News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइमा हतारो नगर्न सुझाव दिएको छ।
- एमाले सांसद पद्मा अर्यालले उजुरी र कार्ययोजना अध्ययन आवश्यक भन्दै सुनुवाइमा हतार नगर्न भनिन्।
- संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँग छलफल गरी प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ गर्ने तयारी गरेको छ।
५ जेठ, काठमाडौं । नेकपा एमालेले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइमा हतारो नगर्न सुझाव दिएको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले उजुरी र प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना अध्ययन आवश्यक पर्ने भन्दै सुनवाइमा हतार नगर्न सुझाव दिएकी हुन् ।
‘बैठकमा आउनुपूर्व ठानेको थिएँ आज उजुरी वितरण मात्रै हुन्छ । अर्को दिन अध्ययन गरेर छलफल होला । त्यसपछि सुनुवाइ होला । तर यहाँ आजै सबै भन्ने कुरा आयो । यति हतारो गर्नुपर्ने के चिज पर्यो ?’ अर्यालले प्रश्न गरिन् ।
उनले भनिन्, ‘उजुरीकर्ताको गुनासा सुन्नुपर्ने हुन्छ । हामीलाई बुझ्ने समय पनि छैन । यस्तो हतारो र अपारदर्शी निर्णयले समितिको गरिमामा पनि प्रश्न उठ्छ ।’
संसदीय सुनुवाइ समितिको जारी बैठकमा उनीमाथि परेका उजुरीको विवरण र प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना सदस्यहरुलाई वितरण गरिएको छ । त्यसमा सदस्यहरुले धारणा राखिरहेका छन् ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार आज उजुरीकर्तासँग छलफल गर्ने र आजै प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गर्ने तयारी छ ।
२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया 4