+
+
Shares

सरकारले ल्याएको ‘मोफा मित्र एप’ मा विदेशका नेपालीले कसरी उजुरी गर्ने ?

एपमार्फत आफूले गरेको निवेदनको स्थिति कस्तो छ ? त्यसमाथिको कारबाही तथा अनुसन्धान कहाँ पुग्यो भन्नेसम्मको अपडेट हेर्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको समस्या र गुनासो सम्बोधन गर्न \'मोफा मित्र\' मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
  • परराष्ट्रमन्त्री शिशिर खनालले डिजिटल प्रविधिमार्फत कन्सुलर सेवालाई थप सहज र प्रभावकारी बनाउन आयोजित कार्यक्रममा सो एपको औपचारिक उद्घाटन गरे ।
  • एपमार्फत दर्ता हुने गुनासो र निवेदन अब विभाग नगई सीधै सम्बन्धित नेपाली नियोगमा पुग्ने विभागकी महानिर्देशक दुरपदा सापकोटाले बताइन् ।

१२ जेठ, काठमाडौं । विदेशमा रहेका नेपालीका समस्या तथा गुनासो सम्बोधन गर्न सरकारले ‘मोफा मित्र’ एप ल्याएको छ ।

परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले मोबाइल एप ‘मोफा मित्र’ ल्याएको हो । एन्ड्रोइड तथा आईएसओ फोनहरूमा उक्त एप डाउनलोड गर्नुपर्छ ।

विभागका सूचना प्रविधि अधिकृत नविनकुमार झाका अनुसार उक्त एपमा विशेषगरी चार वटा फिचर छन् । जसमा खोजतलास तथा उद्धार, शव व्यवस्थापन, बीमा/क्षतिपूर्ति र गुनासो/समस्या रहेका छन् ।

त्यस्तै एपमार्फत आफूले गरेको निवेदनको स्थिति कस्तो छ ? त्यसमाथिको कारबाही तथा अनुसन्धान कहाँ पुग्यो भन्नेसम्मको अपडेट हेर्न सकिने झाले बताए ।

त्यस्तै विदेशस्थित नेपाली नियोगहरूका सम्पूर्ण सम्पर्क नम्बर, ट्राभल एड्भाइजरी समेत एपबाटै हेर्न सकिने व्यवस्था मिलाइएको झाले बताए । त्यसका लागि पासपोर्ट नम्बर र जन्ममिति राखेको खण्डमा सहजै उजुरी, गुनासो तथा निवेदन गर्न सकिने छ ।

एपमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका, हराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइन मार्फत निवेदन दर्ता, मृत्यु भएको अवस्थामा शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति रकम दाबी लगायत अन्य गुनासो तथा समस्या दर्ता गर्न सकिने विभागले जनाएको छ । त्यसका साथै आफ्नो निवेदन उपर भएको काम कारबाहीको जानकारी लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

एपमा नेपाली नियोगहरूको सम्पर्क विवरण तथा नियोगले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, ट्राभल एड्भाइजरी तथा सुरक्षा सूचना एवं कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्न तथा अन्य उपयोगी जानकारी समेत समावेश गरिएको विभागले जनाएको छ ।

एपको परराष्ट्रमन्त्री शिशिर खनालले औपचारिक रूपमा उद्घाटन गरेका छन् । आज विभागमा आयोजित कार्यक्रममा मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधि उपयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगहरूबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याको प्रभावकारी सम्बोधनमा यो एपले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

यसअघि विभागले अनलाइन मार्फत गुनासा तथा निवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर, अनलाइन मार्फत दिँदा सबैभन्दा पहिला उक्त निवेदन तथा गुनासो विभागमा पुग्ने र विभागले नियोगमा पठाउनुपर्ने बाध्यता थियो । तर, एपमार्फत गर्दा सिधै नियोगमा जाने विभागका महानिर्देशक दुरपदा सापकोटाले बताइन् ।

महानिर्देशक सापकोटाले कन्सुलर सेवा थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीति अनुरूप कन्सुलर सेवाको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि विभाग सक्रिय रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?