+
+
Shares

चीनमा अवार्ड जितेका ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १३:१४
प्रदर्शन हुन लागेको एक फिल्म 'ट्रयाप्ड' को एक दृश्य ।
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरिएका ६ चिनियाँ फिल्म आगामी जुन २ देखि ४ सम्म काठमाडौंको छायाँ सेन्टरमा प्रदर्शन गरिने भएको छ ।
  • दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा यी चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
  • प्रतिष्ठानका अध्यक्ष केपी पाठकले यस्ता कार्यक्रम नेपाली चलचित्र चीनको ठूलो बजारमा प्रवेश गर्ने उपयुक्त अवसर बन्न सक्ने बताउनुभयो ।

काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरिएका चिनियाँ फिल्मलाई नेपालमा प्रदर्शन गरिने भएको छ । महोत्सवको प्रवर्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ ती फिल्मलाई काठमाडौंमा देखाउन लागिएको हो ।

चिनियाँ चलचित्र प्रशासन र उक्त महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर फिल्म प्रदर्शन गर्ने तय भएको हो । यसका लागि काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटको पनि सहयोग हुने भएको छ ।

ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै फिल्मलाई सःशुल्क प्रदर्शन गरिने व्यवस्थापक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । चिनियाँ फिल्म उद्योगसँग नेपाली फिल्मकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

अध्यक्ष पाठकले भने, ‘चिनियाँहरू नेपाली बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली फिल्मकर्मीलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ ।’

चिनियाँ फिल्मलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका फिल्मकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा आफूहरू लागिपरेको उनले बताए । ‘नेपाली फिल्म चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रम उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर लामो समयदेखि हामी अभियानमा छौं र त्यो समय नजिक आयो भन्ने हामीलाई लागेको छ’ उनले भने ।

कुन फिल्म देखाइँदैछ ?

कार्यक्रमको पहिलो दिन ३ फिल्म देखाइने तालिका छ । बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रममा पहिलो फिल्म ‘ट्रयाप’ प्रदर्शन हुनेछ । सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बितण्डा मच्चाएको कथा यसमा छ ।

क्राइम थ्रीलर जनरामा बनेको यस फिल्मको निर्देशक सागर झाङ हुन् । यसले उक्त फेस्टिभलमा पटकथा र सह-अभिनेताको अवार्ड जितेको थियो । निर्देशक झांगसँग सो अवसरमा प्रश्नोत्तर पनि हुनेछ ।

दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको फिल्म हो । बेलुको ५ बजेबाट प्रदर्शन हुने फिल्म ‘समर डायरी’ का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा यो फिल्म बनेको छ ।

रुई कुई र सियाङ लिउ निर्देशित फिल्म ‘लस्ट इन द स्टार’ प्रदर्शन हुने तालिका छ । यो फिल्म गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ । ‘द स्याडोलेस टावर’ झाङ लु निर्देशित यस फिल्म प्रेमकथामा आधारित छ ।

दासाङ कोङ निर्देशित साइन्स फिक्सन फिल्म ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो फिल्म व्यंग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?