+
+
Shares

कहिले खान पाइएला सस्तो केरा ?

असार-साउनको झरी सिजन सुरु भएसँगै केराको भाउ सस्तिने अपेक्षा उपभोक्ता र बजार विश्लेषकहरूको थियो । तर, अहिलेसम्म भाउ घटेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा केराको मूल्य उच्च रहँदा उपभोक्ता महँगीको मारमा परेका छन् ।
  • नेपाल फलफूल व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले भारतीय केरा आयातमा रोक लागेका कारण मूल्य बढेको बताए ।
  • नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले भने उत्पादन बढेकाले आगामी चाडपर्वमा केराको मूल्य भारी मात्रामा घट्ने दाबी गरे ।

१ साउन, काठमाडौं । नेपाली बजारमा उपभोक्ताले केराको भाउ अझै पनि महँगो तिर्नुपर्ने अवस्था रहेको गुनासो बढेको छ ।

गत वर्ष चैतदेखि नै उपभोक्ता एक दर्जन केरामै चर्को मूल्य तिर्न बाध्य छन् ।

असार-साउनको झरी सिजन सुरु भएसँगै केराको भाउ सस्तिने अपेक्षा उपभोक्ता र बजार विश्लेषकहरूको थियो । तर, अहिलेसम्म भाउ घटेको छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले बजारमा नेपाली केराको थोक (होलसेल) मूल्य प्रतिदर्जन २ सयदेखि २ सय ५० रुपैयाँसम्म तोकिएको छ ।

होलसेलमै केरा महँगो भएपछि उपभोक्ताले एक कोसा केराकै १५ रुपैयाँसम्म तिर्न बाध्य छन् । अहिले बजारमा केरा आपूर्ति पनि पर्याप्त छ । ‘पर्याप्त आपूर्ति हुँदाहुँदै महँगो मूल्य कहिलेसम्म तिर्नुपर्ने ?,’ उपभोक्ताको प्रश्न छ ।

भारतीय केरा आयात रोकिएपछि नेपाली किसानले उत्पादनको राम्रो मूल्य पाएर फाइदामा रहे पनि आम उपभोक्ता भने महँगीको मारमा परेका छन् ।

बजारमा देखिएको यो अन्योलबारे फलफूल व्यवसायी र केरा उत्पादक किसानका आ-आफ्नै तर्क र दाबी छन् ।

नेपाल फलफूल व्यवसायी संघ अध्यक्ष अम्बर बानियाँ सरकारले आयातमा कडा मापदण्ड तोकेका कारण भारतीय केरा नआउँदा नेपाली बजारमा केरा महँगो भएको बताउँछन् ।

बजारमा प्रतिस्पर्धा कम हुँदा उपभोक्ताले महँगो मूल्य तिर्नुपरे पनि स्वदेशी किसानलाई भने अहिलेको अवस्थामा फाइदाजनक भएको उनको भनाइ छ ।

‘विगतमा किसानले एउटा केरा (प्रति कोसा) ६ देखि ७ रुपैयाँमात्र पाउँथे, तर अहिले भारतीय केरा नआएपछि सबैलाई मौका मिलेको छ, अहिले बगानमै प्रतिकोसा १२ देखि १४ रुपैयाँ पर्न थालेको छ,’ अध्यक्ष बानियाँले भने, ‘किसानले नै बगानमा मूल्य नघटाएका कारण होलसेलमै १४ देखि १५ रुपैयाँ पर्न थालेपछि उपभोक्ताले महँगो तिर्नुपरेको हो ।’

बानियाँका अनुसार मूल्य अचाक्ली बढेपछि बजारमा केरा खपत भने ह्वात्तै घटेको छ । ‘महँगो भएपछि केरा खाने मान्छे कम भएका छन्,’ उनले भने, ‘पहिले म प्रत्येक हप्ता १५ टन केरा बेच्थेँ, अहिले मेरो व्यापार घटेर हप्तामा जम्मा ६ टनमा सीमित भएको छ ।’

