News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म 'कमला मिस' को टिजर सार्वजनिक गरिएको छ।
- फिल्म नाटककार विजय मल्लको नाटक 'कोही किन बर्बाद होस्' मा आधारित छ र शीर्ष अभिनेत्री बास्ना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ।
- फिल्म 'कमला मिस' २२ साउनदेखि प्रदर्शन तयारीमा छ र यसमा शिवराम श्रेष्ठको छायांकन र युग भुसालको संगीत छ।
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को टिजर सार्वजनिक गरिएको छ । टिजर हेर्दा फिल्म मनोवैज्ञानिक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ ।
नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’मा आधारित फिल्मको टिजरमा शीर्ष अभिनेत्री बास्ना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।
दशकपछि निर्देशनमा फर्किएका शाहले यस फिल्ममार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । यसअघि उनले ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।
फिल्ममा शाहसँगै रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारको अभिनय छ ।
फिल्मलाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेका हुन् । उमेश मल्ल, चैतन्य प्रधान, रमेशबाबु श्रेष्ठ र राम भट्टराई कार्यकारी निर्माता हुन् । लाइन प्रोड्युसर पुस्कर लामा हुन् ।
कथा विजय मल्लको हो भने पटकथा तथा संवाद शाह, प्रज्वल दुलाल र सुगम दुलालले लेखेका हुन् ।
शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत र रामजी लामिछानेको नृत्य छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सागर बोहरा हुन् ।
‘कमला मिस’ २२ साउनदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4