News Summary
Generated by OK AI. Editorially reviewed.- मदन भण्डारी लोकमार्गअन्तर्गत रोल्पा–सल्यान खण्डमा निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक आवतजावतमा कठिनाइ भएको छ।
- चार अर्ब रुपैयाँ लागतको ५२ किलोमिटर सडकखण्डको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ।
- जिल्ला प्रशासन कार्यालय रोल्पाले बर्खायाममा जोखिमपूर्ण यात्रा नगर्न र यात्रापूर्व सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
८ साउन, रोल्पा । मदन भण्डारी लोकमार्गअन्तर्गत रोल्पाको माडीचौरदेखि घर्तीगाउँ, जिनाबाङ हुँदै सल्यानको बागचौरसम्मको सडकखण्डमा हरेक बर्खायाममा पहिरोले सास्ती दिने गरेको छ ।
स्थानीयका अनुसार विशेषगरी माडीचौर–घर्तीगाउँ र घर्तीगाउँ–जिनाबाङ खण्डमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
माडी गाउँपालिका–२ का स्थानीय कमल घर्तीका अनुसार घर्तीगाउँ नजिकको क्षेत्रमा गत वर्ष पनि पहिरोको जोखिम थियो र यस वर्ष पनि अवस्था उस्तै छ ।
त्यस्तै, गंगादेव गाउँपालिका–२ का स्थानीय टेकम वलीले घर्तीगाउँ–जिनाबाङ खण्डको बीचभागमा पनि पहिरोको जोखिम रहेकाले पटक–पटक सडक अवरुद्ध हुने गरेको बताए ।
रोल्पा नगरपालिका–७ को माडीचौरदेखि घर्तीगाउँ–जिनाबाङसम्मको सडक निर्माण कार्य दुई वर्षअघि सुरु भएको हो । मदन भण्डारी लोकमार्गअन्तर्गत रोल्पा–सल्यान खण्डको ५२ किलोमिटर सडक अहिले बर्खाका कारण प्रभावित बनेको छ ।
करिब चार अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको यो सडक आगामी एक वर्षभित्र कालोपत्र गर्ने योजना छ ।
सडक निर्माणको जिम्मा कञ्चनपुरस्थित कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले लिएको छ। कम्पनीका इन्जिनियर किशोरराज पाण्डेका अनुसार २०८१ भदौमा सुरु भएको आयोजना २०८४ भदौभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
उनले बर्खाका कारण अहिले सीमित मात्रामा काम भइरहेको बताए । उनका अनुसार ५२ किलोमिटरमध्ये करिब ४४ किलोमिटर सडक फराकिलो बनाउने काम सम्पन्न भइसकेको छ ।
घर्तीगाउँ–जिनाबाङ खण्डको सुखाओडार क्षेत्रमा कडा चट्टान भएकाले नयाँ ट्र्याक खोल्ने काम भइरहेको र त्यसका लागि पाँच वटा जेसिबी परिचालन गरिएको उनले बताए । उक्त आठ किलोमिटर खण्डको काम भदौ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
हाल कम्पनीले सडक फराकिलो बनाउने, नाला, पर्खाल निर्माण तथा ग्राभेल गर्ने काम गरिरहेको छ । ‘कालोपत्रको काम पनि छिट्टै सुरु गर्ने योजना थियो, तर बर्खाले काम प्रभावित बनाएको छ,’ उनले भने ।
सडकको चौडाइ १० मिटर रहने र सात मिटर कालोपत्र गरिने सम्झौता भए पनि केही स्थानमा माथिबाट पहिरो खस्ने र तलबाट जमिन भासिने समस्याका कारण सडक साँघुरो देखिएको उनले बताए ।
यो सडकले रोल्पा नगरपालिका तथा माडी र गंगादेव गाउँपालिकाका बस्तीलाई सडक सञ्जालसँग जोड्नेछ ।
सुर्खेतस्थित मदन भण्डारी लोकमार्ग आयोजना कार्यालयका योजना प्रमुख इन्जिनियर शंकर पौडेलले पनि रोल्पा–सल्यान खण्ड पहिरोको जोखिममा रहेको स्वीकार गरे । ‘कतिपय स्थानमा सडकमुनिको जमिन भासिने र माथिबाट पहिरो झर्ने समस्या छ,’ उनले भने ।
उनका अनुसार माडीचौर–घर्तीगाउँ खण्डमा ठूलो समस्या छैन । तर घर्तीगाउँदेखि सुखाओडारसम्म सडक फराकिलो बनाउने काम भइरहेकाले र सडक विभागका उपकरण त्यहीँ रहेकाले सडक लामो समय अवरुद्ध हुने अवस्था छैन । सुखाओडारदेखि जिनाबाङसम्म भने सडक विस्तार जारी रहेकाले केही समस्या देखिएको उनले बताए ।
पौडेलका अनुसार बर्खाका कारण कामको गति सुस्त भए पनि हालसम्म समग्र आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
नेपाल सरकारले मदन भण्डारी लोकमार्गलाई सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, नवलपरासी, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, डोटी, कैलाली र डडेलधुराका विभिन्न स्थान हुँदै पश्चिम सीमासम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले बर्खायाममा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र विशेषगरी रातिको यात्रा सकेसम्म नगर्न आग्रह गरेको छ । यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही जानकारी लिएर मात्रै गन्तव्य तय गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4