साउन लागे पनि सस्तो केरा खान पाइने कुरामा व्यवसायी बानियाँ सहमत छैनन् ।

‘पहिले सय रुपैयाँ दर्जनमा केरा पाइन्थ्यो, तर अब उपभोक्ताले त्यो मूल्यमा केरा खान पाउने अवस्था छैन,’ उनले भने, ‘अब पनि २ सयदेखि २ सय ५० रुपैयाँ नै तिर्नुपर्छ ।’

बजार प्रतिस्पर्धी नभई सस्तो मूल्यमा उपभोक्ताले केरा खरिद गर्न नपाउने उनको तर्क छ ।

दसैंतिहारमा ५० देखि ९० रुपैयाँ दर्जनमै पाइन्छ : महासंघ

नेपाल केरा उत्पादक महासंघ तदर्थ समितिले भने अब केराको भाउ घट्दै जाने दाबी गरेको छ ।

समितिका अध्यक्ष विष्णुहरि पन्तले व्यवसायीको दाबी अस्वीकार गर्दै अबको केही समयमै केराको मूल्य भारी मात्रामा घट्ने दाबी गरे । स्वदेशी उत्पादन बढ्दै गएको र मनसुनसँगै आपूर्ति वृद्धि भएकाले केरा सस्तो हुने उनको भनाइ छ ।

‘अहिले उत्पादन एकदम बढ्दै छ, किसानको बगानमै १०-१२ रुपैयाँ प्रतिकोसा बिक्री भइरहेको मालभोग केरा अहिले घटेर ९ रुपैयाँमा झरिसक्यो, ७ रुपैयाँमा बिक्री भइरहेको जी-नाइन (हरियो) केरा ६ रुपैयाँमा आइसकेको छ,’ अध्यक्ष पन्तले भने, ‘प्रतिकोसा एक रुपैयाँ दरले मूल्य घटिसकेको छ, अब यो बिस्तारै घट्दै जाने हो ।’

अहिले बजारमा देखिएको महँगी अस्थायी भएको र भदौ लागेपछि उपभोक्ताले सस्तोमै केरा किन्न पाउने पन्तको भनाइ छ । आगामी चाडपर्वमा उपभोक्ताले सोचेभन्दा सस्तोमा केरा पाउने उनको दाबी छ ।

‘दसैं, तिहार र छठजस्ता चाडपर्वमा उपभोक्ताले जी-नाइन (हरियो) केरा प्रतिदर्जन ५० देखि ६० रुपैयाँ र मालभोग केरा ८० देखि ९० रुपैयाँमै पाउनेछन्,’ पन्तले दाबी गरे, ‘त्यो भन्दा बढी मूल्य पर्दै पर्दैन ।’

महासंघका अनुसार विगतका तुलनामा अहिले केराखेतीबाट राम्रो आम्दानी भएपछि किसानहरू यसतर्फ आकर्षित भएका छन्, जसले गर्दा नेपालमा केराको उत्पादन ह्वात्तै बढेको छ ।

उत्पादकहरूको भनाइ मान्ने हो भने नेपाल केरामा आत्मनिर्भर बन्दैछ र अर्को वर्षदेखि विदेश निर्यात गर्नुपर्ने अवस्था आउँदैछ ।

‘अलिकति राम्रो कमाइ भएपछि किसान लोभिए र खेती पनि विस्तार भएको छ, यसरी उत्पादन बढेको छ कि अबको एक वर्षमा विदेश (भारत) तिर केरा बेचेनौँ भने यहाँको मार्केटले मात्रै हाम्रो उत्पादन धान्नै सक्दैन,’ पन्तले भने, ‘अर्को वर्ष ५० देखि ६० रुपैयाँ दर्जनमा जी-नाइन केरा बेच्न पाइयो भने किसानले आफूलाई भाग्यमानी मान्नुपर्ने अवस्था आउँदैछ ।’

तत्कालका लागि भारतीय केराको आयात रोकिँदा नेपाली बजारमा भाउ बढेर उपभोक्ता मारमा परे पनि स्वदेशी उत्पादनको वृद्धिले आगामी दिनमा बजारलाई कसरी सन्तुलनमा ल्याउँछ भन्ने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?