News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले गत ३० वैशाखमा संघीय मन्त्रालयको संख्या १८ मा झार्दै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ ।
- नयाँ मन्त्रालयले हाल साविककै शिक्षा मन्त्रालयको परिसरबाट आफ्नै लेटर हेडमा दैनिक प्रशासनिक कामकाज शुरू गरेको छ ।
- आगामी आर्थिक वर्षदेखि मन्त्रालयको छुट्टै बजेट प्रणाली लागू हुनेछ भने संगठन संरचनाका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको छ ।
१४ जेठ, काठमाडौं । गत ३० वैशाखमा प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गर्यो।
चारवटा मन्त्रालय घटाउँदै गर्दा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ नामको नयाँ मन्त्रालय गठन भएको छ ।
प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै मन्त्रालय आवश्यक रहेको भन्दै सरकारले यस्तो निर्णय लिएको थियो ।
सुरुवातमा मन्त्रालय हेरफेर गर्ने गाइँगुइँ चल्दा नवप्रवर्तनसम्बधी मन्त्रालयको कुनै चर्चा थिएन । लामो समय यही क्षेत्रमा वकालत गर्दै आएका पूर्वशिक्षामन्त्री महावीर पुनले यसमा आपत्ति नै जनाएका थिए ।
‘यसो सामाजिक सञ्जालतिर हेर्दा त अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनसम्बन्धी काम गर्ला जस्तो छाँट त पटक्कै देखिएन,’ उनले आपत्ति जनाउँदै लेखेका थिए, ‘बरु नवप्रवर्तनलाई त उद्योग मन्त्रालयतिर हाल्नु पो खोजेजस्तो बुझिन्छ । अनि विज्ञान प्रविधि मन्त्रालयको त बिउ नै निर्मूल पार्ला जस्तो पो बुझिन्छ ।’
हुन पनि त्यसबेलासम्म बाहिर आएका सूचनाहरूमा उक्त मन्त्रालय गठन गर्ने कुनै छनक दिएको थिएन । बरु सरकारले १७ वटा मन्त्रालयमा सिमित गर्ने योजना बनाइसकेको थियो ।

यसरी बाहिर आलोचना बढेपछि अन्ततः सरकारले १८ वटा मन्त्रालय बनाउने निर्णय गर्दै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ थप गर्यो ।
त्यसपछि आक्रोशित महावीर पुन खुसी सुनिए । प्रतिनिधिसभाका पछिल्ला बैठकमा समेत उनले यसबारे माग उठाइरहेका थिए । त्यसैले आफूले लामो समयदेखिको उठाउँदै आएको माग सरकारले पूरा गरेको भन्दै उनले सरकारलाई धन्यवाद दिए ।
त्यसअघि पनि सांसद पुनले गत ८ वैशाखमा प्रधानमन्त्रीलाई पत्र लेख्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग राखेका थिए ।
प्रधानमन्त्रीलाई बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्मका कुनै पनि शासक, सरकार र नेताहरूले विज्ञान प्रविधि तथा अनुसन्धानलाई प्राथमिकता नदिँदा देश आर्थिक रूपमा अत्यन्त गरिब भएको उल्लेख थियो ।
साथै, प्रतिभाशाली, सृजनशील र नवीन सोच भएका अधिकांश युवाहरू देशले गुमाइरहेको, जसका कारण स्वदेशमा उद्यमीहरू जन्मन नसकेको र रोजगारीको सिर्जना पटक्कै हुन नसकेको पनि उनले पत्रमा उल्लेख गरेका थिए ।
सरकारले अन्ततः नवप्रवर्तनसम्बन्धी छुट्टै मन्त्रालय बनायो, जुन अहिलेसम्म प्रधानमन्त्री बालेन्द्र शाहकै मातहतमा छ ।
शिक्षाबाट टुक्रिएर बनेको यो मन्त्रालयमा के भइरहेको छ त ? प्रधानमन्त्री कार्यलयका सहसचिव हेमराज अर्यालका अनुसार यो मन्त्रालयले अहिले आफ्नो छुट्टै लेटर हेडमा काम गर्न थालेको छ ।
