१९ असािर, जनकपुरधाम । आफ्ना आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले हिरासतमा लिएको घटनाको विरोध गर्दै महोत्तरीको गौशाला नगरपालिकाले सबै सेवा ठप्प गरेको छ ।
अविलम्ब रिहाइको माग गर्दै नगरपालिकाले शुक्रबारदेखि सबै सेवा ठप्प गरेको हो । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगर प्रहरी रिहा नभएसम्म तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नहुँदासम्म सेवा प्रवाह गर्न नसकिने जनाएको छ ।
नगरपालिकाका अनुसार बिहीबार साँझ ५ बजे गौशाला नगरपालिकाको कार्यालयमा ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीको टोलीले कुनै पूर्वसूचना नदिई कार्यालयभित्र प्रवेश गरी धरपकड शैलीमा हिरासतमा लिएको थियो ।
नगरपालिकाले उक्त घटनाको घोर भर्त्सना गर्दै यसबाट स्थानीय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको जनाएको छ ।
संविधानले स्थानीय सरकारलाई प्रदान गरेको अधिकार क्षेत्रभित्र फ्रन्टलाइनमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरीलाई अर्को तहको सरकारले हिरासतमा लिनु स्थानीय सरकारको अधिकारमाथिको हस्तक्षेप भएको नगरपालिकाको ठहर छ ।
विज्ञप्तिमा घटनापछि नगरपालिकामा कार्यरत कर्मचारीहरू आफूलाई असुरक्षित र त्रसित महसुस गरिरहेको उल्लेख गरिएको छ ।
नगर प्रहरीलाई तत्काल रिहा नगरेसम्म तथा नगरपालिकासहित मातहतका कार्यालयका कर्मचारीको सुरक्षाको सम्बन्धित निकायबाट प्रत्याभूति नभएसम्म नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीबाट सेवा प्रवाह गर्न नसकिने चेतावनी दिइएको छ ।
प्रतिक्रिया 4