+
+
Shares

अमेरिकी सरकारमा इलन मस्कको ‘ग्रोक’ असफल

मस्कले ठुला कम्पनी र संस्थाहरूका लागि एआई बनाएर खर्बौ‌ं डलर कमाउने दाबी गरेका थिए। तर सरकारी क्षेत्रमै यसको माग नहुनुले ठुलो धक्का पुर्‍याएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १९:०८

इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ‘एक्सएआई’ ले खर्बौ डलरको एआई बजार कब्जा गर्ने दाबी गरेको छ। यसै दाबीका आधारमा मस्कका कम्पनीहरूको बजार मूल्याङ्कन निकै उच्च राखिएको छ। तर एक्सएआईको ‘ग्रोक’ च्याटबोट अमेरिकी सरकारमा पूर्ण रूपमा असफल भएको छ। रोयटर्सले सरकारी कागजात र अधिकारीहरूसँग गरेको कुराकानीबाट यो तथ्य बाहिर आएको हो।

सरकारी तथ्याङ्कले के देखाउँछ?

सन् २०२५ को सरकारी रेकर्ड अनुसार अमेरिकी संघीय एजेन्सीहरूमा एआई प्रयोगका ४०० भन्दा बढी उदाहरणहरू छन्। तीमध्ये केवल तीनवटा ठाउँमा मात्र ग्रोक एआईको प्रयोग भएको पाइएको छ। यसको विपरीत २३४ वटा काममा ओपनएआईको च्याटजीपीटी र माइक्रोसफ्ट कोपाइलट प्रयोग भएका छन्। त्यस्तै ३३ वटा काममा गुगलको जेमिनी र २६ वटा काममा एन्थ्रोपिकको ‘क्लोड’प्रयोग भएका छन्।

एक्सएआईले अमेरिकी सरकारी एजेन्सीहरूलाई आकर्षित गर्न ग्रोकको शुल्क प्रति एजेन्सी मात्र ४२ सेन्ट राखेको थियो। यो लगभग नि:शुल्क जस्तै मूल्य हो। प्रविधि कम्पनीहरूले सुरुमा ग्राहकलाई आफ्नो उत्पादनमा बानी पार्न यो रणनीति अपनाउँछन्। तर यति सस्तो हुँदा पनि सरकारी कर्मचारीहरूले ग्रोकलाई मन पराएका छैनन्।

एक्सएआईको मूल्याङ्कनमा प्रश्नचिन्ह

यो तथ्याङ्कले एक्सएआई कम्पनीको महत्त्वाकाङ्क्षी व्यावसायिक मूल्याङ्कनमा गम्भीर प्रश्न उठाएको छ। मस्कले ठुला कम्पनी र संस्थाहरूका लागि एआई बनाएर खर्बौ‌ं डलर कमाउने दाबी गरेका थिए। तर सरकारी क्षेत्रमै यसको माग नहुनुले ठुलो धक्का पुर्‍याएको छ। विश्लेषकहरूका अनुसार सरकारी मान्यता नपाउँदा निजी कम्पनीहरूले पनि ग्रोकमाथि शंका गर्नेछन्। यसले ग्रोकको सुरक्षा र गुणस्तरमा कमी रहेको संकेत गर्दछ।

मस्कले सरकारी काममा ग्रोकको प्रयोग बढाउन ठुलो लबिङ गरेका थिए। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर सरकारभर एआई भित्र्याउने घोषणा गरेका थिए। मस्कको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डोज)  ले पनि ग्रोक प्रयोग गर्न दबाब दिएको थियो। तरडिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ले अनुमति नभएको भन्दै ग्रोक प्रयोग गर्न मानेन।

पेन्टागन र अन्य मन्त्रालयको अनुभव

ग्रोक एआई अहिले ऊर्जा मन्त्रालय र निर्वाचन सहायता आयोगमा केवल परीक्षणका रूपमा मात्र सीमित छ। ती मन्त्रालयमा यसलाई सामान्य चिठ्ठीपत्र लेख्न वा सामाजिक सञ्जालमा पोस्ट गर्न मात्र प्रयोग गरिएको छ। अमेरिकी रक्षा मन्त्रालयसँग एक्सएआईको २०० मिलियन डलरको सम्झौता छ। तर त्यहाँका कर्मचारीहरू पनि ग्रोकको सट्टा अन्य प्रतिस्पर्धी एआई टुलहरू मन पराउँछन्।

पेन्टागनको अनुसन्धान निकायमा इन्जिनियरिङ विश्लेषणका लागि गुगल जेमिनी र कोडिङका लागि क्लोड एआई प्रयोग गरिन्छ। त्यहाँका प्राविधिकहरू ग्रोकलाई बजारको सबैभन्दा उत्कृष्ट मोडल मान्दैनन्। हालै ग्रोकले भेटेरान्स अफेयर्स मन्त्रालयको एउटा ठेक्का पनि गुमाएको छ। ग्रोकले सो मन्त्रालयले तोकेका प्राविधिक मापदण्डहरू पुरा गर्न सकेन।

व्यावसायिक बजारमा पनि कमजोर

सरकारी क्षेत्रमा मात्र नभई निजी व्यावसायिक बजारमा पनि ग्रोक निकै पछि परेको छ। एउटा प्रविधि अनुसन्धान संस्थाको प्रतिवेदन अनुसार कर्पोरेट क्षेत्रमा ग्रोकको प्रयोग लगातार घटिरहेको छ। पहिले प्रतिहजार  प्रयोगकर्तामा ५ जनाले ग्रोक चलाउने गर्थे। अहिले त्यो संख्या घटेर २ जनामा सीमित भएको छ।

यसका साथै ग्रोक चलाउनेहरूले च्याटजीपीटी प्रयोगकर्ताको तुलनामा आधा समय पनि यस एपमा बिताउँदैनन्। यसले ग्रोक एआई अमेरिकी कर्पोरेट र सरकारी बजारको मूलधारमा आउन नसक्ने स्पष्ट पारेको छ। एआई बजारमा गुगल, माइक्रोसफ्ट र ओपनएआई निकै अगाडि छन् भने एक्सएआई निकै पछि परेको छ।

(रोयटर्सको रिपोर्टमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?