News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने तयारी गरेको छ।
- सचिवहरुलाई प्रदेश इन्चार्ज तोक्ने र उपाध्यक्ष, महासचिवलाई विभागीय संयोजक बनाउने प्रस्ताव गरिएको छ।
- महासचिव शंकर पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख र संगठनात्मक कामको संयोजन जिम्मेवारी दिने तयारी छ।
७ जेठ, काठमाडौ । नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने तयारी छ । गत सोमबार बसेको सचिवालय बैठकमा कार्यविभाजन प्रस्ताव भएको थियो । तर त्यस दिन नेताहरुको सम्बोधनमै समय सकिएकाले थप निर्णय भएन ।
एक पदाधिकारीका अनुसार भोलि बस्ने सचिवालय बैठकले प्रस्तावित कार्यविभाजन पारित गर्नेछ । प्रस्तावित कार्ययोजना अनुसार उपाध्यक्ष, महासचिव र उपमहासचिवहरुलाई अरु जिम्मेवारी दिएर सचिवहरुलाई भूगोलको इन्चार्ज तोक्ने तयारी छ ।
सचिवहरु शेरधन राईलाई कोशी, महेश बस्नेतलाई बागमती, खगराज अधिकारीलाई गण्डकी, यमलाल कँडेललाई कर्णाली र छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेशको इन्चार्ज प्रस्ताव गरिएको छ ।
मधेश र सुदूरपश्चिम इन्चार्ज पदाधिकारी बाहेकका नेतालाई तोकिएको छ । लिलानाथ श्रेष्ठलाई मधेश र दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको छ ।
उपाध्यक्ष र उपमहासचिवहरुलाई विभागीय संयोजक तोकिएको छ । उपाध्यक्ष रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरु, विष्णुप्रसाद पौडेललाई पार्टी सम्बद्ध विभागहरु, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभागहरु, रघुजी पन्तलाई मानवश्रोत विभाग सम्बद्ध विभागहरुको संयोजन गर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ ।
महासचिव शंकर पोखरेललाई पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिने तयारी भएको छ । उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुबीर महासेठलाई कृषि तथा उद्यमशील सम्बद्ध विभागहरु र योगेश भट्टराईलाई नीति तथा योजना सम्बद्ध विभागहरु प्रस्ताव गरिएको छ ।
सचिव पद्या अर्याललाई संसदीय मामिला विभाग, भानुभक्त ढकाललाई संगठन, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र हिक्मत कार्कीलाई राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुख प्रस्ताव गरिएको छ ।
पदाधिकारी नभएपनि प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ, विशाल भट्टराईहरुले महत्वपूर्ण विभागको जिम्मेवारी पाएका छन् । ज्ञवालीलाई विदेश विभाग, तामाङलाई स्कूल र भट्टराईलाई जनसंगठन समन्वय संयन्त्रको प्रमुख प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया 4