News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले सरकार र निजी क्षेत्रबीचको खाडल पुर्न प्रभावकारी समन्वय संयन्त्रको आवश्यकता रहेको बताइन् ।
- उनले उद्योगहरू तालिम केन्द्र बनेको भन्दै दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जाने समस्या रोक्न सरकारले आधारभूत तालिमको व्यवस्था गर्नुपर्ने माग गरिन् ।
- सांसद राणाले वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूको सीप उपयोग गर्न राष्ट्रिय डेटाबेस निर्माण गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।
३२ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीच विद्यमान खाडल पुर्नका लागि एक प्रभावकारी समन्वय संयन्त्रको आवश्यकता रहेको बताएकी छिन् ।
सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै सांसद राणाले यस्तो बताएकी हुन् । सांसद राणाले प्रधानमन्त्रीको सचिवालय र निजी क्षेत्रबीच सिधा समन्वय गर्नेगरी एउटा कार्यदल वा समूह बनाउनुपर्नेमा जोड दिइन् ।
नेपालको निजी क्षेत्र हाल ‘उत्पादन केन्द्र’ भन्दा पनि ‘तालिम केन्द्र’ का रूपमा परिणत हुँदै गएकोमा चिन्ता व्यक्त गरिन् । उद्योगहरूले आफ्नै खर्चमा श्रमिकलाई तालिम दिने तर दक्ष भएपछि उनीहरू वैदेशिक रोजगारीमा जाने परिपाटी रहेको पनि बताइन् ।
‘नेपालको निजी क्षेत्र उत्पादन क्षेत्रमा भन्दा पनि तालिम क्षेत्रमा बढी केन्द्रित भइरहेको जस्तो देखिन्छ । धेरै उद्योगहरूमा सीपमा आधारित तालिमको व्यवस्था छैन । सीटीईभीटीले पनि सबै क्षेत्र र उद्योगलाई समेट्न सकेको छैन । त्यसैले उद्योगहरूले आफ्नै स्रोतबाट तालिम सञ्चालन गर्नुपर्ने अवस्था छ । तर सरकारले तोकेको न्युनतम पारिश्रमिकमा तीन महिना तालिम दिएपछि चार–पाँच महिनामै धेरै प्रशिक्षार्थी वैदेशिक रोजगारीका लागि भिसा पर्खिरहेको अवस्थामा हुन्छन्,’ सांसद राणाले भनिन्, ‘भिसा पाएपछि उनीहरू काम छोडेर जान्छन् । त्यसपछि फेरि नयाँ समूहलाई तालिम दिनुपर्ने हुन्छ । यसले उद्योगमा दक्ष जनशक्ति टिक्न नसक्ने, उत्पादनको गुणस्तरमा असर पर्ने र उद्योगले दोहोरो–तेहेरो लागत व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले सरकारले आधारभुत तालिमको व्यवस्था गरिदिनुपर्छ ।’
उद्योगहरूले सधैँ अदक्ष जनशक्तिबाट काम चलाउनुपर्ने र उत्पादकत्वमा ह्रास आउने समस्या भोगिरहेको उनको गुनासो छ । यस समस्याको समाधानका लागि सरकारले नै तालिमको व्यवस्था गर्नुपर्ने वा तालिम प्राप्त श्रमिकले निश्चित अवधिसम्म सम्बन्धित उद्योगमा सेवा गर्नुपर्ने कानूनी प्रतिवद्धताको व्यवस्था हुनुपर्ने बताइन् । सांसद राणाले मुलुकको श्रम बजारमा कुन क्षेत्रमा कति र कस्तो प्रकारको जनशक्ति आवश्यक छ भन्नेबारे स्पष्ट विश्लेषण र अध्ययन हुनुपर्ने बताइन् ।
दक्ष, अर्ध–दक्ष र अदक्ष श्रमिकको वर्गीकरण गरी मागमा आधारित (डिमान्ड ड्रिभेन) सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूको सीप र अनुभवलाई उपयोग गर्न ‘राष्ट्रिय डेटाबेस’ निर्माण गर्नुपर्ने प्रश्ताव समेत उनले अघि सारिन् ।
‘हाम्रो जस्तो देशमा धेरै युवाले उच्च शिक्षा पूरा गर्न नसकेको अवस्था भएकाले उनीहरूका लागि पनि उपयुक्त अप्रेन्टिस तथा सीपमूलक तालिमको अवसर सुनिश्चित गर्नुपर्छ । त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकहरूको राष्ट्रिय डाटाबेस तयार गर्न आवश्यक छ,’ उनको सुझाव छ, ‘विदेशमा सीप सिकेर फर्किएका श्रमिकको अनुभव, दक्षता र विशेषज्ञताको अभिलेख राखी उनीहरूलाई स्वदेशमा उद्यम, रोजगार तथा तालिम प्रणालीसँग जोड्न सकियो भने त्यसले देशभित्रै सीप हस्तान्तरण र रोजगारी विस्तारमा ठूलो योगदान पुर्याउनेछ ।’
नेपालमा व्यावसायिक लागत उच्च हुनु औद्योगिक विकासको बाधक रहेको उनको विश्लेषण छ । वर्तमान डिजिटल युगमा अनलाइन र हाइब्रिड मोडेलमार्फत सीप विकासका कार्यक्रमहरूलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सरकारले लिएको आर्थिक लक्ष्यहरू पूरा गर्न निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् ।
‘सरकार र निजी क्षेत्र एउटै टेबुलमा बसेर केवल समस्या सूचीकरण गर्ने होइन, समाधान खोज्ने र कार्यान्वयन गर्ने संस्कृतिको विकास गर्नुपर्छ । यस्ता संवाद एकपटकमा सिमित नभई निरन्तर हुनुपर्छ । समस्या कहाँ छ भन्नेकुरा हामी सबैलाई थाहा छ । अब हाम्रो ध्यान समाधान पहिचान गर्ने, कार्ययोजना बनाउने र परिणाम दिने दिशामा केन्द्रित हुनुपर्छ,’ उनले भनिन्, ‘सरकारले लिएको १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र, ७.५ प्रतिशत आर्थिक वृद्धि र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य हासिल गर्न निजी क्षेत्र, विशेषगरी उत्पादन र उत्पादनमूलक उद्योगको भूमिका अत्यन्त महत्वपूर्ण छ । यी लक्ष्य सरकार वा निजी क्षेत्रमध्ये कुनै एक पक्षले मात्र हासिल गर्न सक्दैन । त्यसैले यस्ता संवादलाई निरन्तरता दिँदै सबै सरोकारवालाको सुझावका आधारमा प्रभावकारी नीति र कार्ययोजना अघि बढाउन आवश्यक छ ।’
प्रतिक्रिया 4