News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले बाजुराको खप्तडमा आयोजित गङ्गादशहरा मेलाका अवसरमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
- शिविरबाट २२९ महिला र २२७ पुरुष गरी कुल ४५६ जना तीर्थालु तथा पर्यटक लाभान्वित भएका छन्।
- चार जिल्लाको सङ्गमस्थल खप्तडमा लागेको यस वर्षको मेलामा करिब ५ हजार ६ सय श्रद्धालु भक्तजन सहभागी भएका थिए।
१३ जेठ, बाजुरा । नेपाली सेनाले धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
खप्तडमा लागेको गंगादशहरा मेलाको अवसरमा नेपाली सेनाले शिविर सञ्चालन गरेको थियो । खप्तड राष्ट्रिय निकुञ्जमा अवस्थित समरजीत गुल्म खप्तड व्यारेक बाजुराले खप्तड पुग्ने तीर्थालु तथा पर्यटकहरूलाई लेक लाग्ने तथा बिरामी हुने भन्दै मेला अवधिभर नै शिविर आयोजना गरेको सेनाले वताएको छ ।
खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ । यो बर्ष जेठ १०, ११ र १२ गते गंगादशहरा मेला लागेको थियो ।
मेलाको अवसरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा साढे ४ सय बढीले सेवा लिएको समरजीत गुल्म खप्तड व्यारेक बाजुराका गुल्मपति अनुपम अर्यालले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा २ सय २९ महिला र २ सय २७ पुरुष गरी ४ सय ५६ जना तीर्थालु तथा पर्यटकहरूको तीन दिनसम्म नि:शुल्क रुपमा स्वास्थ्य चेकजाँच, उपचार र औषधि वितरण गरिएको छ ।
पर्यटक तथा भक्तजनहरूको स्वास्थ्यमा हुने अनेक समस्या तथा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ गुल्मले नेपाली सेनामा कार्यरत प्राविधिक उपसेनानी डाक्टर कामना मल्ल सहितको चेकजाँच टोलीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले बताएको छ ।
अक्सिजन चाइने बिरामीका लागि अक्सिजनको समेत व्यबस्थापन गरेको थियो । सेनाले मेलामा आएकालाई बस्न, खानलागयत अन्य कुनै समस्या नहोस् भनेर पालको व्यवस्था गरेको थियो । मेलामा आएका भक्तजनहरूका लागि हरेक वर्ष सेनाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका जनाएको छ ।
बाजुरा, बझाङ, अछाम र डोटी गरी चार जिल्लाको संगमस्थल खप्तडमा लागेको गंगादशहरा मेलामा यस वर्ष पनि सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक मेला भर्न पुगेका थिए । यस्तै समरजीत मुल्म खप्तड व्यारेक बाजुराका अनुसार यस बर्षको गंगादशहरा मेलामा करिव ५ हजार ६ सय जना श्रद्धालु भक्तजनहरू उपस्थिति भएका छन् ।
समरजीत गुल्म, खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, खप्तड पर्यटन व्यवस्थापन समिति लगायतका संघ संस्थाहरूको समन्वय गरी मेला सुरक्षित तथा व्यवस्थित रुपमा सम्पन्न भएको जनाएको छ । यस बर्षको गंगादशहरा मेलामा खप्तड त्रिवेणी मन्दिरमा धार्मिक पूजाआजासँगै भलिबल प्रतियोगिता, घोडा दौड, देउडा लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो ।
खप्तड राष्ट्रिय निकुञ्जमा गंगादशहरा मेलासँगै त्रिवेणी मन्दिर, खप्तड बाबाको आश्रम, नाग ढुङ्गा, पाटन, खापर दह, केदार ढुङ्गा, सहस्रलिङ आदि धार्मिक तथा पर्यटकीय स्थलहरू मुख्य आकर्षणका केन्द्रहरू मानिन्छन् । भू–स्वर्गका रुपमा वर्णन गरिने खप्तड एक प्रकृतिको उपहारसँगै धार्मिक आस्थाको धरोहरका रुपमा पनि परिचित छ ।
प्रतिक्रिया 4