सक्छ ।
सामान्यतया २५ वर्षभन्दा माथिका व्यक्तिलाई कपाल प्रत्यारोपण गर्न उपयुक्त मानिन्छ । किनभने, २५ वर्षभन्दा कम उमेरमा भविष्यमा कति कपाल झर्छ भन्ने स्पष्ट अनुमान गर्न गाह्रो हुन्छ ।
प्रत्यारोपण गर्नुअघि डोनर एरिया अर्थात् कपाल निकालिने भागको घनत्व जाँच गरिन्छ । सामान्यतया एक स्क्वायर सेन्टिमिटरमा करिब ८० वटा कपाल भए राम्रो डोनर एरिया मानिन्छ । यसका लागि ट्राइकोस्कोप नामक उपकरण प्रयोग गरेर कपालको घनत्व कम्प्युटर स्क्रिनमा हेरेर मूल्यांकन गरिन्छ ।
प्रत्यारोपणपछि अनुहारको स्वरूप र व्यक्तित्वमा पनि सकारात्मक परिवर्तन देखिन सक्छ । त्यसैले उपयुक्त अवस्थामा कपाल प्रत्यारोपण राम्रो विकल्प हुन सक्छ ।
कतिपय व्यक्तिले कपाल प्रत्यारोपण गरिसकेपछि पनि राम्रो नतिजा नआएको अनुभव सुनाउँछन् । यस्तो हुने सम्भावना पनि हुन्छ ?
कुनै पनि शल्य प्रक्रिया वा चिकित्सकीय विधिमा सानो मात्रामा जोखिम रहने गर्छ । कपाल प्रत्यारोपणमा पनि त्यस्तो सम्भावना पूर्ण रूपमा नकार्न सकिँदैन । तर यसको सफलता धेरै हदसम्म कहाँ गराइयो, कसले गर्यो र कसरी योजना बनाइयो भन्ने कुरामा निर्भर हुन्छ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दक्ष छाला तथा कपाल प्रत्यारोपण विशेषज्ञबाट प्रक्रिया गर्दा सफलता दर सामान्यतया राम्रो हुन्छ । कपाल प्रत्यारोपण गर्दा डोनर एरिया अर्थात् कपाल निकालिने भाग कतिको बाक्लो छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
त्यस्तै, बिरामीमा मुटु, फोक्सो, दीर्घ रोग वा रगत पातलो बनाउने औषधि सेवनका कतिपय व्यक्तिमा सफलता न्यून हुन्छ । यस्ता पक्षहरू राम्रोसँग मूल्यांकन गरेर योजना बनाइएमा असफल हुने सम्भावना निकै कम हुन्छ ।
प्रत्यारोपणपछि रोपिएको कपाल स्थायी रूपमा रहन्छ कि फेरि झर्ने सम्भावना हुन्छ ?
सामान्यतया प्रत्यारोपण गरिएको कपाल लामो समयसम्म रहन्छ । प्रत्यारोपणपछि कपाललाई अझ बाक्लो र स्वस्थ बनाउन चिकित्सकले मिनोक्सिडिल जस्ता औषधि केही समय प्रयोग गर्न सुझाव दिन सक्छन् ।
कहिलेकाहीँ फिनास्टेराइड वा डुटास्टेराइड नामक औषधि पनि प्रयोग गरिन्छ । यी औषधिले प्रत्यारोपणपछि कपालको घनत्व बढाउन र नतिजा राम्रो बनाउन मद्दत गर्छन् । तर सबैले अनिवार्य रूपमा औषधि खानैपर्छ भन्ने होइन ।
यदि दक्ष चिकित्सकले राम्रो योजना बनाएर प्रत्यारोपण गर्दा, डोनर एरिया राम्रो, बिरामीमा अन्य जटिल रोग नहुँदा सफलता दर उच्च हुन्छ ।
कपाल प्रत्यारोपणपछि कुनै साइड इफेक्ट पनि देखिन सक्छ कि ?
कपाल प्रत्यारोपणपछि देखिने साइड इफेक्ट सामान्यतया धेरै गम्भीर हुँदैनन् । प्रक्रिया गरिएको ठाउँमा केही दिन हल्का चिलाउने, सुन्निने वा रातोपन देखिन सक्छ । कतिपय अवस्थामा तीनदेखि सात दिनसम्म आँखाको वरिपरि हल्का सुन्निन सक्छ ।
प्रक्रियाका क्रममा सानो मात्रामा रक्तस्राव हुने, कहिलेकाहीँ साना खटिरा वा एलर्जी देखिन सक्छ । तर यी समस्या प्रायः अस्थायी हुन्छन् र केही दिनमै कम हुँदै जान्छन् ।
नेपालमा कपाल प्रत्यारोपणको अवस्था र गुणस्तर कस्तो छ ?