साथै साविकको खेलकुद मन्त्रालयमा मन्त्रालयको संरचना निर्माणको काम चलिरहेको छ । त्यसमा अहिले बोर्ड राख्ने काम सम्पन्न भइसकेको छ ।
‘अहिलेसम्म मन्त्रालय आफ्नो भवनमा सरिसकेको छैन । साविकको खेलकुदबाट युवा मन्त्रालय श्रमतिर जाने र खेलकुद आफैँ शिक्षातिर पूर्णरूपमा सरिसकेपछि त्यहाँ खाली हुन्छ र नवप्रवर्तनसम्बन्धी मन्त्रालय यता आउँछ,’ प्रधानमन्त्री कार्यलयका प्रवक्तसमेत रहेको अर्यालले भने, ‘यताको भवनमा बोर्डहरू भने राखिसकेका छौँ । बाँकी काम नसकिएकाले अहिलेसम्म शिक्षा मन्त्रालयकै संरचनामा रहेर यो मन्त्रालयको काम भइरहेको छ ।’
साविकको विज्ञान–प्रविधि महाशाखाका सहसचिव शैलेसकुमार झाका अनुसार पनि नयाँ मन्त्रालय अन्तर्गतको सबै दैनिक कामकाज सुरु भइसकेको छ । तर मन्त्रालय पूरै आफ्नो खुट्टामा उभिन भने अझै केही समय लाग्नेछ ।
कारण – गत चालु आर्थिक वर्षको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका नाममा बजेट छुट्टाइएको थियो । नयाँ मन्त्रालयहरूमा बजेट छैन । त्यसैले साविककै बजेटबाट काम चलाइरहेको अवस्था छ ।
नयाँ मन्त्रालय सार्ने भनिएको भवन पूरै खाली भइनसकेकाले विज्ञान–प्रविधिसँग सम्बन्धित दुईवटा महाशाखाका कर्मचारीहरू अहिले पनि शिक्षा मन्त्रालयकै परिसरमा बसेर काम गरिरहेका छन् । सोही विभागका कर्मचारीले नै नयाँ मन्त्रालयको कामकाज सम्हाल्न थालिसकेका छन् ।

नयाँ मन्त्रालयको हकमा यो सङ्क्रमणकालीन व्यवस्था भएकाले दीर्घकालीन समाधानका लागि स्थानान्तरण प्रक्रिया अगाडि बढिरहेको हो ।
कामकाजको हकमा पनि विज्ञान–प्रविधिका दुवै महाशाखाले वार्षिक कार्यक्रमअनुसारको अनुगमन, नीतिगत काम र दैनिक प्रशासनिक कार्यहरू निरन्तर गरिरहेका छन् ।
‘कुनै पनि काम रोकिएको छैन, सबै काम भइरहेको छ । साविककै स्थानमा रहेर नयाँ मन्त्रालयको लेटरहेडमा काम थालेका छौँ,’ सहसचिव झाले भने ।
बजेटको कुरा गर्दा चालु आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयकै बजेट प्रणालीबाट खर्च भइरहेको छ । नयाँ मन्त्रालयको छुट्टै बजेट अहिले नभए पनि यसले काममा कुनै अवरोध नल्याएको झाले बताए । उनका अनुसार, आगामी आर्थिक वर्षदेखि भने मन्त्रालयको आफ्नै छुट्टै बजेट प्रणाली लागु हुनेछ । अर्थ मन्त्रालयले त्यसको तयारी गरिरहेको छ ।
त्यस्तै, मन्त्रालयको संगठन संरचना निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण अर्थात ओएनएमको काम पनि भइरहेको छ । यो सर्वेक्षणले मन्त्रालयमा कति दरबन्दी चाहिन्छ, कुन कुन विभाग र शाखाहरू बन्छन् भन्ने टुङ्गो लगाउनेछ ।
प्रधानमन्त्री कार्यलयका प्रवक्ता अर्यालका अनुसार पनि प्रधानमन्त्री कार्यालयले यस प्रक्रियालाई सहजीकरण गरिरहेको छ ।
‘ओएनएम फाइनल भएपछि र मन्त्रालयका सचिव तोकिएपछि मन्त्रालय पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । अहिले नयाँ मन्त्रालयमा सचिव पनि नरहेकोले (मन्त्रालय टुक्रिनुअघि नै सरुवा भएपछि रिक्त रहेको थियो) त्यसबाहेकका तत्कालीन विज्ञान–प्रविधि विभागका सबै कर्मचारीहरूले आफ्नो तरिकाले नियमित काम गरिरहनुभएको छ,’ उनले भने ।
तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4