+
+
Shares

क्रिस्टोफर नोलन, टम हल्यान्ड, म्याट डेमन मुम्बईमा, ‘द ओडिसी’ प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को भारतको मुम्बईमा भव्य प्रिमियर सम्पन्न भएको छ ।
  • निर्देशक नोलनसहित कलाकार टम हल्यान्ड र म्याट डेमनले मुम्बईमा दर्शकहरूसँग साक्षात्कार गरेका छन् ।
  • हल्यान्डले भारतीय दर्शकको ऊर्जा र मायाको खुलेर प्रशंसा गर्दै उनीहरूप्रति आभार व्यक्त गरेका छन् ।

मुम्बई । क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ लाई भारतमा प्रिमियर गरिएको छ । अस्कर अवार्ड विजेता निर्देशक नोलन अहिले फिल्मका कलाकार टम हल्यान्ड र म्याट डेमनसँग मुम्बईमा छन् ।

प्रिमियरपछि उनीहरूले दर्शकसँग संवाद गरे, जहाँ नोलनले उपस्थित दर्शक यो फिल्म विश्वमै सबैभन्दा पहिले फिल्म हेर्ने दर्शकमध्ये एक रहेको बताए ।

हल्यान्डले मञ्चमा उभिएर ‘हेलो’ मात्र भनेपछि हलभरि रहेका दर्शकको उत्साहपूर्ण हुटिङ र तालीले हल गुञ्जिएको थियो । दर्शकको प्रतिक्रिया देखेर हल्यान्ड र फिल्मका अन्य कलाकारसमेत सुखद रूपमा आश्चर्यचकित भएका थिए ।

त्यसपछि हल्यान्डले भने, ‘म हृदयदेखि नै तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूले हामीलाई सधैं खुला हृदय, खुसी, उत्साह, आत्मीयता र माया सहित स्वागत गर्नुभएको छ ।’

उनले भारतीय दर्शकको चलचित्रप्रतिको उत्साहको पनि प्रशंसा गरे । उनले भने, ‘मलाई लाग्छ, भारतमा जस्तो ऊर्जा लिएर चलचित्र हेर्न आउने दर्शक संसारमा अरू कतै छैनन् । हामीलाई समर्थन गर्नुभएकोमा धन्यवाद । क्रिसको उत्कृष्ट कामलाई मन पराइदिनुभएकोमा पनि धन्यवाद । यो फिल्म सबैले हेर्ने दिनको म आतुरतापूर्वक प्रतीक्षा गरिरहेको छु ।’

यसैबीच, नोलनले पनि प्रिमियरका क्रममा दर्शकलाई सम्बोधन गर्दै आफूले यसअघि जोधपुर र मुम्बईलगायत भारतका विभिन्न स्थानमा छायांकन गरेको स्मरण गरे । उनले भारतीय चलचित्रप्रेमीको प्रशंसा गर्दै भने, ‘भारतीय दर्शक विश्वकै सबैभन्दा जानकार, उत्साही र सिनेमाप्रेमी दर्शकमध्ये पर्छन् ।’

यसअघि नोलनले एपीसँगको कुराकानीमा आफ्ना फिल्मप्रति दर्शकको प्रतिक्रियाबारे बोल्दै भनेका थिए, ‘दर्शकले नै फिल्म के हो भन्ने बताउँछन् । हाम्रो लागि यो उत्साहजनक क्षण हो, तर उत्तिकै डर लाग्दो पनि, किनकि यो वास्तविक परीक्षा हो । लुक्ने ठाउँ केही हुँदैन । हामीले यो फिल्म ठूलो पर्दाका दर्शकका लागि बनाएका हौं, अब यसलाई संसारले कसरी स्वीकार्छ भन्ने हेर्न बाँकी छ ।’

यसअघि शुक्रबार नोलन, हल्यान्ड र डेमन मुम्बईस्थित प्रतिष्ठित ताज महल प्यालेस होटलमा पनि देखिएका थिए । होटल प्रवेश गर्ने क्रममा हल्यान्डले मुस्कानसहित पापाराजीलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

‘द ओडिसी’ प्राचीन ग्रीक कवि होमरको कालजयी महाकाव्यमा आधारित फिल्म हो । यसमा ट्रोजन युद्धपछि आफ्नै घर फर्कने यात्रामा निस्किएका ओडिसियसको कथा प्रस्तुत गरिएको छ, जसको भूमिका म्याट डेमनले निर्वाह गरेका छन् । देवता, राक्षस र पौराणिक जीवले भरिएको संसारमा उनले साहस, धैर्य र बुद्धिमत्ताको कठिन परीक्षा सामना गर्नुपर्छ ।

फिल्ममा म्याट डेमन र टम हल्यान्डसँगै एन ह्याथवे, जेन्डाया, रोबर्ट प्याटिन्सन, लुपिता न्योङ’ओ र शार्लिज थेरोन पनि प्रमुख भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?