+
+
Shares

सुर्खेत विमानस्थलमा निःशुल्क सटल बसको सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बस सेवा जेठ ८ गतेदेखि विस्तार गरी कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्‍चालन गरिनेछ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले यात्रुको सुविधाका लागि सटल बस सेवा विस्तार गर्न निर्देशन दिनुभएको छ।
  • सटल बस सेवा विस्तारले विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावत र निजी सवारीको महँगो खर्च कम हुने स्थानीय व्यवसायीले बताएका छन्।

७ जेठ, काठमाडौं । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको निःशुल्क सटल बसको सेवा विस्तार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमानस्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिए ।

उक्त निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निःशुल्क सटल बस सेवा विस्तार गरिएको जानकारी दिएका हुन् । उनले बिहीबार नै एक सूचना जारी गर्दै सेवा विस्तार गरिएको जानकारी गराए । सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा विस्तार गरिएको छ ।

विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘यस नागरिक उड्डयन कार्यालयाट यात्रुका लागि निःशुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म सञ्‍चालन हुँदै आएकोमा उक्त सटल बस सेवा जेठ ८ गतेदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्‍चालन हुनेछ ।’

सुर्खेत विमानस्थल कर्णाली प्रदेशको पर्यटन, व्यापार तथा प्रशासनिक गतिविधिको प्रमुख हवाई केन्द्रका रूपमा विकास हुँदै गएको छ । पछिल्लो समय काठमाडौंबाट दैनिक नियमित उडान हुने र कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुहरूको संख्या बढ्दै जाँदा विमानस्थल आसपास यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो ।

यही अवस्थालाई सहज बनाउन सटल बस सेवा विस्तार गरिएको पर्यटन मन्त्रालयका सचिव निरौलाले बताएका छन् । उनले भने, ‘विशेषगरी आन्तरिक हवाई यात्रु, पर्यटक, ज्येष्ठ नागरिक तथा पहिलो पटक सुर्खेत आउने यात्रुहरूलाई लक्षित गर्दै यो सेवा प्रभावकारी बनाउन सञ्‍चालन रुट विस्तार गरिएको छ ।’

यात्रुले विमानस्थलबाट बजारसम्म पुग्न महँगो निजी सवारी प्रयोग गर्नुपर्ने बाध्यता कम हुने उनले बताए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग विमानस्थलको पहुँच थप व्यवस्थित हुँदा पर्यटन तथा सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?