+
+
Shares

देशभरि ७० प्रतिशत धान रोपाइँ सकियो, मधेसमा उल्लेख्य सुधार

साउन महिनाभरि रोपाइँ जारी रहने भएकाले बाँकी ३० प्रतिशत क्षेत्रफलमा पनि रोपाइँ सम्पन्न हुने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि विभागको तथ्यांक अनुसार १ साउनसम्म देशभरका धान खेतियोग्य क्षेत्रफलमध्ये ६९.७७ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।
  • सुदूरपश्चिम प्रदेशमा ९०.६७ प्रतिशत रोपाइँ भई देशकै उच्च स्थानमा रहेको छ भने मधेस प्रदेशमा ५७.१३ प्रतिशत रोपाइँ भएको छ ।
  • मनसुनको सक्रियता र सिँचाइ उपलब्धताका कारण बाँकी ३० प्रतिशत क्षेत्रफलमा साउन महिनाभित्रै रोपाइँ सकिने अनुमान कृषि विभागले गरेको छ ।

१ साउन, काठमाडौं । यस वर्ष धान रोपाइँ सिजन मध्यतिर पुग्दा देशभरि करिब ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कृषि विभागको तथ्यांक अनुसार १ साउनसम्म देशभरिका सातै प्रदेशमा गरी औसत ६९.७७ प्रतिशत रोपाइँ सकिएको हो । अघिल्लो वर्ष ४ साउनसम्म तथ्यांक हेर्दा ७२.१४ प्रतिशत रोपाइँ भएको थियो ।

तथ्यांक अनुसार नेपालमा धान खेती हुने कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५८ हजार ५ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

प्रदेशगत हेर्दा सुदूरपश्चिम रोपाइँमा सबैभन्दा अगाडि देखिएको छ । सुदूरपश्चिममा कुल १ लाख ६२ हजार २ सय ५० हेक्टर क्षेत्रफलमध्ये १ लाख ४७ हजार १ सय ६ हेक्टरमा रोपाइँ सम्पन्न भई ९०.६७ प्रतिशतको उच्च नतिजा हासिल भएको छ । यद्यपि, अघिल्लो वर्ष सोही अवधिसम्म ९६.९९ प्रतिशत रोपाइँ भइसकेको थियो ।

लुम्बिनी प्रदेश पनि रोपाइँमा निकै अगाडि छ । यहाँ कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये ८०.६५ प्रतिशत अर्थात् २ लाख ४३ हजार ४२ हेक्टरमा धान रोपिएको छ ।

त्यसैगरी गण्डकीमा ७८.३६ प्रतिशत, बागमती ७७.३३ र कर्णालीमा ७७.०५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको तथ्यांकले देखाएको छ ।

मधेसमा पनि सकारात्मक संकेत देखिएको छ । गत वर्ष साउन पहिलो सातासम्म मधेसमा मात्र ४६.८३ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सुधार भई ५७.१३ प्रतिशत पुगेको छ ।

मधेसमा धान खेती हुने ३ लाख ८२ हजार ४ सय ३३ हेक्टरमध्ये हालसम्म २ लाख २१ हजार ५ सय ४६ हेक्टरमा रोपाइँ भइसकेको छ ।

यस्तै कोशीमा गत वर्ष ६१.७९ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ५४.८६ प्रतिशतमात्र रोपाइँ भएको छ । यहाँको कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६ सय १९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

मुलुकभरिको रोपाइँको अवस्था हेर्दा मनसुन समयमै सक्रियता र सिँचाइ उपलब्धताले धेरैजसो प्रदेशमा रोपाइँले गति लिएको देखिन्छ ।

साउन महिनाभरि रोपाइँ जारी रहने भएकाले बाँकी ३० प्रतिशत क्षेत्रफलमा पनि रोपाइँ सम्पन्न हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?