काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको ‘डार्क कमेडी’ फिल्म ‘जिरो डिग्री’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पहिलो झलक सार्वजनिक गर्दै तिहारमा फिल्म आउने जनाएका हुन् ।
पहिलो झलकले दर्शकीय कौतुहलता जगाएको छ, जसमा अभिनेता विजय बराललाई ‘पुण्य चौलागाईं’ नामक वडाध्यक्षको रुपमा फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ ।
फस्टलुक भिडियोमा पृष्ठभूमिबाट गुन्जिने ‘जहाँ समस्या त्यहाँ पुन्य चौलागाईं’ भन्ने संवाद र लगत्तै पुन्यको ‘यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो’ भन्ने संवादले उनी गाउँको एक चलाख र चतुर जनप्रतिनिधि हुन् भन्ने प्रस्ट पार्छ ।
बाक्लो जुँगा, चस्मा, ढाकाटोपी र सुटमा सजिएका विजयको एक दृश्य निकै प्रतीकात्मक र व्यंग्यात्मक छ । ‘पुन्य चौलागाई वडा अध्यक्ष’ लेखिएको नेमप्लेट अगाडि बसेर उनले पैसा बुझिरहेका (लेनदेन गरिरहेका) छन्, तर विडम्बना नै मान्नुपर्छ, उनको पछाडि भित्तामा टाँसिएको बोर्डमा भने ठूला अक्षरले ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको छ ।
यसले फिल्ममा नेपाली राजनीतिको यथार्थ र नेताको दोहोरो चरित्रलाई डार्क कमेडीको माध्यमबाट कसिलो व्यंग्य प्रहार गरिएको सङ्केत गर्छ । यसका साथै, वडाध्यक्ष चौलागाईं सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको र गाउँलेले पहाडी बाटोमा एउटा ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथाको गहिराइलाई थप रहस्यमयी बनाएको छ ।
फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिमा केन्द्रित छ ।
भिडियोमा गाउँलेले बोकेको उक्त काठको बाकसभित्र त्यही ‘डीप फ्रिज’ रहेको सहजै अनुमान गर्न सकिन्छ । अघिल्लो फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण तथा निर्देशन गर्ने जोडी सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन एवं पटकथा यसमा छ ।
कास्कीको धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका रमणीय बस्तीमा छायांकन गरिएको फिल्ममा प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइलीको अभिनय छ ।
प्रतिक्रिया 4