१४ जेठ, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका-८ स्थित काचन गाउँमा सुरक्षित सुत्केरी गराउन निर्माण सुरु भएको बर्थिङ सेन्टर निर्माण सम्पन्न नहुँदै अलपत्र परेको हो । उक्त निर्माणाधीन बर्थिङ्ग सेन्टर चार वर्षदेखि बजेट अभावमा अलपत्र अवस्थामा छ ।
संघीय निर्वाचन विकास क्षेत्र कार्यक्रमअन्तर्गत निर्माण सुरू भएको उक्त बर्थिङ्ग सेन्टर निर्वाचन विकास क्षेत्र कार्यक्रम बन्द भएसँगै अलपत्र परेको हो ।
भवन निर्माणका लागि तत्कालीन प्रतिनिधि सभा सदस्य युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बजेट विनियोजन गराएका थिए ।
पछिल्लो समय बर्थिङ्ग सेन्टर भवन बनाउन नगरपालिकाले पनि बजेट छुट्याएको छैन । प्रसूति भवनले पूर्णता नपाउँदा पालिकाका महिलाहरू चेकजाँच र प्रसूति सेवाका लागि बाहिर जानु पर्ने बाध्यता हटेको छैन ।
आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ मा उपभोक्ता समिति गठन गरी ६० लाख खर्चेको बोदेबरसाईन नगरपालिकाले उक्त योजनाप्रति पछिल्लो समय अपनत्व ग्रहण नगर्दा नेपाल सरकार लगानी खेर गइरहेको छ ।
स्थानीयको स्वास्थ्यप्रति नगरपालिका कतिको जिम्मेवार रहेको प्रष्ट भइरहेको स्थानीयको भनाइ छ ।
बोदेबरसाईन नगरपालिका-८ का वडाअध्यक्ष बैजनाथ चौधरीले निर्वाचित भएको चार वर्ष भइसक्दा पनि अधुरो बर्थिङ्ग सेन्टर बन्नुपर्छ भनी अहिलेसम्म नगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तावसमेत लगेका छैन ।
बोदेबरसाईन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माका अनुसार अधुरो भवनमा पार्टेसन, झ्याल, ढोका, रंगरोगन र कमपाउण्डको पर्खाल बनाउन बाँकी रहेको बताए । उनले आउँदो नगरसभाबाट बजेट विनियोजन भए बर्थिङ्ग पूर्णता पाउने बताए ।
काचन वर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समिति अध्यक्ष अरूण चौधरीले निर्वाचन क्षेत्र विकास कार्यक्रम बन्द भएकाले स्थानीय सरकारले बजेट विनियोजन गरी बर्थिङ्ग सेन्टर सञ्चालन ल्याउनु पर्नेमा जोड दिए ।
स्थानीय बिलट दासले नगरपालिकाले बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याउनमा बजेट विनियोजनका लागि चासो नदिएको आरोप लगाए ।
यस्तै बोदेबरसाईन नगरपालिका-९ स्थित सिमरहा बर्थिङ्ग सेन्टर निर्माणाधीन भवन समेत अलपत्र अवस्थामा रहेको छ । उक्त बर्थिङ्ग सेन्टरको भवनमा समेत पलास्टर, झ्याल, ढोका रंगरोगन र कमपाउण्डको पर्खाल बनाउन बाँकी छ ।
यसैगरी वडानम्बर-१० स्थित खडकपुर बर्थिङ्ग सेन्टरको भवन बनीसक्दा पनि नगरपालिकाले सञ्चालनमा ल्याउन सकेको छैन ।
प्रतिक्रिया 4