+
+
Shares

अवैतनिक वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह- आर्थिक कूटनीति र वैदेशिक लगानी भित्र्याउन सक्रिय हुनुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीति मजबुत बनाउन र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय भूमिका खेल्न अवैतनिक वाणिज्यदूतहरूलाई आग्रह गरेका छन्।
  • मन्त्री खनालले सरकार सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताउँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन वाणिज्यदूतहरूलाई सुझाव दिएका छन्।
  • परराष्ट्र मन्त्रालयले अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादन सहज बनाउन विद्यमान नियमावली र कानुनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ।

८ साउन, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई मजबुत बनाउन र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न अवैतनिक वाणिज्यदूतहरूलाई आग्रह गरेका छन्।

काठमाडौँमा आयोजित मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा काम गर्न वाणिज्यदूतहरूलाई आग्रह गरेका हुन्। खासगरी नेपालमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकहरूसँग व्यावसायिक, सांस्कृतिक र संस्थागत सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूले पुर्‍याएको योगदानको उनले प्रशंसा गरे।

वर्तमान सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको स्पष्ट पार्दै मन्त्री खनालले नेपालको राष्ट्रिय प्राथमिकता र आकाङ्क्षाहरूसँग एकाकार हुँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन सुझाव दिए।

‘परराष्ट्र मन्त्रालय र अन्य सम्बद्ध निकायहरू नेपालको आर्थिक कूटनीति अघि बढाउन र आर्थिक साझेदारीलाई गहिरो बनाउन तपाईंहरूसँग निकट रहेर सहकार्य गर्न उत्सुक छन्,’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले भने, ‘हाम्रो प्राथमिकता भ्रष्टाचार निर्मूल गर्दै पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नु हो। सरकारको पहिलो वर्ष कानुनी र संस्थागत सुधारमा केन्द्रित हुनेछ।’

अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा र कानुनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारे।

नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने मन्त्री खनालको भनाइ छ। विश्वव्यापी भू–राजनीतिक र प्राविधिक परिवर्तनको समयमा वाणिज्यदूतहरूको अन्तर्दृष्टि र संलग्नता थप मूल्यवान हुने विश्वास व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय तथा घरेलु कानुनको परिधिभित्र रही उच्च व्यावसायिकता र निष्ठाका साथ आफ्नो जिम्मेवारी निभाउन आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?