News Summary
Generated by OK AI. Editorially reviewed.- कक्रोजको टाउको काटिए पनि १/२ हप्तासम्म बाँच्न सक्छ र उनीहरूको प्रतिरोध क्षमता धेरै कीटनाशकलाई समेत सहन सक्छ।
कक्रोज अर्थात् साङ्ला । प्राय: हरेक घरमा हुने कीरा । बत्ती निभाएपछि भान्सामा, कोठामा वा बाथरुममा अचानक निस्किने कीरा । यो कीरादेखि प्राय: धेरै जना घिनाउँछन् । डराउँछन् । यही कारण यसलाई मास्न मान्छेहरूले अनेकन् उपाय लगाइरहेका हुन्छन् । कसैले स्प्रे हाल्छन् कसैले पाउडर हाल्छन् । तर भोलिपल्ट फेरि उतिकै संख्यामा कक्रोज देखा परिहाल्छ ।
यो कीरा देखिन त सानो देखिन्छ । तर, हामीले सोचेभन्दा अत्यन्त बलियो, चतुर र ज्याद्रो हुन्छ । वैज्ञानिकहरूका अनुसार कक्रोज करिब ३० देखि ३५ करोड वर्ष पहिलेदेखि पृथ्वीमा छन् । डायनासोरहरू जन्मिनुभन्दा धेरै पहिले उनीहरू थिए । समयको अन्तरालसँगै कयौं जीवहरू लोप भए तर कक्रोज रहिरह्यो ।
आजको समयमा आइपुग्दा यिनीहरूले चिसो, गर्मी, सुक्खा सबै प्रकारको वातावरणमा आफूलाई ढाल्न सक्छन् । आज संसारमा हजारौं प्रजातिका कक्रोज छन् । तर जर्मन कक्रोज, अमेरिकन कक्रोज र ओरियेन्टल कक्रोज बढी पाइन्छन् । तपाईं हाम्रो घरतिर पाइने पनि यिनै हुन सक्ने सम्भावना ज्यादा छ । यीमध्ये जर्मन कक्रोज सबैभन्दा सानो र छिटो फैलिने हुन्छ ।
के बिगार गर्छ ?
कक्रोजको बिगार त्यति ठूलो देखिँदैन । तर, यिनीहरूलाई हेलचेक्राइ गर्दा हामीलाई रोगहरू लाग्न सक्छ । यिनीहरू दिसा-पिसाब, ढल र फोहोर ठाउँमा बस्छन् । त्यहाँबाट हिँड्दै आएर हाम्रो भान्साको खाना, भाँडाकुँडा वा खानेकुरामा दौडिँदा आफ्ना खुट्टा र शरीरमा भएका खतरनाक कीटाणुहरू त्यहीँ छोडिदिन्छन् । त्यस्तो खानेकुरा खाँदा पेट दुख्ने, पखाला लाग्ने र फुड पोइजनिङ हुन सक्छन् ।
त्यस्तै यिनीहरू शरीरबाट निस्कने मसिना भुवाहरू निकै विषालु हुन्छन् । ती हाम्रो फोक्सो पुगेमा एलर्जी हुन सक्छ । विशेष गरी साना बालबालिकाहरूमा दम हुन सक्छ । यसका साथै घरमा राखिएका महत्त्वपूर्ण किताब, कागजपत्र, कपडा र काठका सामानहरू समेत टोकेर कामै नलाग्ने बनाइदिन्छ । हामीले भान्सामा राखेका तरकारी तथा खानेकुराहरू जुठो हालेर खराब बनाइदिन्छ ।
कहिलेकाहीँ त धेरै साङ्लो भएको ठाउँमा यसले सुतिरहेका मान्छेको आँखाको परेलासम्म टोकिदिन्छ ।
तर, मुख्य त यसले पैदा गर्ने मानसिक तनाव हो । यसको हिँडाइ निकै अनौठो खालको हुन्छ । यो कतिखेर कताबाट हिँड्छ, अनुमान गर्न गाह्रो छ । यसले गर्दा धेरै जना साङ्ला देख्नेबित्तिकै आत्तिने, चिच्याउने र डराउने गर्छन् ।
कक्रोज नियन्त्रण गर्न किन गाह्रो छ ?
