१४ जेठ, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले चालु आर्थिक वर्षमा अवैध सामान नियन्त्रणमार्फत राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएको छ ।
गणको १९औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म मात्रै ९ करोड ८२ लाख ७८ हजार ३ सय २९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका एसपी सुमन जंग थापा क्षेत्रीका अनुसार, यस उपलब्धिले सीमा क्षेत्रमा हुने अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा समेत ९ करोड ६० लाख ९३ हजार ९ सय ८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको तथ्यांक सार्वजनिक गरिएको छ ।
सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोकथामलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले निरन्तर निगरानी, गस्ती तथा सूचना–आधारित कारबाहीलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख कृष्ण ढकालले प्रहरी नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै नागरिकमाथि कुनै पनि प्रकारको दुर्व्यवहार स्वीकार्य नहुने बताए ।
उनले भने, ‘नागरिकले सेवाको क्रममा जस्तोसुकै प्रतिक्रिया दिए पनि त्यसको प्रतिकार गर्ने छुट प्रहरीलाई छैन। प्रहरीको जिम्मेवारी कानुन कार्यान्वयन गर्नु हो, तर नागरिकलाई दुःख दिने कुनै मनसाय स्वीकार्य हुँदैन ।’
ढकालले प्रहरी संगठन नागरिकको करबाट सञ्चालन हुने भएकाले हरेक प्रहरी उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बताए।
स्थापना दिवसको अवसरमा सीमा सुरक्षा, राजस्व संरक्षण र नागरिकमैत्री प्रहरी सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख बासुदेव पाठक, विभिन्न स्थानीय तहका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका एसपी सुमन जंग थापा क्षेत्रीले गरेका थिए ।
प्रतिक्रिया 4