+
+
Shares

ऐसेलुखर्कमा सामुदायिक होमस्टे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ६:४०

२ साउन, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्कमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

त्रि–धार्मिकस्थल हलेसी र किरात समुदायको उद्गम थलो तुवाचुङमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यित गर्दै हलेसी चाम्लिङ सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको हो । ऐसेलुखर्कका आठ घर सम्मिलित सामुदायीक होमस्टे साउन २ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गरेका छन् ।

हलेसी नजिकै रहेको ऐसेलुखर्कको किरात चाम्लिङ राई वस्तीमा नगरपालिकाकै प्रवर्द्धनमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो । दुई वर्षको प्रयासपछि ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको मेयर राईले बताइन् ।

होमस्टेका लागि आवश्यक पुर्वाधार तयार गर्न नगरपालिकाको एक करोड खर्च भएको छ । हाललाई ४० जना पाहुनालाई अटाउनेगरी होमस्टे सञ्चालनमा ल्याइएको हो । घरैमा उत्पादन भएको र घरैमा पाकेको अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीयलाई आम्दानीसँग जोड्नका लागि सामुदायिक होमस्टेको परिकल्पना गरिएको मेयर राईले बताइन् ।

होटलको तुलनामा सामुदायिक होमस्टेको खाना, खाजा र आवास सस्तो हुने सञ्चालकहरु बताउँछन् । सादा खाना दुई सयमै उपलव्ध छ । सिंगल बेडको भाडा दुई सय निर्धारण गरिएको छ । लोकल चिकेन र मटनको प्रतिप्लेट मूल्य १५० रुपैयाँ छ ।

पाहुनाले माग गरे अनुसार अर्गानिक खाना, खाजा र नास्ताको साथमा वास पाउने हलेसी चाम्लिङ सामुदायिक होमस्टेका सदस्य मोहितराम राईले बताए । होमस्टेमा आएका पाहुनालाई लोकल भाले, ढिँडो, गुन्द्रुक, दाल, तरकारीलगायतका परिकारको स्वाद चखाउने व्यवस्था छ ।

होमस्टेमा बस्ने पाहुना विशेषगरी किरातजन्य खानपान र संस्कृतिमा रम्न पाउने सामुदायीक होमस्टे सञ्चालक रबिन चाम्लिङ बताउँछन् । पाहुनाले इच्छाएको खण्डमा होमस्टेमा साकेला नाच देखाउने सुविधा मिलाइएको छ ।

हलेसी आसपासमा हाललाई ऐसेलुखर्कमा सामुदायिक र माल्खुमा व्यक्तिगत होमस्टे स्थापना गरिएको हो । माल्खुमा होमस्टेसम्म जाने सडक ढलान गरिएको छ । ऐसेलुखर्कमा हलेसीबाट जाने २१ सय मिटर सडक ग्राभेलिङ गरिएको छ ।

यस्तै, एक घरबाट अर्को घरमा जाने सिमेन्टेड सिँढी निर्माण गरिएको छ । होमस्टे सञ्चालनका लागि नगरपालिकाले चरणवद्ध रुपमा कुकसबन्धी तालिम तथा अध्ययन भ्रमण गराएको थियो । नगरपालिकाले ब्राण्डिङ गरेको कोदोको तीन पाने रक्सीलाई बिक्रीवितरणका लागि समेत होमस्टेको प्रवर्द्धन गरिएको मेयर राईले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?