कक्रोजलाई मार्न सामान्य कीटनाशकले मात्र पुग्दैन । उनीहरूमा केही विशेष क्षमता हुन्छ । जस्तो, कक्रोजको टाउको काटिए पनि १/२ हप्तासम्म बाँच्न सक्छ । उनीहरूको शरीरले आफैं श्वास लिन्छ । टाउको काटिएपछि उनीहरूले खानेकुरा नखाए पनि शरीरको भण्डारबाट बाँच्न सक्छन् ।
यिनीहरूको शरीरमा काइटिन नामको कडा खोल हुन्छ । त्यसले उनीहरूलाई सामान्य चोटबाट बचाउँछ । त्यस्तै यिनीहरू महिनौंसम्म खाना नखाई बाँच्न सक्छन् । पानी मात्र भए पनि १०-१५ दिनसम्म बाँच्छन् ।
यसैगरी यिनीहरूको प्रतिरोध क्षमता पनि अचम्मको गरी बलियो छ । धेरै कीटनाशक प्रयोग हुँदा पनि केही समयमै उनीहरूले प्रतिरोध क्षमता विकास गर्छन् । यसैले एउटा औषधिले मार्न थालेपछि अर्को पुस्ताले त्यसलाई सहन सक्ने हुन्छ ।
यिनीहरू सानो हुने भएकाले जता पनि सजिलै लुक्छन् । त्यस्तै एउटा पोथी कक्रोजले सयौं अण्डा पार्न सक्छ । अर्थात् एउटै कक्रोजबाट छोटो समयमा सयौं कक्रोज जन्मिन सक्छन् ।
यति मात्र होइन कक्रोजले उच्च विकिरण समेत सहन सक्छन् । त्यस्ता विकिरणहरू भने मान्छेका लागि घातक हुने गर्छ ।
भविष्यमा अझ बढी हुन सक्छन्
सन् १९९० को दशकमा चारो (खाने कुरा) सहितको पासो बजारमा आउँदा कक्रोज पूर्णरूपमा अन्त्य हुने ठानिएको थियो । तर, सोचेको भएन । कक्रोजहरूले आफूलाई गुलियो मन नपराउने बनाए । यसले गर्दा उनीहरूले गुलियो खान छाडे । पासो काम लागेन ।
यस प्रकारको तुरुन्तै आफूलाई परिवर्तन गर्न सक्ने कक्रोजको वंशवृद्धि विश्वभर नै अविश्वसनीय रूपमा तीव्र गतिमा बढिरहेको छ । वैज्ञानिकहरूका अनुसार अनुकूल वातावरण पाएमा कक्रोजको एउटै जोडीले दुई वर्षभित्रमा २० देखि ३० लाखसम्म सन्तान उत्पादन गर्न सक्छ ।
यी कारणले गर्दा वैज्ञानिकहरू कक्रोजलाई कहिल्यै पनि मारेर नसकिने बताउँछन् । यतिसम्म कि भविष्यमा यदि मानव प्रजाति नै पृथ्वीबाट लोप भयो भने पनि कक्रोजहरू पृथ्वीमै रहने बताइएको छ । त्यसबेला मान्छेका अवशेषहरू खाएर पृथ्वीमा यिनीहरू टिक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
त्यसमाथि अहिले कक्रोज मार्ने नयाँ र प्रभावकारी औषधिहरू बजारमा आउन सकेका छैनन् । यसको कारण भनेको दशकहरूमा साङ्ला नियन्त्रण भइसकेको भ्रममा विश्वभरका वैज्ञानिकहरू पर्नु हो । यसो हुँदा कक्रोजमाथि अनुसन्धान गर्न कम भयो । धेरैजसो सरकारी अनुदान र कम्पनीहरूको लगानी उडुस जस्ता अन्य कीराहरूतिर मोडियो ।
तर, मान्छेहरू जति धेरै शहरमा केन्द्रीकृत हुँदै जान्छन्, जति अपार्टमेन्ट संस्कृति बढ्छ, त्यति नै कक्रोजको आतंक पनि बढ्ने पछिल्ला अनुसन्धानहरूले देखाएका छन् । किनकि एउटा भवनको एउटा कोठामा मात्र कक्रोज भेटियो भने त्यो प्लम्बिङ र हावा जाने भेन्टिलेटर हुँदै पूरै भवनमा फैलिन कति पनि समय लाग्दैन । त्यसमाथि बढ्दो विश्वव्यापी तापक्रमले गर्दा कीराहरूका लागि अनुकूल मौसम लम्बिने हुँदा तिनीहरूको सङ्ख्या अझै तीव्र गतिमा बढ्ने बताइएको छ ।
बीबीसीसँगको अन्तर्वार्तामा कीराविज्ञ डा. फिलिप कोहलरले क्रकोजलाई पूर्णरूपमा नियन्त्रण गर्न गाह्रो हुने बताएका थिए । विगत ३० करोड वर्षदेखि आफ्नो अघि आएका चुनौतीहरूलाई हल गर्दै गइरहेका हुनाले कक्रोजलाई बुझ्नै नसकिने उनको तर्क थियो ।
प्रतिक्रिया 4