नेपालमा अहिले धेरै दक्ष चिकित्सकहरूले कपाल प्रत्यारोपण गरिरहेका छन् । उनीहरूले गरेका उपचारको सफलता पनि राम्रो देखिएको छ । तर समस्या केही ठाउँमा उचित निगरानी नहुँदा लाइसेन्स प्राप्त चिकित्सक नभई टेक्निसियनले मात्र पनि कपाल प्रत्यारोपण गर्ने गरेका छन् ।
त्यस्ता ठाउँमा उपचार गराउँदा कहिलेकाहीँ जटिलता आउने, कपाल राम्रोसँग नउम्रिने वा नतिजा राम्रो नआउने गुनासो पनि सुनिन्छ । त्यसैले कपाल प्रत्यारोपण गराउँदा दक्ष र काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्र गराउनु सुरक्षित हुन्छ ।

कपाल प्रत्यारोपणको खर्च सामान्यतया कति पर्छ ?
कपाल प्रत्यारोपणको खर्च प्रायः प्रति फोलिकल अर्थात् प्रति ग्राफ्टका आधारमा निर्धारण गरिन्छ । धेरै केन्द्रहरूमा यसको शुल्क करिब २५ देखि १०० रुपैयाँ वा त्योभन्दा बढी प्रति फोलिकलसम्म हुन सक्छ । कति ग्राफ्ट आवश्यक छ भन्ने कुरामा पनि कूल खर्च निर्भर हुन्छ । त्यसैले मूल्य केन्द्रअनुसार फरक–फरक हुन सक्छ ।
कहिलेकाहीँ अत्यन्त सस्तो दरमा प्रत्यारोपण गरिने विज्ञापन पनि देखिन्छ । तर त्यस्ता ठाउँमा दक्ष चिकित्सक नभई टेक्निसियनले मात्र काम गर्ने जोखिम हुन सक्छ । जसले जटिलता बढाउन सक्छ ।
कपाल झर्न नदिन चिकित्सकीय रूपमा के–कस्ता सुझाव दिनुहुन्छ ?
सामान्यतया दैनिक करिब ८० देखि १०० वटा कपाल झर्नु सामान्य हो । त्यसैले थोरै कपाल झर्दा आत्तिनु पर्दैन । कपाल झर्ने र नयाँ कपाल पलाउने प्रक्रिया सँगसँगै चलिरहेको हुन्छ ।
तर, यदि कपाल असामान्य रूपमा झर्ने, गोलाकार रूपमा झर्ने, टाउको चिलाउने, पोल्ने वा रातो हुने जस्ता लक्षण देखिए भने समयमै चिकित्सकलाई देखाउनुपर्छ ।
वंशाणुगत रूपमा कपाल झर्ने समस्या भएको परिवारका व्यक्तिले सुरुमै मिनोक्सिडिल जस्ता औषधि प्रयोग गरेमा पूर्ण तालुपना हुने समयलाई ढिलो बनाउन सकिन्छ । बच्चाहरूमा संक्रमणका कारण कपाल झर्दा त्यसको उपचार गर्नु आवश्यक हुन्छ ।
कपालको हेरचाह पनि महत्वपूर्ण हुन्छ । कपाल सुक्खा वा चिल्लो छ भने स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ । धेरै चाया पर्ने कपाल भए एन्टिफंगल स्याम्पु हप्तामा एक–दुई पटक प्रयोग गर्न सकिन्छ । सुक्खा कपाल भएका व्यक्तिले नरिवल वा जैतुनको तेल प्रयोग गर्दा मुलायम रहन्छ ।
कपाल असामान्य रूपमा झर्दा भने समयमै परामर्श र उपचार लिएमा जटिलता बढ्नबाट बच्न सकिन्छ ।
(डा. पुडासैनी काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र भक्तपुरस्थित बीएससीसी क्लिनिकमा कार्यरत छन् ।)
तस्वीर/भिडियो : शंकर गिरी ।
प्रतिक्रिया 4