१२ असार, काठमाडौं । मनसुन सक्रिय भएको एक साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा देशभरि धान रोपाइँको गति सुस्त देखिएको छ । देशका अधिकांश भागमा धान रोपाइँ सुरु नै हुन सकेको छैन भने कतिपय क्षेत्रमा पानीकै अभावले गर्दा किसानहरूले ब्याड समेत राख्न पाएका छैनन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि महाशाखाको ८ असारसम्मको तथ्यांक अनुसार देशभरि ९.९७ प्रतिशत मात्रै रोपाइँ भएको छ । कुल १३ लाख ८१ हजार ४ सय ८८ हेक्टरमा धान खेती हुने लक्ष्य राखिएकोमा हालसम्म १ लाख ३७ हजार ७ सय ९८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
गत वर्षको सोही अवधिमा ९.६ प्रतिशत रोपाइँ भएको तुलनामा यस वर्षको अवस्था सामान्य सुधारिएको देखिए पनि मौसमी अनिश्चितताका कारण किसानहरू चिन्तित बनेका छन् । प्रदेशगत विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने लुम्बिनी प्रदेशमा १९.४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.३ प्रतिशत रोपाइँ भएको छ ।
गण्डकी र कोशी प्रदेशमा क्रमशः ८.८ र ८.३ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने मधेश प्रदेशमा हालसम्म ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । बागमती प्रदेशमा भने सबैभन्दा न्यून ३.२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ । मधेश प्रदेशको पूर्ण विवरण अझै आउन बाँकी रहेको विचागले जनाएको छ ।
यसरी मनसुन सक्रिय भएर पनि पर्याप्त पानी नपर्दा र मौसमी प्रणालीमा देखिएको बदलीसँगै उत्पादनमा ह्रास आउन सक्ने जोखिमलाई ध्यान दिँदै यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा समेत ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।
सरकारले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरण गर्न र सुख्खा सहन सक्ने प्रविधिको विकास एवम् प्रसारलाई प्राथमिकता दिँदै यस वर्षको महोत्सव मनाउने तयारी गरेको छ ।
प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्थानशील जातका बीउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया 4