+
+
Shares

चेर्दुङ चिनाउने तस्वीर प्रदर्शनी

दोलखाको हिलस्टेसन चेर्दुङ (३,६९० मिटर)को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते २०:५९

१४ जेठ, काठमाडौं । दोलखाको हिलस्टेसन चेर्दुङ (३,६९० मिटर)को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । जिरी उपत्यका र सुरी गाउँको शिरमा रहेको हिलस्टेसन चेर्दुङका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको हो ।

एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्वीरहरू’ शीर्षक तीन दिने प्रदर्शनीमा लामाले खिचेका ३१ ओटा तस्वीर राखिएका छन् ।

ती तस्वीरमा गौरीशंकर हिमशृंखला, स्थानीय जीवनशैली, जिरी उपत्यका, झ्याँकुु गाउँ, साइक्लिङ, स्थानीय संस्कृति आदिका प्रतिबिम्ब समावेश छन् ।

विश्व पर्वतारोहण महासंघका मानार्थ विज्ञ दूत एवं पर्यटनविज्ञ आङछिरिङ शेर्पाले प्रदर्शनको उद्घाटन गरेका हुन् । उनले चेर्दुङसँगका अनुभूति बाँड्दै प्रदर्शनीबाट चेर्दुङ चम्किने विश्वास व्यक्त गरे ।

प्रदर्शनीको उद्घाटन समारोहमा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, पर्यटन पत्रकार अमृत भादगाउँलेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

पत्रकार लामाले जन्मथलोप्रतिको अभिभारा पूरा गर्न निरन्तर लागि पर्नेे प्रतिबद्धता जनाएका थिए ।

चेर्दुङको परिचय

दोलखाको चेर्दुङ आफैंमा प्रकृति र अध्यात्मको दोभान हो । यहाँबाट हिमाली सौन्दर्य, सूर्योदय र सूर्यास्तको मनोहारी दृश्य नियाल्न पाइन्छ । डाँडाबाट गौरीशंकर हिमालसँग आँखा जुधाउँदा स्वर्गलोकमा पुगेको अनुभूति हुन्छ । मनको तनाव, पीडा र अप्ठेरोबाट मुक्ति मिल्छ ।

चेर्दुङले जिरी नगरपालिकाका चार र गौरीशंकर गाउँपालिकाका दुई वटामा फैलिएको छ । चेर्दुङबाट पश्चिमदेखि पूर्वसम्म हिमालको लामो लस्कर देखिन्छ । पूर्वी भेकबाट व्रmमश: नुम्बुर, रामदुङ, छेकिगो, धारे मेलुङत्से, लाक्पा दोर्जे, टासी लाप्चा, गौरीशंकर, आमा बामरे, गणेश र गोर्खा हिमाल देख्न सकिन्छ । गौरीशङ्कर हिमाल त आँखै सामुन्ने देखिन्छन् ।

चेर्दुङ धार्मिक दृष्टिकोणबाट हिन्दु र बौद्धमार्गीको साझा तीर्थ मानिन्छ ।  डाँडाको शिरमा चेर्दुङेश्वर महादेव मन्दिर छ । नजिकै एउटा ठूलो ढुङ्गामा गुरु रिम्पोचे (पद्यसम्भव)का पाइला छन् ।

हिन्दु चेर्दुङेश्वरलाई त्रिशूल चढाउँछन् भने बौद्धमार्गी रिम्पोचेको सम्मानमा धर्ज्यू र लुङ्दार फर्फराउँछन् ।

चेर्दुङेश्वरलाई पुजेमा रोगव्याध नलाग्ने, वन्यजन्तुले चौपायलाई दु:ख नदिने जनविश्वास छ । यहाँ चण्डी पूर्णिमामा मेला लाग्छ ।

बौद्धमार्गीका मतअनुसार गुरु रिम्पोचे हिमाली भेगमा बौद्ध धर्म फैलाउने क्रममा यहाँ आइपुगेका थिए । यता आएर उनी ध्यानमा बसे । डाँडामा ओढार पनि छ, जसलाई ध्यान केन्द बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?