बहुप्रतीक्षित हलिउड फिल्म ‘द ओडिसी’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फिल्मप्रेमीले लामो समयदेखि प्रतीक्षा गरिरहेको यो फिल्म अब प्रदर्शन हुन मात्र दुई साता बाँकी छ ।
निर्देशक क्रिस्टोफर नोलनको पछिल्लो एक्सन फिल्मप्रति दर्शकको अपेक्षा निकै उच्च छ । फिल्मको सफलता एउटा मुख्य पक्षमा निर्भर हुनेछ, त्यो हो फिल्म वास्तवमै कति राम्रो बनेको छ भन्ने ।
नयाँ ट्रेलरले पनि यही कुराको संकेत गर्छ । यो फिल्म केवल झन्डै तीन घण्टा लामो आइम्याक्सको अनुभव, युद्ध र प्राचीन संसारका दृश्यमा मात्र सीमित छैन । यसको केन्द्रमा एउटा गहिरो र भावनात्मक कथा छ । घर फर्किन संघर्ष गरिरहेको एक पुरुषको मात्र होइन, आफ्नो परिवार र घरलाई जोगाइराख्न संघर्ष गरिरहेको परिवारको कथा पनि हो ।
ट्रोजन युद्धबाट फर्किने क्रममा म्याट डेमनले निर्वाह गरेको ओडिसियसको पात्रले वर्षौं लामो कठिन यात्रा तय गरिरहेको देखिन्छ । यसबीच उनको राज्य इथाकाका धेरै मानिसले राजा अब जीवित नरहेको विश्वास गरिसकेका छन् । उनकी पत्नी पेनेलोपे (एनी ह्याथवे) र छोरा टेलेमाकस (टम हल्यान्ड) भने घरमा आशा जीवित राख्न संघर्ष गरिरहेका छन् ।
तर, उनीहरूका लागि परिस्थिति सहज छैन । एन्टिनोउस (रोबर्ट प्याटिन्सन)जस्ता पात्र कुनै पनि मूल्यमा सिंहासन कब्जा गर्न तयार देखिन्छन् । अघिल्ला ट्रेलरको तुलनामा यस नयाँ ट्रेलरले यी पात्र र कथाको भावनात्मक पक्षलाई अझ स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।
अब प्रश्न उठ्छ, के ‘द ओडिसी’ ले यसप्रतिको विशाल अपेक्षालाई पूरा गर्न सक्ला ? यसको उत्तर खोज्न क्रिस्टोफर नोलनको अहिलेसम्मको फिल्मी यात्रातर्फ हेर्न सकिन्छ । उनका सबै फिल्मले सर्वसम्मत प्रशंसा पाएका छैनन्, तर कम चर्चित कृतिमा पनि उल्लेखनीय पक्ष छन् ।
कतिपय दर्शकले ‘टेनेट’ लाई यसको जटिल कथावस्तुका कारण मन नपराउन सक्छन् । तर त्यसलाई पनि साहसी, महत्वाकांक्षी र मौलिक प्रयासका रूपमा हेरिन्छ । त्यसैगरी ‘द डार्क नाइट राइजेज’ अघिल्ला दुई ब्याटम्यान फिल्मको स्तरसम्म नपुगे पनि त्यसले प्रस्तुत गरेको भव्य दृश्य अनुभव आज पनि दुर्लभ मानिन्छ ।
बहुचर्चित कलाकारको टोली रहेको ‘द ओडिसी’ले पनि दर्शकलाई निराश नगर्ने अपेक्षा गरिएको छ । यसको वास्तविक उत्तर भने फिल्म जुलाई १७ मा विश्वभर प्रदर्शन भएपछि मात्रै प्राप्त हुनेछ ।
प्रतिक्रिया 4