१९ असार, काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीसमक्ष नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास, चीन परिषद् फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेसनल कमर्सको सहकार्यमा जुलाइ १ र २ मा आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालमा प्रविधि, लगानी र औद्योगिक सहकार्य विस्तारका लागि निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
उनले चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग अझै हुन नसकेकाले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गरे ।
‘हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौं,’ उनले भने ‘अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ ।’ नेपालका उच्च मूल्यका निर्यातयोग्य वस्तुहरूका लागि नयाँ बजार विस्तारमा जोड दिँदै हस्तनिर्मित कार्पेट, पस्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनको निर्यात विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।
विगत ११ महिनामा मात्र नेपालले चीनबाट ३८२ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने निर्यात जम्मा १.५८ अर्ब रुपैयाँमात्र छ । कार्यक्रममा चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकार विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै हालका वर्षहरूमा लगानीमैत्री नीतिगत सुधारहरू अघि बढाइएको जानकारी दिए ।
चाइना चेम्बर अफ इन्टरनेसनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाडले कार्यक्रमले दुवै देशका व्यवसायीबीच नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवर्द्धन समितिका सभापति होमप्रसाद घिमिरेले औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण तथा दिगो लगानीमार्फत नेपाल–चीन आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने अवसर सिर्जना भएको उल्लेख गरे । उनले नेपाललाई विदेशी लगानीका लागि उदीयमान गन्तव्यका रूपमा प्रस्तुत गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4